Comments Add Comment

सरकारको मलमले पुग्दैन : पर्यटन व्यवसायी

फ्रान्सले उद्दार लैजान लागेका पर्यटक त्रिभुवन विमानस्थलमा

१९ चैत, काठमाडौं । सरकारले आइतबार आर्थिक प्याकेज घोषणा गर्‍यो । सरसरती हेर्दा आकर्षक लागेपनि धेरै यो प्याकेजले प्रत्यक्ष फाइदा कसलाई गर्नेछ, त्यो भने हेर्न बाँकी छ ।

तर, कोरोना भाइरसको संक्रमणपछि मुलुकभित्र सबैभन्दा बढी प्रभावित भएको एयरलाइन्स, पर्यटन र होटेल व्यवसायी भने सरकारको प्याकेजबाट निराश बनेका छन् । यी कुनै पनि क्षेत्रले सरकारको प्याकेजबाट उत्साहित हुनुपर्ने नदेखिएको प्रतिक्रिया दिएका छन् ।

सरकारले आइतबार घोषणा गरेको आर्थिक तथा वित्तीय प्याकेज अन्तर्गत् चैतमा तिर्नुपर्ने कर्जाको किस्ता तिर्ने म्याद आगामी असारसम्म सार्यो । तर, मुख्य सिजनमै खल्ती खाली भएर बसेका व्यवसायी मार्च महिनाको तलब कसरी खुवाउने भन्ने चिन्तामा रहेको होटेल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । “कमाउने सिजनमा पर्यटक भएनन्, हामीलाई असारसम्म किन, मार्च महिनाकै कर्मचारी तलब खुवाउने पैसा छैन, किस्ता त धेरै परको विषय हो’, उनले भने ।

उनको भनाइमा सहमत छन्, समिट एयरका प्रवन्ध निर्देशक मनोज कार्की । ऋणको किस्ता, सरकारलाई तिर्ने करजस्ता विषयलाई अहिले थाति राख्दासमेत कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थाको सम्वोधन सरकारले नगरेको उनको भनाइ छ ।

पर्यटन, होटेल र एभिएसनलाई होलसेलमा नभई छुट्टै प्याकेजको आवश्यकता उनी औल्याउँछन् । अन्य क्षेत्रजस्तो लकडाउन खुल्नासाथ आर्थिक गतिविधि चलायमान भइहाल्ने क्षेत्र पर्यटन नभएका कारण केही समय राज्यले अभिभावकत्व लिएर यस उद्योगको संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।

टे्रकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी सरकारको पहललाई सकारात्मक मान्छन् । तर, यसले पर्यटनलाई भने सम्बोधन नगरेको उनको भनाइ छ । सरकारले चैत महिनामा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीको तलब स्वयं कम्पनीले खुवाउने पर्ने भनेको छ ।

बैंकको किस्ता तिर्ने र सरकारलाई बुझाउने करको समय पनि पछाडि सरेको छ । तर, यसले पर्यटन क्षेत्रले तत्काल गुमाएको ठूलो क्षतिलाई परिपूर्ति गर्न नसकेको उनको भनाइ छ । “कोरोनाले त हामीलाई सिधै गोली हानेको छ,” उनी भन्छन्, “त्यसको उपचार हुनेगरी प्याकेज आएको छैन ।” सरकारले पर्यटनलाई नै केन्दि्रत गरी छुट्टै प्याकेज नल्याएसम्म यो क्षेत्र माथि उठ्न नसक्ने उनको भनाइ छ ।

सरकारले ल्याएको आर्थिक प्याकेजमा पर्यटन क्षेत्रलाई मात्र सम्बोधन गरेको एउटा मात्र बुँदा छ । जसअनुसार पर्यटन र हवाइ क्षेत्रले कर्जा लिन चाहेमा द्रूत मार्गबाट पाँच दिन भित्रै बैंकबाट कर्जा लिनसक्ने उल्लेख छ । यसबाहेक अन्य सबै आर्थिक प्याकेज सबै उद्योग र क्षेत्रका लागि हो । सरकारले घरभाडा मिनाहा गर्न गरेको आग्रह घरबेटीले मानेमा समेत पर्यटन उद्योगीले केही राहत पाउने सुवेदीको भनाइ छ ।

किनकी धेरैजसो पर्यटनसँग सम्बन्धित व्यवसाय भाडाका घरमा सञ्चालन भएको छ । यो पनि घरबेटीले मान्ने नमान्ने निश्चित छैन । यसअवस्थामा बैंकबाट ऋण लिएर कति दिन कर्मचारीलाई तलब खुवाउने भन्ने चिन्ता व्यवसायीमा बढेको छ ।

सिजनमै कमाएर नाफा बाँड्ने कम्पनीलाई ठूलो क्षति

कोरोनाको प्रहार यस्तो समयमा भयो, जतिबेला नेपालमा पर्यटकीय सिजन सुरु हुनै लागेको थियो ।

नेपालमा करिब दुई लाख हाराहारी मानिसहरु पदयात्रामा आउँछन्। हजारौं पर्यटक पर्वतारोहणका लागि आउँछन् । यस सिजन कोरोनाका कारण दुबै शाहसिक गतिविधि बन्द भए । यी दुई क्षेत्र नेपालमा सबैभन्दा खर्चालु पर्यटकीय उत्पादन पनि मानिन्छ ।

किनकी एक जना पर्यटक पदयात्रा वा पर्वतारोहणमा जाँदा उसले एयरलाइन्स, होटेल, होस्मटे, ट्राभल एण्ड टुर, पर्यटन यातायात, भरिया, गाइडसहित धेरै ठाउँमा खर्च गरेको हुन्छ । गतिविधि नै नभएपछि पर्यटनमा सिजनमै कमाएर सबैले नाफा बाँड्ने कम्पनीहरु धरासायी बन्न पुगेका छन् । उनीहरुलाई तत्काल नगदको अभाव हुने भएकाले सरकारले यस समस्यालाई सम्बोधन गरिदिनु पर्ने व्यवसायीको माग छ ।

के छन् अपेक्षा व्यवसायीका ?

मार्च महिनामा व्यवसाय ध्वस्त भएपछि आर्थिक संकटमा परेको उद्योगको समस्या बुझेर सरकारले मजदुर तथा कर्मचारीको सेवा सुविधा व्यवस्थापनमा सहयोग गर्नसक्ने हानका प्रथम उपाध्यक्ष शाहको भनाइ छ । उनका अनुसार सरकारले भदौ २०७४ देखि सामाजिक सुरक्षा कोषका नामका काटिरहेको एक प्रतिशत कर रकमलाई अहिले खर्च गर्नसक्ने उपाय थियो ।
कम्तिमा मजदुरको दायित्व मात्र सरकारले कोषमार्फत् बेहोरिदिए पनि धेरै हदसम्म सहयोग पुग्ने अपेक्षा होटेलहरुको रहेको उनको भनाइ छ । समिट एयरका प्रवन्ध निर्देशक तथा वायुसेवा सञ्चालक संघका महासचिव कार्की सरकारले तत्कालीन अभावलाई सम्बोधन गर्दै पर्यटन पुरानै अवस्थामा नफर्केसम्म उद्योग धरासायी नहोस् भनेर खास प्याकेज ल्याउनुपर्नेमा जोड दिन्छन ।

“अहिले लकडाउन वा अन्तर्राष्ट्रिय उडान खुल्नासाथ कोही पर्यटक नेपाल घुम्न आइहाल्ने छैन, उनी भन्छन, पर्यटन पुरानै अवस्थामा र्फकन एक वा दुई वर्ष लाग्ला, त्यतिन्जेल चल्ने सक्ने वातावरण त चाहियो नि ।”

त्यसो हुन नसके धेरै वायुसेवा कम्पनी, होटेल र पर्यटन क्षेत्रका उद्योग बन्द हुने र त्यसले ठूलो रोजगारी गुम्ने खतरा रहेको आशंका व्यवसायीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment