Comments Add Comment

भारततर्फ गएका ट्याङ्कर रक्सौल नाकामा रोकिए

१८ चैत, वीरगञ्ज । वीरगञ्ज–रक्सौल नाकामा पेट्रोलियम पदार्थ लिन गएका ट्याङ्कर रोकिएका छन् । अत्यावश्यक वस्तु आयात निर्यातमा कुनै अवरोध नगर्ने भनिए तापनि भारतीय पक्षले मंगलबार पेट्रोलियम पदार्थ लिनका लागि रक्सौल जान लागेका ट्याङ्कर रोकेको हो ।

वीरगञ्ज रक्सौल नाकामा मंगलबार बिहान साढे ९ बजेदेखि नै ट्याङ्कर लाइनमा लागेका थिए । रक्सौलबाट पेट्रोलियम पदार्थ ओसार्ने ४० वटा जति ट्याङ्कर मध्यान्न १२ बजेसम्म रोकिएका थिए । यसअघि लकडाउन नै भएपनि पेट्रोलियम पदार्थ बोकेका सवारी साधन निर्बाध रुपमा ओहोरदोहोर गरिरहेका थिए ।

बिहान साढे ८ बजेतिर नाकामा पुगेको भएपनि रक्सौल तर्फ जान नदिइएको ट्याङ्कर चालक विकास साहले बताए । बिहान रक्सौल भन्सार अगाडिको ढाला लगाउनुको साथै तारले नाकामा अवरोध खडा गरिएको थियो ।

सोमबार नेपालका विभिन्न स्थानबाट वीरगञ्ज आइपुगेका भारतीय नागरिकले आफ्नो देश जान जिद्दी गरेपछि नाकामा कडाइ गरिएको हुनसक्ने अनुमान नाका क्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीहरुले गरेका छन् । लकडाउनको प्रवाह नगरी घर जान हिँडेको भिडलाई नियन्त्रण गर्न नाकामा खटिएका भारतीय प्रहरीले लाठी चार्ज समेत गर्नुपरेको थियो ।

नेपाल आयल निगम वीरगञ्जका कार्यालय प्रमुख राम कुमार न्यौपानले भने प्रक्रिया मिलाउन मात्रै समय लागेको बताएका छन् । उनले साढे ११ बजेदेखि नै सहज रुपमा खाली ट्याङ्कर रक्सौल डिपोतर्फ गएको र पेट्रोलियम लोड हुन थालिसकेको दाबी गरे ।

‘मुलुक संघीयतामा गएपछि एउटा स्थानीय तहबाट अर्कोमा जान त प्रक्रिया पूरा गर्नुपर्ने भएको छ । यहाँ त एक देशबाट अर्को देशको सवाल छ’ उनले भने ‘कतिवटा ट्याङ्कर जाने हो ? ट्याङ्कर र चालकको विवरणसहितको जानकारी पठाएपछि मात्रै तेल भरेर पठाउँछन् । त्यसका लागि सामान्य एक घण्टा लागेको छ ।’

कतिपय ट्याङ्करका चालक भारतीय नै भएकोले उतै बसिदिन सक्ने सम्भावना भएकोले भारतीय पक्षले सतर्कता अपनाएको हुनसक्ने तर्क उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment