Comments Add Comment

लकडाउन कहिलेसम्म ? सरकारी सूत्र भन्छ- भारततिर हेर्नुपर्छ

२२ चैत, काठमाडौं । मुलुकलाई कोरोनाको संक्रमणबाट जोगाउन सरकारले दोस्रोपटक घोषणा गरेको लकडाउनको अवधि मंगलबार (चैत २५ गते) सकिँदैछ। तर, सरकारले अहिलेसम्म मंगलबारपछि लकडाउनको अवधि बढाउने/नबढाउने बारे सूचना दिएको छैन ।

चैत २५ पछि लकडाउन जारी रहन्छ कि खुल्छ भन्ने अनलाइनखबरको प्रश्नमा एक मन्त्रीले भने, ‘हामीले मात्र भनेर हुँदैन, भारतमा के हुन्छ, त्यो पनि हेर्नुपर्छ, किनभने कोरोना अब नेपालको मात्र समस्याको विषय रहेन ।’

तर, सरकारले अहिलेसम्म २५ गतेपछि के गर्ने भन्नेबारे सोच्न र निर्णय लिन बाँकी रहेको उनले बताए । मंगलबारअघि नै उसबारे सरकारले ठोस निर्णय लिने उनको भनाइ छ ।

भारतमा वैशाख २ सम्म लकडाउन

भारत सरकारले अप्रिल १४ अर्थात् आगामी वैशाख २ गतेसम्म लकडाउन घोषणा गरेको छ । वैशाख २ पछि के गर्ने भन्नेबारे मोदी प्रशासन अहिले पनि गृहकार्यमै छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार सबै राज्यका मुख्यमन्त्रीहरुसँग बैठक गरेका थिए । जसमा अप्रिल १४ पछि के गर्ने भन्नेबारेमा पनि छलफल भएको थियो ।

मोदीसँगको छलफलपछि अरुणाञ्चल प्रदेशका मुख्यमन्त्री प्रेमा खाँडूले यस्तो टि्वट गरेका थिए, ‘१५ अप्रिलमा लकडाउन समाप्त हुनेछ । तर, यसको मतलब यो होइन कि तपाईं गल्लीमा खुल्लामखुल्ला घुम्न पाउनुहुनेछ । हामीले कोरोनाको संक्रमण कम गर्नका लागि निरन्तर प्रयास गर्न जरुरी छ । लकडाउन र सोसल डिस्ट्यान्सिङ नै यसलाई समाधान गर्ने सबैभन्दा प्रभावकारी उपाय हो ।’

मुख्यमन्त्री खाँडूले केहीबेरमै टि्वट डिलिट गरे । तर, उनको यही भनाइलाई आधार बनाउँदै भारतीय सञ्चारमाध्यमहरुले भनेका छन् कि अप्रिल १५ पछि भारतमा लकडाउन हट्न पनि सक्छ। तर, केही निश्चित शर्तहरुका साथ । परिस्थितिमा सुधार नआएको अवस्थामा भारतको लकडाउन अरु लम्बिन पनि सक्छ ।

यसैबीच, भारत सरकारले १४ अप्रिलसम्म लकडाउन घोषणा गरे पनि एयर इण्डियाले अप्रिल ३० तारेखसम्मको टिकट बुकिङ बन्द गरेको छ ।

नेपालमा के होला ?

भारतसँग प्रत्यक्ष सीमा जोडिएको नेपालमा चैत २५ पछि के गर्ने भन्ने प्रश्न निरुत्तरित छ । यसका लागि सरकारसँग करिब तीनवटा विकल्प देखिन्छन् :

एक- भारतमा लकडाउन जारी रहे पनि नेपालमा खोल्ने ।

दुई- भारतले जहिलेसम्म लकडाउन गर्छ, त्यसैलाई पछ्याइरहने ।

तीन- भारतले जे गरे पनि चैत २५ देखि शर्तसहित खुल्ला गर्ने ।

लकडाउन खोल्ने कि जारी राख्ने भन्ने कुरा छिमेकीको भन्दा पनि आफ्नै देशभित्रको अवस्थालाई विचार गरेर निर्णय लिनु बुद्धिमत्ता हुने देखिन्छ ।

कोरोना फैलन नदिने सरकारले जसरी लकडाउनको घोषणा गर्‍यो । त्यसले गर्दा भाइरस फैलन नपाएको भन्दै आम जनसमुदायले सरकारको अहिलेसम्मको निर्णयलाई साथ दिएका छन् । तर, लामो समयको लकडाउनले जनजीवनमा अप्ठ्यारो परिरहेको छ । अर्कोतर्फ मुलुकको अर्थतन्त्र चौपट बनेको छ ।

तर, अर्कोतिर लकडाउनलाई खुल्ला गर्दा कोरोनाको महामारी समुदायमा फैलिएला कि भन्ने जोखिम पनि हटिसकेको अवस्था छैन । इरान, इटली र अमेरिकामा हेलचेक्र्याइँ गर्दा ठूलो दुर्घटना निम्तिएको अवस्था छ ।

भारतको तयारीलाई हेदा त्यहाँ निश्चित शर्तहरु राखेर लकडाउनलाई खुकुलो पार्ने विषयमा छलफल भइरहेको देखिन्छ । तर, वैशाख २ सम्म सिंगो देश लकडाउनमै रहनेछ । किनभने, भारतमा कोरोना इम्पोर्टेडबाट समुदायमा प्रवेश गर्न थालेको अवस्था छ ।

नेपाल सरकारले चाहिँ अब २५ गतेपछि के गर्ला त ? चैत महिनाभरि लकडाउनको निरन्तरता ? वा शर्तसहितको खुकुलो ? अहिलेसम्म सरकार अन्योलमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment