Comments Add Comment

ज्वरोका बिरामीदेखि तर्सिन थाले एम्बुलेन्स चालक

१८ चैत, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावाका ३८ बर्षका रामबहादुर सिंखडालाई सोमबार एक्कासी श्वासप्रश्वासमा समस्या भयो । बेला बेला खोकीले पनि सताउन थालेपछि उनले स्वास्थ्यकर्मीलाई फोन गरे ।

उनी केही दिनअघि मात्रै भारतबाट फर्किएका हुन् । ‘ज्वरो छ कि छैन,’ स्वास्थ्यकर्मीले सोधे । केही दिन अघि ज्वरो आएको कुरा सिंखडाले जानकारी गराए ।

उनलाई स्वास्थ्यकर्मीले जिल्ला अस्पताल जान सुझाव दिए । स्वास्थ्यकर्मी पनि एम्बुलेन्स खोज्ने प्रयासमा जुटे । तर एम्बुलेन्स चालक मानेनन् । ‘बोर्लाङ स्वास्थ्य चौकीको एम्बलेन्स हाम्रो पालिकाभित्र रहेको एकमात्र एम्बुलेन्स हो,’ भीमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने, ‘तर चालकले विदेशबाट आएको व्यक्ति त्यसमाथि ज्वरोको बिरामी भन्दै लैजान मान्नुभएन ।’

अन्य एम्बुलेन्स उपलब्ध गराउने प्रयास पनि बिफल भयो । उनकाअनुसार सुरक्षाका सामान उपलब्ध गराएमात्र बिरामी बोक्ने अडान एम्बुलेन्स चालकको थियो । ‘सेफ्टिको सामान उपलब्ध गराउनुहोस् अनि बल्ल बिरामी लान्छौं, होइन भने चावी बुझाउँछु भनेर चालकले भन्नुभएछ,’ उनले भने ।

एम्बुलेन्सको व्यवस्था हुन नसकेपछि खनाल र धावा स्वास्थ्य चौकीका गुणराज न्यौपाने सिंखडाको घरमा पुगे । बिरामीको ज्वरो नापे । ज्वरो देखिएन । गोरखा अस्पतालमा सम्पर्क गरे । ‘ज्वरो नदेखिएको भए यहाँसम्म ल्याउनुपर्दैन भन्ने प्रतिक्रिया आएपछि सिंखडा घरमै औषधि आएर बसे ।

चैत ९ गते भारतबाट घर आएका उनलाई त्यसै दिन ज्वरो आएको थियो । भोलिपल्ट स्वास्थ्य संस्थामा जाँच गराएर औषधि खाएका उनलाई पुन ज्वरो आएपछि स्वास्थ्यकर्मीले घरमै जाँच गरी थर्मोमिटर छाडेर गएका छन् ।

‘बिहान बेलुका ज्वरो नाप्नु, ज्वरो आएमा हामीलाई खबर गर्नु भन्नुभएको छ,’ उनले भने ।

बिदेशबाट आएका र रुघाखोकी तथा ज्वरोका समस्या देखिएका बिरामी बोक्नलाई एम्वुलेन्स चालकले आनाकानी गरेको बोर्लाङ स्वास्थ्य चौकी अन्तरगतको एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष कृष्ण श्रेष्ठ स्वीकार गर्छन् । ‘बिदेशबाट आएका मान्छे बिरामी भए भने डराएर लानै मान्दैनन्,’ उनले भने, ‘बिमा पनि भएको छैन, सेफ्टीका सामग्री दिएमात्र बिरामी बोक्छौं भन्छन्,’ उनले भने ।

एम्वुलेन्स चालकलाई आवश्यक पर्ने सुरक्षाका सामग्री उपलब्ध गराउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले बताए ।

‘सुरक्षाका सामग्री ल्याउने तयारी गरिरहेका छौ, ज्वरो आएर कोरोनाको संक्रमण भएको आशंका लागेमा हामी घरघरमा स्वास्थ्यकर्मी पुर्‍याएर स्वास्थ्यजाँच सँगै परीक्षणका लागि नमूना संकलन त्यहीँ गर्छाै,’ उनले भने । स्थानीय तहको तथ्यांक अनुसार भीमसेन थापा गाउँपालिकामा विदेशबाट घर फर्कनेको संख्या २१ जना छन् । उनीहरुलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment