+
+
Shares

लकडाउन उल्लंघन भएपछि चित्लाङमा सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २३ गते १३:३५

२३ चैत, वीरगञ्ज । लकडाउनमा पनि मकवानपुरको थाहा नगरपालिका-९ चित्लाङमा मानिसहरुको आवतजावत् नरोकिएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

कोरोनाको जोखिम न्यूनीकरणका लागि लकडाउन कार्यान्वयन गर्न स्थानीयले थानकोट-चित्लाङ सडकखण्ड (गणेशमान सिंह मार्ग)मा सवारी साधनलाई अवरुद्ध गरेका हुन् ।

पर्यटकीय क्षेत्र चित्लाङमा लकडाउन उल्लंघन गरी बाहिरबाट आउने क्रम जारी भएपछि माथिल्लो पौवास्थित प्रहरी चौकीमा सरोकारवालाको बैठकसमेत बसेको छ ।

वडाअध्यक्ष परशुराम श्रेष्ठको उपस्थितिमा बसेको बैठकले गाउँमा बाहिरबाट कुनै पनि मानिसलाई आउन नदिने निर्णय गरेको स्थानीय शिक्षक राजेन्द्र बलामीले बताए ।

रातको समयमा गाउँमा धेरै मानिसहरु भित्रिन थालेपछि आवतजावत् पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको गुर्जुधारा होमस्टेका सञ्चालक बुद्धरत्न माननन्धरले जानकारी दिए ।

‘गए राति मात्रै सय, डेढ सय मानिसहरु गाउँ आएका छन् । नचिनेका मानिससमेत आउने क्रम नरोकिएपछि बैठक बसेर आवतजावत् बन्द गर्ने निर्णयमा पुगेका हौं,’ मानन्धरले भने, ‘आग्रह गर्दा अटेरी गरेपछि बाटोमा अवरोध नै सिर्जना गर्ने निर्णयमा पुगेका छौं ।’

बिरामीको सट्टा अन्य मानिससमेत ओसार्न थालेको भन्दै स्थानीयले एम्बसुलेन्ससमेत आवतजावत गर्न नमिल्ने गरी जेसीबीले नै खनेर सडकखण्ड अवरुद्ध गर्ने तयारी गरेका छन् ।

लकडाउन अघि नै कोरोना भाइरस संक्रमणको जोखमलाई ध्यानमा राख्दै होम स्टे र रिसोर्ट सञ्चालकहरुले पाहुनालाई नआउन आग्रह गरेको थियो । चित्लाङमा ११ वटा होम स्टे र ५ रिसोर्ट सञ्चालनमा छन् ।

तस्वीर :  राजेन्द्र बलामीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?