Comments Add Comment

विद्यालयलाई क्वारेन्टाइनस्थल बनाउँदा ख्याल गर्नुपर्ने कुरा

डोटीमा विद्यालयको कक्षाकोठामा बनाइएको क्वारेन्टाइनस्थल ।

विश्व नै अहिले कोरोनाको सन्त्रासमा दपेटिएको छ । हामी यसको भयावह संक्रमणबाट जोगिन आफ्नो बुँताले भ्याएसम्म प्रयासरत छौँ ।

मुलुकमा अहिले विदेशबाट आएका नेपाली नागरिक वा संकास्पद संक्रमित वा नजिकका व्यक्तिले कम्तिमा १४ दिन क्वारेन्टाइनमा रहनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

यसका लागि हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरससम्बन्धी क्वारेटाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ स्वीकृत गरी सार्वजनिक गरेको छ ।

संघ, प्रदेश र स्थानीय तहमा निर्माण हुने वा तोकिने क्वारेटाइन स्थल निर्माण गर्दा घनाबस्तीबाट टाढा, सञ्चार, स्वास्थ्य, सडक, पानी र बिजुलीको उचित व्यवस्था भएको स्थान आवश्यक छ । यस्तो भवन वा स्थान सम्भव भएसम्म एकसय जनाभन्दा बढी व्यक्तिलाई राख्न सक्ने क्षमता भएको हुनुपर्दछ ।

यस अधारमा सहजै भन्न सकिन्छ, यसका लागि समुदाय तहमा विद्यालयहरु नै उपयुक्त स्थल हुन सक्दछन् ।

त्यसैले सरकारी, संस्थान, सामुदायिक तथा सार्वजनिक भौतिक संरचनाहरु जस्तैः होस्टेल, तालिम केन्द्र, होटल, शैक्षिक संस्था वा सरकारी संरचनालाई यस प्रयोजनमा प्रयोग गर्न सकिने मापदण्ड तयार गरिएको छ ।

यस्ता संरचना उपलध नभएमा मात्र खुला मैदानमा पाल वा अन्य अस्थायी पूर्वाधार तयार गरी प्रयोग गर्न सकिने गरी संघ, प्रदेश र स्थानीय तहले समिति गठन गरी क्वारेन्टाइन स्थलको स्थापना, व्यवस्थापन र सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।

यो मापदण्डका आधारमा समुदाय तहमा क्वारेन्टाइन बनाउन उपयुक्तस्थल विद्यालय देखिन्छ । समुदायको साझा स्ांंस्था भएकाले यो विपदको समयमा विद्यालयको उपयोग हुन पाउनु उचित र सान्दर्भिक पनि छ । मुलुकको विपद व्यवस्थापनका समयमा विद्यालय संरचनाको भौतिक उपयोगबाट योगदान पुर्‍याउन पाउँदा सबैले खुशी हुनुपछ । एउटा शिक्षाकर्मीका नाताले मलाई पनि खुशी लाग्छ ।

हालसम्म रौतहट जिल्लाको कटहरिया र परोहा नगरपालिका, बाजुरा जिल्लाको बडिमालिका र छेडेदह नगरपालिका र बाराको निजगढ नगरपालिका लगायत धेरै स्थानीय तहहरुले केही विद्यालयमा क्वारेन्टाइनको व्यवस्था मिलाएको सुनिएको छ । मुलुकभित्र कोरोनाको फैलावटदर हेरेर पूर्वसावधानीका लागि यो क्रम अझ बढ्न सक्छ ।

तसर्थ स्थानीय व्यवस्थापकले विद्यालयलाई क्वारेन्टाइन स्थल कायम गर्दा बालबालिका यो सन्त्रासबाट मुक्त भएपछि आफ्नो विद्यालयमा अध्ययन गर्न जाँदा तत्कालै प्रयोग गर्न सक्ने अवस्थाको सुनिश्चिततातर्फ विचार गर्न आवश्यक छ ।

विद्यालय कलिला बालबालिकासमेत अध्ययन गर्नेस्थल हो । आफ्नो अनुपस्थितिमा विद्यालय हातामा भएका कुनै पनि क्रियाकलापको नकारात्मक छनक नदेखिने अवस्था बनाउन आवश्यक हुन्छ ।

विद्यालय शान्ति क्षेत्रका दृष्टिकोणबाट हेर्दा हामी सबैले ख्याल गर्र्नैपर्छ कि – अहिले गरिएकोे सामाजिक उपयोगपछि पनि बालबालिकालाई सधैंका लागि नै पूर्ववत् र भयरहित बनाउन सक्नुपर्छ ।

विद्यालयमा रहेका भौतिक सम्पति सरकार, समुदाय र दाताको साझा पहलमा जोडिएको हुन्छ । स्काउटको आचार संहितामा आफूले कुनै स्थान, सामग्री वा वस्तु उपयोग गरेमा उपयोग गर्नु पूर्वको अवस्थामा यथास्थानमा छोड्नुपर्ने अनिवार्य गरिएको हुन्छ ।

विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्नुे त अझ संंवेदनशील हुन्छ नै । खानेपानी सरसफाइ, स्वच्छतासँगै स्वास्थ्य र मानसिक सन्त्रास तथा बालबालिकाको संवेदनशीलताको दृष्टिकोणबाट भोलि यथावत् प्रयोग गर्न सक्ने अवस्थामा छोड्ने दायित्व पनि यसका व्यवस्थापक र उपभोक्तामा नै रहेको हुन्छ ।

विद्यालयलाई क्वारेन्टाइनस्थल बनाउँदा गरिने व्यवस्थापकीय कार्यलाई भविष्यमा बालबालिकका लागि पनि उपयोगी हुने गरी तयार गर्नसके यो विद्यालयको विकासका लागि पनि सहयोगी हुन सक्दछ ।

यो कठिन समय हो, तथापि कुनै सामग्री जोड्दा वा भएको स्रोत साधन उपयोग गर्दा बालबालिकालाई हेरेर गरियो भने त्यो भोलिका लागि मितव्ययी पनि हुन सक्छ । विद्यालयका डेक्स वेञ्चदेखि खानेपानी, शौचालय र अन्य व्यवस्थापनको होशियारीपूर्वक उपयोग गर्नुपर्छ ।

विद्यालयका कतिपय विषय वा सामग्रीहरु बालबालिकाको विभिन्न समय र सन्दर्भका स्मृति, सिर्जना वा प्रिय हुन सक्छन् । यसका साथै बालबलिकाले लगाएका फूलबारी वा अन्य वातावरणीय पक्षको उचित संरक्षण र सम्वद्र्धन गर्नुपर्छ ।

अतः कोरोना भाइरस (COVID-19) सम्बन्धी क्वारेटाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ मा संघ, प्रदेश र स्थानीय तहले समिति गठन गरी यसकोे स्थापना, व्यवस्थापन र सञ्चालन गर्नु पर्ने व्यवस्था रहेकोमा सम्बन्धित विद्यालयमा रहने क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समितिमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक वा व्यवस्थापन समिति मध्येबाटबाट पनि सहभागिता गराउनु उपयुक्त देखिन्छ ।

क्वारेन्टाइन निर्माण, सञ्चालन तथा व्यवस्थापनका पक्षमा मापदण्ड स्पष्ट छ । तर, यस मापदण्डमा क्वारेन्टाइन स्थल छोड्दा कम्तीमा पूर्ववत् अवस्थामा रहेको सुनिश्चित गर्नु पर्ने दायित्व भने छुटेको छ । तथापि क्वारेन्टाइनस्थल खाली भएपश्चात् ७२ घण्टासम्म प्रयोगमा नल्याउने र Disinfection पश्चात मात्र प्रयोग गर्ने भन्ने उल्लेख गरिएको छ ।

यसका साथै नियमित पठनपाठन गर्ने अनुकुल समय हुनेबित्तिकै विद्यार्थीले भयरहित र स्वच्छ वातावरणमा तत्काल विद्यालय जानुपर्ने र दैनिक लामो समय त्यहीँ बिताउनुपर्ने संवेदनशील पक्षमा समेत अहिलेदेखि नै सबैको ध्यान पुग्न आवश्यक छ ।

(गौतम शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीका निर्देशक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment