+
+

महामारी, क्वारेन्टाइन र वर्ण व्यवस्था

मेखराज उदय मेखराज उदय
२०७६ चैत २३ गते १७:५७

कोरोना भाइरस (कोभिड-१९) ले विश्वका सम्भ्रान्त र शक्ति राष्ट्रहरुमा समेत भयावह रुपमा मानिसहरुको संक्रमण र मृत्यु, अर्थतन्त्रमा ठूलो नोक्सानी तथा जनजीवनमा परेका असहजता र त्रासदीको अनपेक्षित दुरावस्थाको सिर्जर्ना गरिदिएको छ ।

संक्रमित भेटिए तापनि संक्रमणका कारणले मृत्यु नभएका नेपाल जस्ता राष्ट्रहरुमा समेत कोरोनाको त्रासदी कम छैन । कोरोना भाइरसमाथि पूर्ण विजय प्राप्त गरेपछि पनि महामारीका कारण धर्मराउन पुगेको/पुग्ने विश्व अर्थतन्त्र पुनर्स्थापित कसरी होला ?
त्यति मात्रै होइन, मन मष्तिस्कमा फैलिएको मानसिक त्रास र अनायासै आफन्त गुमाइएका कारण दिलमा परेका चोटबाट बाहिर निस्किन पर्याप्त समय लाग्नेछ । भनिन्छ, अहिले मानिसहरु पहिलो र दोस्रो विश्वयुद्धको समयभन्दा बढी त्रासदी भोगिरहेका छन् ।

विश्वभर नै विकास निर्माण तथा सेवा प्रदायक श्रम बजार ठप्प या बन्द प्रायः छन् । उत्पादन, सेवा, व्यवसाय, उद्योग, कलकारखाना, मनोरञ्जन, पर्यटन, यातायात, होटल र श्रम तथा रोजगार प्रदायक कम्पनी आदि क्षेत्र बन्द हुँदा आम मानिसमा जीविकोपार्जनको संकट आइपरेको छ ।

हुनेखानेभन्दा पनि हँुदाखाने र दिनभरी मजदुरी गरी साँझ-बिहानको छाक टार्ने श्रमिक र मजदुर वर्गका निम्ति यो समय अत्यन्तै कष्टकर बनेको छ । कोरोनाले बचाए पनि भोकमरीले बाँकी नराख्ने हो कि भन्ने चिन्ता विश्वभरीकै मजदुर वर्गमा थपिन पुगेको छ । त्यसै माथि वस्तुको कृत्रिम अभाव, कालोबजारी, उच्च मूल्य वृद्धि र ठगीको मार समेत यसै वर्गमाथि प्रत्यक्ष/परोक्ष पर्ने गर्छ/परिरहेकै छ । विश्व नै कोरोना भाइरसबाट प्रभावित र भयभीत बन्न पुगेको छ ।

कोरोना भाइरस र विभेद

कोरोना भाइरसको संक्रमणबाट बच्न विश्वका धनाढ्य, कथित उच्च जाति र शासक जातिका व्यक्तिहरु पनि ‘क्वारेन्टाइन’मा बस्न बाध्य भएका छन् । क्वारेन्टाइनमा बस्नु भनेको कसैसँग शारीरिक सम्पर्कमा नआउने मात्रै होइन, समाज, परिवारबाट बेग्लै र एक्लै बस्नु हो । भनिएकै छ- ‘संक्रमणबाट बच्न सामाजिक दुरी कायम राखौं ।’ विषय र सन्दर्भले अन्य अर्थ नलागेमा मानिसहरु यति बेला वास्तविक अछुतको अस्थायी व्यवहार भोग्दै छन् ।

हजारौं वर्ष अघिदेखि क्वारेन्टाइन अर्थात् अछुत जीवन बाँचेका दलित समुदायले कस्तो अमानवीय एवं कष्टकर जिन्दगी बाँचे होलान् ? के ब्राहृमणवादी सोच र व्यवहार भएका कथित उच्च जातिका व्यक्तिहरुलाई कोरोना भाइरसले त्यसको तीतो यथार्थ महसुस गराउला ?

कटाक्ष मात्रै किन, समाधान पनि छ !

विश्व कोरोना भाइरसको संक्रमणका कारण सन्त्रस्त छ । भाइरसले जाति, धर्म, देश, समाज, समुदाय, वर्ग, क्षेत्र, लिङ्ग आदि चिन्दैन । जसबाट जसलाई पनि भाइरस सर्न र संक्रमण हुन सक्छ । संक्रमणले ज्यान समेत लिनसक्ने एवं विश्वभर महामारीको रुप लिइसकेको घटना अवस्था सामान्य होइन । यस्तो संकट र भयंकर त्रासदीको घडीमा समेत अतिवादी धर्मभिरुहरुले आफ्नो कुटिल स्वार्थ सिद्ध गर्नबाट पछि हटेनन् ।

भारतमै अति हिन्दुवादी अन्धविश्वासीहरुले कोरोनाबाट बाँच्न सर्वसाधारणलाई गौमुत्र सेवन गराउने, झारफुक र यज्ञ-महायज्ञ, पूजापाठ गराउने र पुरोहित्याईँ गरी ठग्ने काम निर्लज्जपूर्वक गरे । ईसाई धर्म या जिजसका नाममा फुकफाक, प्रार्थना गरी अनुयायी बढाउने र भ्रमको खेती गर्ने जस्तो घृणित काम पनि गरेको देखियो । जुन कामको वैज्ञानिक र भरपर्दाे आधार नै छैन, त्यही काम एक्काइसौ‌ं शताब्दीमा समेत धर्मको आडमा किन गरिरहेका छन्, मुर्खहरु ?

कोरोना भाइरसको त्रासदी, प्रभाव र असर अस्थायी हो । कोरोना भाइरसको संक्रमण भएका बिरामी स्वास्थ्य उपचार पश्चात् सञ्चो हुन्छ, क्वारेन्टाइन मुक्त हुन्छ । शुद्र (दलित) समुदाय वर्णाश्रम या वर्ण-व्यवस्थाको भाइरसबाट एक पटक संक्रमित भइसकेपछि सधैँ संक्रमित नै रहिरहन्छन् ।

त्यति मात्रै कहाँ हो र, उसका सन्तान, दर-सन्तान, पुस्तौं-पुस्ता संक्रमित अर्थात् दलित नै रहन्छन् । त्यो र त्यस्तो अवस्था कहिलेसम्म रहन्छ ? यस प्रश्नको कुनै जवाफ नै छैन । संक्रमण रहित या दलितबाट मुक्त हुने कुनै औषधि उपचार, विधि, विधान, नियम र प्रक्रिया नै छैन । संक्रमित (दलित) ले जीवनभरी र उसका वंशजले समेत सधैँभरी अछुत (क्वारेन्टाइन) मै जीवन बाँच्नु र मर्नुपर्छ । यो कस्तो व्यवस्था हो ?

कतिपयले मुक्तिको सपना पनि देख्ने गर्दछन्, कहिलेकाहीँ । आखिर सपना जति नै सुन्दर र मनमोहक भएपनि सपनामै घरजम गर्न त मिल्दैन । बिपना भने कहाली लाग्दो, कुरुप, विभत्स, उराठ, जटिल र कठिन छ ।

यस्तो अमानवीय, सामाजिक अपराधको अन्त्य गर्न के आवश्यक छैन ? यदि छ भने उत्पीडित समुदायका कतिपय अगुवाहरु नै किन दलाली गरिरहेका छन् ? कोरोना भाइरसकाविरुद्ध सबै राष्ट्र, सबै धर्म, सबै समुदाय, सबै वर्ग, सबै क्षेत्र लागेका छन् । यो महामारीको संकटबाट विश्वले छिट्टै उन्मुक्ति पाउने आशा गर्न सकिन्छ । त्यसको प्रमुख कारण र आधार विश्वका शासक, वैज्ञानिकहरु, चिकित्सा क्षेत्र एकताबद्ध भएर रोगकोविरुद्ध लड्नु नै हो ।

हजारौं वर्ष अघिदेखि मानव सभ्यतामाथि नै चुनौती बनेको वर्ण-व्यवस्था भाइरसकोविरुद्ध लड्न सके त्यस्तो संक्रमणबाट मुक्त हुन अवश्य सकिन्थ्यो । तर, के त्यस्तो अवस्था र एकताको सम्भावना छ ? यस प्रश्नको जवाफ हो-निश्चित रुपमा छैन । किनभने कोरोनाले शासक वर्ग, उच्च वर्ग, ठालु र सबैलाई संक्रमित गराउने हुँदा त्यस भाइरसकोविरुद्ध सबै एक भएर सामना गरेका छन् ।

तर, वर्ण-व्यवस्थाको भाइरसले दलित, उत्पीडित, निमुखा, कमजोर समुदाय र वर्गलाई मात्रै संक्रमित गर्ने हुँदा त्यसबाट मुक्ति सबैको आवश्यकता र चाहना नै होइन । उत्पीडित समुदायको मुक्तिका लागि शासक वर्गले किन संघर्ष गरिदिऊन् ? अझ यस भाइरसको कारक नै आफैँ रहेको अवस्थामा ? यो निकै गम्भीर तर सरल सवाल हो । जसको जवाफ भने अक्सर जटिल बनाउने गरिएको छ ।

अब के वर्ण-व्यवस्था भाइरसको कुनै औषधि नै छैन त ? यो महत्वपूर्ण प्रश्न हो । यसैभित्र समाधान पनि छ भन्ने प्रसंग जोडिन्छ । शासक, उच्च र ब्राहृमणवादी, वर्ण र वर्ग भेदीहरुको ऐक्यवद्धता र सहयोग नरहे तापनि उत्पीडित समुदाय, वर्गको एकता जरुरी छ ।

मुक्तिका लागि वर्ण-व्यवस्था, रंगभेद, लिंग भेद, वर्गीय विभेदमा पारिएका समुदायको संयुक्त मुक्ति संघर्षको बाटो तयार गर्न ढिला नगरौं । कोरोना भाइरसको संक्रमणबाट त विश्वले अब छिट्टै मुक्ति पाउला । तथापि हजारौं वर्ष अघिदेखि अन्त्यहीन बनेको संक्रमणबाट मुक्त हुने संकल्प गरौं । यस कार्यमा सचेत सवर्णको सकारात्मक सहयोगको भने आशा राख्न सकिन्छ ।

लेखकको बारेमा
मेखराज उदय

राजनीतिक विश्लेषक मेखराज परियार गोरखाका वामपन्थी युवा हुन् । पूर्वमाओवादीका तत्कालीन पोलिटब्युरो रहेका उनी हाल कुनै पनि दलमा आवद्ध छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?