Comments Add Comment

चट्याङ लागेर २ जनाको मृत्यु

२० चैत, काठमाडौं । धादिङ र रुकुम पश्चिममा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । उत्तरी धादिङको खनियाँबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको हो । तीन जना घाइते छन् ।

मृत्यु हुनेमा खनियाँबास गाउँपालिका-२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको चट्याङका कारण उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

चट्याङमा परेर खनियाँबास गाउँपालिका-२ थलीका पार्वती तामाङ र मनकुमारी तामाङ घाइते भएकी छन् । थलीमा परेको चट्याङले दुई घरमा क्षति पुगेको छ । चट्याङका कारण गाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको झार्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानकारी दिए ।

दिउँसोको समयमा परेको चट्याङका कारण सोही गाउँपालिका–२ क्युङ निवासी आसमाया तामाङ घाइते भएकी छन् । सबै घाइतेको गाउँमा रहेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

उता, रुकुमपश्चिममा पनि चट्याङ लागेर बुधबार एकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–४ मा चट्याङ पर्दा मामाघरमा बस्दै आएकी गङ्गादेव गाउँपालिका रोल्पाकी १३ वर्षीया निर्मला खत्रीको मृत्यु भएको हो ।

चट्याङ लागेर अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक ठगबहादुर केसीले बताए । उनका अनुसार बेलुकी साढे ६ बजेतिर स्थानीय गङ्गाराम खड्का र प्रकाश विकको घरमा चट्याङ परेको थियो ।

चट्याङ लागेर प्रकाशकी २० वर्षीया श्रीमती अनिता विक भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment