Comments Add Comment

गन्ध वा स्वाद थाहा नपाउनु पनि कोरोना संक्रमणको लक्षण हो ?

२० चैत, काठमाडौं । गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोना भाइरस (कोभिड–१९) को लक्षण हुनसक्ने बेलायती अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् ।

लण्डनको किङ्ग्स कलेजको एक टिमले करोना भाइरसको शंकास्पद लक्षण एउटा एपमा रिपोर्ट गर्ने करिब चार लाख मानिसको डाटाको अध्ययन गरेका छन् । रुघाखोकी र श्वासप्रश्वासमा गाह्रो हुनेबाहेक स्वाद र गन्ध थाहा नपाउनु पनि कोभिड–१९ को लक्षण हुनसक्ने उनीहरुको अध्ययनबाट देखिएको छ ।

विशेषज्ञहरुले भनेका छन् कि ‘अहिले पनि उच्च ज्वरो र सुख्खा खोकी कोरोना संक्रमणको सम्भावित मुख्य लक्षण हो, जसलाई नजरअन्दान गर्न हुँदैन ।’

तर, किङ्ग्स कलेजले गरेको अध्ययनले थप केही संकेत गरेको छ । कोभिड सिम्टम ट्र्याकर एपमा कोरोनाको आशंकामा रिपोर्ट गर्नेहरुले के-के भनेका थिए, हेरौं ।

  • ५३ प्रतिशतले थकान महसुस हुने गरेको
  • २९ प्रतिशतले लगातार खोकी लागेको
  • २८ प्रतिशतले श्वासप्रश्वासमा अप्ठ्यारो भएको
  • १८ प्रतिशतले स्वाद वा गन्ध थाहा नपाउने गरेको
  • १०.५ प्रतिशतले ज्वरो आएको

यसरी कोभिड सिम्टम ट्र्याकर एपमा शंकास्पद लक्षण दर्ता गर्नेमध्ये एक हजार सात सय दुई जनाको कोरोना परीक्षण भएको छ । उनीहरुमध्ये पाँच सय ७९ लाई संक्रमण भएको पुष्टि भएको छ । जसलाई कोरोना संक्रमण भएको पुष्टि भयो, उनीहरु मध्ये ५९ प्रतिशतले सुघ्न र स्वाद चाख्ने क्षमता गुमाएको  बताइएको थियो ।

तर, विशेषज्ञहरुले भने अहिले नै सुघ्न र स्वाद थाहा पाउन नसक्नुलाई कारोनाको लक्षण मान्न नसकिने बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र पब्लिक हेल्थ इंग्ल्याण्डले पनि यसलाई कारोनाको प्रमुख लक्षणको सूचीमा राखेको छैन ।

बेलायतका आँखा, नाक कान र घाँटीका विशेषज्ञ डाक्टरहरुको प्रतिनिधि समूह ईएनटी यूकेकाअनुसार कोरोना भाइरसका संक्रमणहरुले कुनै चिजको गन्ध वा स्वाद थाहा नपाएको भन्नु आश्चर्यको कुरा होइन । तर, यस्तो लक्षण कोरोना संक्रमणमा मात्र हुँदैन ।

किङ्गस कलेजका शोधकर्ताहरुले पनि कुनै चिजको गन्ध वा स्वाद थाहा नपाएको कोरोना संक्रमणको अतिरिक्त लक्षण हुनसक्ने तर प्रमुख लक्षण नभएको स्वीकार गरेका छन् । कोरोना संक्रमणको पुष्टि हुने प्रमुख लक्षण अहिले पनि उच्च ज्वरो, सुख्खा खोकी र श्वासप्रश्वासमा कठिनाई नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment