Comments Add Comment

सौन्दर्यको कुरा : यी भ्रम हुन्

सौन्दर्यको कुरा धेरैलाई अनावश्यक लाग्छ । तर, संसारका हरेक मान्छेभित्र एउटै जिज्ञासा हुन्छ, सुन्दर कसरी देखिने ?

आवश्यक छैन कि सुन्दर बन्नका लागि अनुहारमा अनेक लिपपोत गरौं । किनभने सुन्दरता मान्छे अनुसार फरक हुन्छ । सुन्दरताको मापन पनि फरक हुन्छ । भूगोल, समुदाय, संस्कृति, सोंच आदिले पनि यसमा फरक पार्छ ।

यद्यपि अनुहार, आँखा जस्ता आवरणमा चमक होस् । आभा होस् भन्ने सबैलाई लाग्छ । यसका लागि कतिपयले आन्तरिक रुपमै शरीरको शुद्धिकरण विधी अपनाउँछन् भने कतिपयले बजारमा उपलब्ध सौन्दर्य प्रशाधनको ।

त्यसो त अनुहारलाई राम्रो बनाउने चक्करमा कतिपयले गल्ती पनि गरिरहेका हुन्छन् । यस सम्बन्धमा कतिपय द्विविधा र भ्रम पनि छन् ।

भ्रम : अनुहारमा आउने दागहरु बढ्दो उमेरको संकेत हो ।

तथ्यः वास्तवमै यो एउटा भ्रम नै हो । वास्तविकता के हो अनुहारमा आउने दाग अथवा चाया–पोतो उमेरका कारणले होइन, लामो समयसम्म छाला घामको सम्पर्कमा रह्यो भने त्यस्तो समस्या पैदा हुन्छ । अनुहारमा देखिने ९० प्रतिशत दागहरु सूर्यको हानिकारक किरण (युबी ए तथा युबीबी किरण) का कारणले आउँछ । सूर्यको हानिकारक अल्ट्राभ्वाइलेट किरणले छालाको क्यान्सरसम्मको कारण बन्न सक्छ ।

उपायः मौसम जाडो होस् अथवा गर्मी, अनुहारमा गुणस्तरीय सनस्किनको प्रयोग गर्नु पर्छ, त्यो पनि प्रत्येक चार घण्टाको अन्तरालमा ।

भ्रमः अनुहार (नाक) मा आउने ब्ल्याक हेड्स छालाको सरसफाइका आधारमा आउने गर्छ । नियमित रुपले स्क्रबिङ गर्नाले ब्ल्याक हेड्स हट्छ ।

तथ्यः अनुहारको छालामा आउने ब्ल्याक हेड्सको सम्बन्ध बाहिरी सरसफाइसंग हुँदैन । धूलो, माटो अथवा बाहिरी फोहोरका कारण ब्ल्याक हेड्स आउँदैन । छालाको तैलीय ग्रन्थी अत्यधिक सक्रिय हुनाले तथा तेलको अत्यधिक उत्पादन हुनाले छालामा ब्ल्याक हेड्स आउँछ । तेलले छालालाई चिल्लोपना प्रदान गर्छ, जुन छालाको सेल्समा जम्मा हुन्छ । त्यसबाट ब्ल्याक हेड्स बन्न पुग्छ ।

उपायः छालाको रोमछिद्रमा जम्मा भएको तेललाई हटाउनका लागि सेलिसाइलिक एसिडयुक्त एक्सफोलिसनको सहयोगले अनुहारको छाला सफा गर्नु पर्छ ।

भ्रम : डण्डिफोर आएको अनुहारमा मेअअप गर्दा डण्डिफोर अझ बढ्छ ।

तथ्य : यो पनि एउटा भ्रम नै हो । राम्रो गुणस्तरको सौन्दर्य प्रशाधनको प्रयोग गर्ने हो भने त्यसले डण्डिफोरलाई बढाउने काम गर्दैन ।

उपाय : राती सुत्नु भन्दाअिघ अनुहारलाई सफा पानीले धुनु पर्छ । सकिन्छ भने क्लिन्जरले सफा गर्दा अझ राम्रो हुन्छ । त्यसपछि हल्का मोइश्चराइजर लगाउन सकिन्छ । राती सुत्नुअघि मेकअप रिमुभरले मेकअप हटाउन बिर्सनु हुँदैन ।

भ्रम : कोको बटर अथवा ओलिभ ओयल लगाउनाले स्ट्रेच मार्क आउँदैन ।

तथ्य : स्ट्रेच मार्क  गर्भवती भएको बेला आउने, शरीरको तौल तिब्र रुपमा बढ्नाले अथवा घट्नाले आउने गर्छ । नियमित रुपमा ब्यायाम गर्नाले स्ट्रेच मार्क नआउन सक्छ ।

उपाय : स्ट्रेच मार्क आयो भने विशेष प्रकारको क्रिम तथा जेलको प्रयोगले पनि हटाउन सकिन्छ ।

भ्रम :  फाउन्डेशन हात, हत्केला अथवा गालासंग मेल खानु पर्छ ।

तथ्य : यो पनि सत्य होइन । फाउन्डेशन दिउँसोको प्राकृतिक उज्यालोमा गर्दन तथा चिउँडोसंग मेल खाए पुग्छ । अनुहार तथा गर्दनमा फाउण्डेसन लगाउँदा छाला दागरहित तथा एक नासको देखिन्छ ।

उपाय : तपाईंको सम्पूर्ण लूक्स फाउन्डेसनमा निर्भर हुन्छ । त्यसैले फाउन्डेशनको ब्लेन्डिङ सही तरिकाले गर्नु पर्छ । तैलिय छालाको लागि वाटरयुक्त तथा सुख्खा छालाको लागि क्रिमयुक्त फाउन्डेशन उपयुक्त हुन्छ ।

भ्रम :  रातो रंगको लिपस्टिक सबै महिलालाई सुहाउँदैन ।

तथ्य : रातो लिपस्टिक सबै उमेरका महिलाहरुले प्रयोग गर्न सक्छन् । रातो आफैंमा एउटा आकर्षक रंग हो, जसका विभिन्न टोनहरु हुने गर्दछन् । अरेञ्ज रेड र चेरी रेड वार्म टोन हो, यो गोरो तथा मध्यम छाला भएका महिलाहरुलाई सुहाउँछ । गाढा रातो, मरुन रेडलाई कूल टोन भनिन्छ, यो गहुँ गोरो छाला भएका महिलाहरुलाई सुहाउँछ ।

उपाय : आफ्नो छालाको रंग अनुसारको रातो रंगको लिपस्टिक छनोट गर्नु पर्छ ।

भ्रम : आँखाको रंग जस्तै आईश्याडो लगाउन मिल्दैन ।

तथ्य : मेकअपका लागि सही अथवा गलत भन्ने नियम नै हुँदैन । तपाईंलाई जुन रंग लगाउँदा सुहाउँछ, त्यही लगाउनु पर्छ । आँखासंग मेल खाने आईश्याडो तपाईंलाई अझ बढि सुहाउन सक्छ, तर तपाईंले फरक रंगको आइश्याडो लगाउनु भयो भने तपाईं केही अलग चाहिं पक्कै देखिनु हुनेछ ।

उपाय : जुन आइश्याडोले तपाईंको समग्र लूक्सलाई आकर्षक बनाउँछ, त्यही आइश्याडो नै प्रयोग गर्नु पर्छ ।

भ्रम : सधैं एउटै ब्राण्डको सौन्दर्य प्रशाधन प्रयोग गर्नु पर्छ ।

तथ्य : एउटै ब्रान्डको सौन्दर्य प्रशाधन सधैं प्रयोग गर्नु पर्छ भन्ने छैन । आफ्नो छालाको आवश्यकता अनुसार ब्राण्ड परिवर्तन गर्दा फरक पर्दैन ।

उपाय : आफ्नो छालाको प्रकृति र आवश्यकतालाई ध्यानमा राखेर कुनै पनि राम्रो ब्रान्डको सौन्दर्य प्रशाधन प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment