Comments Add Comment

इन्धनको मूल्य घटाउँदा व्यवसायीलाई ३० करोड बढी घाटा, निगमसँग मागे क्षतिपूर्ति

निगमका कार्यकारी निर्देशक भन्छन्– घाटा हाम्रो दायित्वमा पर्दैन

२० चैत, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य एकैपटक प्रतिलिटिर १० रुपैयाँ घटाउँदा करिब ३० देखि ४० करोड रुपैयाँ घाटा लागेको व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले आयल निगमसँग क्षतिपूर्तिसमेत मागेका छन् ।

निगमले बुधबार डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको थियो । आफूहरुले महँगो मूल्यमा किनेर इन्धन भण्डारण गरेको, तर अहिले लकडाउनको बेला एकैचोटि धेरै मूल्य घटाइदिँदा घाटा भएको व्यवसायीहरुको भनाइ छ ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनले बिहीबार नेपाल आयल निगमलाई पत्र लेखेर क्षतिपूर्तिको व्यवस्था मिलाइदिन माग गरेको छ । एशोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले निगमलाई लेखेको पत्रमा पेट्रोलियम व्यवसायीहरुको करिब ३० देखि ४० करोड घाटा भएको उल्लेख छ ।

‘उक्त घाटा पेट्रोलियम व्यवसायीहरुले धान्नसमेत नसक्ने’ उल्लेख छ । त्यसैले व्यवसायीहरुलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गर्न माग गरिएको छ ।’

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चैत ८ गते मन्त्रालयमै बोलाएर क्षमताले धानेसम्मको तेल भण्डारण गर्न व्यवसायीहरुलाई आग्रह गरेका थिए । मन्त्रीको आग्रह सबै व्यवसायीले इन्धन भण्डारण गरेका थिए । तर अहिले आफूहरुले धोका पाएको व्यवसायीहरुको गुनासो छ ।

नेपाल पेट्रोलियम डिलर एशोसिएसन बागमतीका अध्यक्ष अच्युत खड्काले भने, ‘अहिले पेट्रोलियमको बिक्री ठप्प छ, अर्को कुरा १ सय ६ रुपैयाँ प्रतिलिटरमा किनेको तेल ९६ रुपैयाँमा कसरी बेच्ने ?’ खड्काका अनुसार अहिले सरकारले घटाएको मूल्यले हरेक पेट्रोल पम्पलाई ८० हजारदेखि ९ लाख रुपैयाँसम्म घाटा भएको छ ।

निगमको आग्रहमा साना पम्पहरु (६ सयदेखि एक हजार लिटर बिक्री गर्ने) देखि ठूला पम्पहरु (२ हजार देखि ५ हजार लिटर बिक्री गर्ने)ले पूर्ण क्षमतामा डिजेल तथा पेट्रोल भण्डारण गरेको खड्काले बताए । ‘व्यवसायीलाई मन्त्रीकै सामु राखेर तेल भण्डारण गर्न भनियो, अहिले सबै पम्प घाटामा गयौँ,’ अध्यक्ष खड्काले भने ।

मन्त्रालय र निगम नेतृत्वले व्यवसायीलाई ढाँटेर ठूलो अन्तरले इन्धनको मूल्य घटाइदिएको भन्दै व्यवसायीले ‘एकै माघले जाडो नजाने’ धम्की निगमलाई दिएका छन् । ‘दुःखको बेला सरकारलाई सघायौँ, तर हामीलाई धोका भयो,’ एशोसिएसनका बागमती अध्यक्ष खड्काले अनलाइनखबरसँग भने, ‘एक माघले जाडो नजाला ।’

नाफा मागेका छैनौं, घाटा पनि हाम्रो दायित्वमा पर्दैन : निगम

यता आयल निगमले भने इन्धनको मूल्य तोक्ने काम कुनै व्यक्तिले नभई प्रणालीबाट हुने भएकाले पक्षपात नभएको दाबी गरेको छ । कुनैबेला व्यवसायीलाई नाफा हुँदा निगमले फिर्ता नमागेको र घाटा हुँदा पनि केही गर्न नसक्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।

‘हामीले नाफा पनि मागेका छैनौँ, घाटा पनि हाम्रो दायित्व हैन, संकटका बेला व्यवसायीले कुरो बुझ्नु पर्छ,’ नेपाल आयल निगमका कार्यकारी निर्देशक पौडेलले भने । ठूलो अन्तरले पेट्रोलियमको मूल्य घट्नु व्यवसायीलाई घाटा खुवाउन नभई राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिले बनेको निगमले जनाएको छ ।

लकडाउनको अघिल्लो दुई दिनमा मात्रै काठमाडौं उपत्यमाका दैनिक १८ लाख लिटरका दरले डिजेल र पेट्रोल थानकोट डिपोबाट वितरण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment