Comments Add Comment

प्रदेश २ सरकारले दूध र तरकारीको अभाव हुन नदिने

१८ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले लकडाउनको समयमा सर्वसाधारणलाई दूध र तरकारीको अभाव हुन नदिने भएको छ ।

प्रदेशको भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सर्वसाधारणका लागि दूध र तरकारी उपलब्ध गराउने योजना ल्याएको छ । ‘सुपथ मूल्यमा दूध र तरकारी उपलब्ध गराउन हामीले योजना बनाएका छौं,’ भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले भने, “बुधबारदेखि नै जनकपुरधाममा यो योजना लागू हुनेछ भने केही दिनमा आठ वटै जिल्लामा विस्तार गर्नेछौं ।”

दूधको अभाव हुन नदिन दूग्ध वितरण आयोजना ढल्केबरसँग समन्वय गरी जनकपुरधाममा दूध बिक्री गराउन लागिएको मन्त्रालयका पशुपंक्षी तथा मत्स्य विकास निर्देशक जागेश्वर यादवले जानकारी दिए ।

दूग्ध विकास आयोजनाका यसअघिका स्टलहरु खोलाएर सामाजिक दुरी कायम गरी दूध बिक्री गरिने उनले बताए । यसका निम्ति बिहान ६ देखि ८ः३० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म दूधका स्टलहरु खोलिने उनले बताए । ‘यस्तो व्यवस्था मिलाइदिन हामीले प्रशासनसँग आग्रह गरेका छौं,’ उनले भने ।

यादवका अनुसार साधारण दूध आधा लिटरको पौचको ३८ रुपैयाँ र क्रिमयुक्त दूधको ४६ रुपैयाँमा बिक्री गरिनेछ ।

अन्य ठाउँका दूधलाई पनि खेर जान दिन्नौं

मन्त्री साहले लकडाउनका कारण दूध बिक्री नभएपछि किसान समस्यामा परेको बताए । उनले यो समस्या हल गर्न आफूहरु लागिपरेको बताउँदै भने, “अन्य ठाउँमा रहेका संकलन केन्द्रका दूधहरु पनि बिक्रीको व्यवस्था मिलाउँछौं ।”

मन्त्री साहले सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकास्थित महुली बजारमा पनि दैनिक ६ हजार ५ सय लिटर दूध संकलन गरी विराटनगर दूग्ध वितरण आयोजनामा पठाउँदै आएकोमा अहिले त्यहाँका दूध खेर जाने सम्भावना बढेको बताए । उक्त दूधलाई पनि सर्वसाधारणसम्म पुर्‍याएर किसान र उपभोक्ता दुबैको हितमा काम गर्ने उनले बताए ।

उनले प्रदेशका अन्य ठाउँका पनि कृषि सहकारी संस्थाहरुले दूध संकलन गरिरहेको बताउँदै चाँडै नै ती दूधलाई सर्वसाधारणसम्म बिक्रीका निम्ति पुर्‍याउने व्यवस्था मिलाउने बताए ।

किसानसँग संकलन गरी तरकारी सर्वसाधारणलाई बिक्री गरिने

कृषि मन्त्रालयले लकडाउनको समस्या भोगिरहेका सर्वसाधारणलाई सहज तरिकाले तरकारी समेत उपलब्ध गराउने भएको छ । ‘यो कुनै व्यापार गर्ने नियत होइन,’ मन्त्री साहले भने, “किसानको उत्पादन खेर नजाओस् र सर्वाधारणले त्यसको उपभोग गर्न पाउन भन्नका लागि नै यो योजना ल्याइएको हो ।”

उनले किसानसँग खरीद गरिएको तरकारी सर्वसाधारणलाई सुपथ मूल्यमा उपलब्ध गराइने बताए । केही सीमित समयका लागि सीमित ठाउँमा सामाजिक दुरी कायम गर्दै तरकारी बिक्रीको तयारी गरिएको उनले बताए ।

तरकारी बेच्नका निम्ति मोबाइल भ्यान पनि प्रयोग गरिने मन्त्री साहले बताए । ‘मोबइल भ्यान तरकारी लिएर बस्तीहरुमा घुमाइनेछ,’ उनले भने, “सुरुमा जनकपुरधाममा यो योजना बनाइएको र पछि अन्य ठाउँमा पनि लागू गरिनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment