Comments Add Comment

खुलेर गरौं मनका कुरा

मनको कुरा मनमै राख्दा वेचैन हुन्छ । औडाह हुन्छ । आफ्नो इच्छा के छ, रुची के छ, आकंक्षा के छ, दुःख–सुख के छ ? यावत सम्बन्धमा खुलेर चर्चा गर्नु उपयुक्त हुन्छ । जब हामी मनभित्रै कुरा लुकाएर राख्छौं, त्यसले गुनासो पैदा गर्छ । गुनासोले खटपट ल्याउँछ । समबन्धलाई खल्लो बनाइदिन्छ । खासगरी यो कुरा दम्पतीको हकमा हो ।

घरायसी कुरा एक ठाउँमा छ, आफ्ना बालबच्चाको कुरा एक ठाउँमा छ । सबै कुरालाई व्यवस्थित बनाइरहँदा आफ्ना इच्छा र रुचीहरु भने हामी लुकाएर राख्छौं । आफ्नो मनमा के कुरा छ, अरुले थाहा पाउँदैनन् । हामी के अपेक्षा गर्छौं भने पार्टनरले मनको कुरा बुझे हुन्थ्यो । तर, जब हामी आफुलाई व्यक्त गर्दैनौं, तब कसरी मनको कुरा बुझ्छ ?

दम्पतीले जति–जति एकअर्कासँग भावना साझेदार गर्छन्, मनको कुरा खुलस्त गर्छन्, सम्बन्ध पारदर्शी हुन्छ । पारदर्शी सम्बन्ध सधै प्रगाढ र सुमधुर हुन्छ । अविश्वास, भ्रम र गुनासोहरु बाँकी रहँदैन । यसरी सम्बन्ध राम्रो हुन्छ ।

अर्को कुरा, मनभित्रै कुरा लुकाएर राख्दा त्यसले आफैलाई पीडा दिन्छ । अहिले कतिपय मानसिक समस्या देखिनुको पछाडि पनि यही कारण लुकेको छ । मनको कुरा खुलेर नगर्ने, मनमा अनेकथरी सोचेर बस्ने प्रवृत्तिले अन्ततः मानसिक समस्या पैदा गर्छ । त्यसैले दम्पतीबीच खुलेर कुरा गर्नु आवश्यक छ ।

हुन त सबैको आ आफ्नै स्वभाव हुन्छ । कोही धेरै बोल्छन्, कोही बोल्दै बोल्दैनन् । तर, श्रीमान वा श्रीमतीबीच कुनै पर्खाल राख्नु आवश्यक छैन । दुरी राख्नु आवश्यक छैन । एकअर्काले खुलेर कुरा गरे हुन्छ ।

कतिपय रुची एवं रहरहरु हामी आफैभित्र मात्र सीमित राख्छौं । आफुलाई के गर्न मन लागेको थियो, के बन्न मन लागेको थियो, कहिल्यै कुरा गर्दैनौं । पार्टनरले आफ्नो रुची बुझ्दैनन् । हामी भित्रभित्रै गुनासो राखेर बस्छौं । यसले सम्बन्धमा फाटो ल्याउँछ ।

विवाह गरेपछि हामीले कतिपय कुरामा सम्झौता गर्नुपर्छ । हाम्रा दायित्व एवं अभिभारा थपिन्छ । श्रीमान वा श्रीमतीका लागि समय दिनुपर्छ । बालबच्चा हुन्छन्, उनीहरुलाई हुर्काउने बढाउने गर्नुपर्छ । घर परिवारका लागि पनि केही न केही गर्नैपर्छ ।

तर, यी सबै कुरा गरिरहँदा हामीले आफ्नो रुची र इच्छाहरु मार्नुपर्छ भन्ने छैन । परिवार वा बालबच्चाको खुसी खोजीरहँदा आफ्नो खुसी गुमाउनुपर्छ भन्ने छैन । आफ्नो रुची एवं रहरहरु पनि साथसाथै पुरा गर्दै जान सकिन्छ ।

त्यसो भन्दैमा यस्ता रहरहरु पनि पाल्नु भएन जसले पारिवारिक सन्तुलन बिग्रियोस् । सार्थक रुची एवं रहरले न परिवारको लय बिग्रिन्छ, न आफुलाई समस्यामा पार्छ ।

आफ्नो रुची एवं रहरहरु के छ, पार्टनरसँग कुरा गर्न सकिन्छ । आफुलाई के कुरामा रुची छ, के गर्दा रमाइलो लाग्छ, भन्नुपर्छ । आपसी संवाद जरुरी छ । जब हामी खुलेर मनको कुरा गर्छौं, तब मात्र हाम्रो इच्छा, रुची एवं रहर आपसमा साझेदार हुन्छ ।

पार्टनरले आफुलाई बुझ्छन् भनेर बसिरहनु त्यती उपयुक्त हुँदैन । भलै पार्टनरले आफुलाई बुझ्न सक्छन् । तर, खुलेर कुरा गर्नु सर्वोत्तम हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment