Comments Add Comment

‘राष्ट्रिय संकटका बेला रक्सी नपिए हुन्न ?’

मदिरा आयातमा प्रतिवन्ध लगाउँदा वार्षिक डेढ अर्ब जोगिने दाबी

१८ चैत, काठमाडौं । विदेशबाट आयात हुने मदिरा रोक्दा एक वर्षमा मुलुकको डेढ अर्ब रुपैयाँ बचत हुने भन्सार विभागले दाबी गरेको छ ।

नेपालले एक आर्थिक वर्षमा विभिन्न ब्राण्डका झण्डै एक अर्ब ५० करोड रुैपैयाँ बराबरको मदिराजन्य पदार्थ आयात गर्ने गरेको भन्सार विभागका महानिर्देशक सुमन दाहालले अनलाइनखबरलाई बताए ।

‘भन्सारको तथ्यांक अनुसार मदिराको आयात हरेक वर्ष बढ्दो क्रममा छ, वार्षिक डेढ अर्बको सरदर आयात हुने गरेको देखियो,’ महानिर्देशक दाहालले भने ।

नेपालमा वाइन, भोड्का, जिन जस्ता अल्कोहलिक पदार्थ आयात हुने गरेको विभागले जनाएको छ । नेपालमा भारत, जर्मनी, इटाली, अमेरिका, बेल्जियमदेखि क्युवा तथा खाडीका मुलुकबट समेत मदिराहरु आयात हुने गरेको विभागको तथ्यांकमा उल्लेख छ ।

नेपालले बेलायतबाट र चीनबाट बियरसमेत आयात गरेको विभागले जनाएको छ । नेपालमा हुने मदिराजन्य पदार्थको मुख्य निर्यातकर्ता मुलुक भारत नै रहेको पनि विभागले जनाएको छ ।

व्यवसायी भन्छन् ‘संकटमा मदिरा होइन, खाद्यन्न चाहिएको छ’

विदेशबाट आयात हुने मदिरामा लागेको प्रतिबन्ध जायज भएको नेपाल व्यवसायी महासंघले जनाएको छ । विश्व नै आर्थिक संकटमा परेको बेला मदिरा भन्दा पनि भोकमरीबाट जनता जोगाउनु राज्यको प्रमुख कर्तव्य भएको महासंघका महासचिव तारानाथ ढुंगानाले बताए ।

‘कुल राजश्व संकलनको २२ प्रतिशत हिस्सा ओगट्ने मदिराजन्य व्यवसायमा सरकारी निर्णयको प्रभाव पर्छ । तर, त्यो भन्दा पहिले जनताको आधारभुत आवश्यकतामा राज्यले काम गर्नुपर्छ,’ महासचिव ढुंगानाले भने । मदिराको आयातमा खर्च हुने रकम अत्यवश्यक अन्य वस्तुमा प्रयोग गर्नु अहिलेको आवश्यकता भएको उनले बताए । ‘हामीले बुझेका छौं राज्य यस्तो निर्णयमा पुग्न विवस भएको छ, राष्ट्रिय संकटको बेला रक्सी नपिए पनि हुन्छ,’ ढुंगानाले भने ।

कोरोनाका कारण संकटमा फस्दै गरेको अर्थतन्त्र जोगाउन सरकारले आइतबार राहत प्याकेज घोषणा गर्दा सुनको आयात आधामा झार्नेसहित विदेशबाट हुने मदिरा आयात रोक्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस आर्थिक वृद्धिको लक्ष्यमा पुगिन्न, बजेट जेठ १५ मै आउँछ

यसैबीच अर्थमन्त्री डा. युवराज खतिवडाले पनि मुलुक संकटमा परेका बेला मदिरा नपिए पनि हुने बताएका छन् । मंगलबार राससलाई दिएको लामो अन्तरवार्तामा अर्थमन्त्री खतिवडाले भनेका छन्, ‘मुलुक समस्यामा छ, केही समय मदिरा नपिए पनि हुँदो हो नि । त्यसबाट पनि विदेशी मुद्रा बचत हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment