Comments Add Comment

चितवनमा सोमबारबाट कोरोना भाइरसको नमूना परीक्षण सुरु हुने

२३ चैत, चितवन । चितवनमा सोमबारदेखि कोरोना भाइरस (कोभिड–१९) को नमूना परीक्षण थालिने भएको छ । नमूना परीक्षणका लागि भरतपुरस्थित राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा ल्याब तयार पारिएको छ ।

ल्याब निर्माणको नेतृत्व गरिरहेका प्रयोगशाला निर्माण उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले आइतबारबाट नै परीक्षण थाल्ने योजना बनाए पनि काम नसकिएकाले सोमबार मात्रै नमूना लिएर परीक्षण सुरु गरिने बताए । ल्याबबाट दैनिक नौसय नमूना परीक्षण गर्न सकिन्छ ।

‘सेटअप, प्राविधिक परीक्षण, जनशक्तिको तालिम जस्ता विषयले गर्दा केही ढिला भयो,’ संयोजक शर्माले भने, ‘सोमबार चितवनकै कोराना अस्पतालबाट स्वाब नमूना लिएर परीक्षण गर्छौं ।’

ल्याबका लागि चाहिने सबैजसो उपकरणहरु आइसकेको छ । प्रयोगशालामा कृषि तथा वन विज्ञान विश्वविद्यालयको ल्याबमा रहेको आरटी पिसिआर मेसिन ल्याइएको छ । एउटा यस्तै मेसिन राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा समेत छ । धेरैजसो सामग्रीहरु चितवनमै जुटाइएको छ । किटलगायत अन्य सामग्रीहरु भने स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ । काठमाडौंबाट वायोसेफ्टी क्याविनेट (बीएसएल–२) ल्याइसकिएको छ । ल्याबलाई स्यानिटाइज गर्ने र क्वालिटी कन्ट्रोलको पाटोलाई विषेश ध्यान दिइने डा. शर्माले बताए ।

प्रयोगशालामा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मदन पाण्डे र चितवन मेडिकल कलेजका ब्रजेश झाको नेतृत्वले प्रयोगशाला सम्हाल्ने छ । यो ल्याब भरतपुर अस्पतालको स्वामित्वमा रहने छ ।

ल्याबलाई तीन सिफ्टमा चलाउने भन्दैं २१ जना प्राविधिकहरुको पुल बनाउने काम भैरहेको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट दुई, क्यान्सर अस्पतालबाट पाँच, भरतपुर अस्पतालबाट दुई, चितवन मेडिकल कलेजबाट पाँच र पुरानो मेडिकल कलेज भरतपुरबाट चार जना प्राविधिकहरु अहिले खटिएका छन् । केही नयाँ प्राविधिकहरुलाई समेत तालिम दिएर चौविसै घण्टा चलाउने योजना रहेको संयोजक डा. शर्माले अनलाइनखबरलाई बताए ।

अहिले तत्काल पाँच–पाँच जना प्राविधिक राखेर दुई सिफ्ट चलाउने योजना छ । काठमाडौंबाट आएका दुई जना प्राविधिकहरुकै रोहबरमा नमुना परीक्षणका कामहरु गरिने डा. शर्माले जानकारी दिए ।

भरतपुरमै प्रयोगशाला सञ्चालन भएपछि अब गाडीमार्फत् दिनहुँ नमूना काठमाडौं पठाउनुपर्ने बाध्यता हट्ने छ ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले अहिलेको संक्रमणकालमा राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु गरिए पनि केही महिनापछि भरतपुर अस्पताल परिसरमा स्थानान्तरण गरिने जानकारी दिइन् । दाहालले प्रयोगशाला निर्माणपश्चात चितवनको नमुना परीक्षण रिपोर्ट छिटो आउने भएकाले उपचार थप सहज हुने बताइन् ।

महानगरकै पहलमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल समेत सञ्चालनमा ल्याएको छ । सो अस्पताल, भरतपुर अस्पताल र निजी मेडिकल कलेजबाट दिनहुँजसो कोरोनाको आशंकामा बिरामीको नमूना काठमाडौंको टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइँदै आएको छ ।

सरकारले चितवनसहित बुटवलमा पनि कोरोना भाइरस (कोभिड १९) को परीक्षण गर्ने तयारी गरेको छ । यसअघि नै सरकारले राजधानी काठमाडौं बाहेक जनकपुर, धरान, हेटौँडा, पोखरा, धनगढी र सुर्खेतमा परीक्षण सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment