Comments Add Comment

मुम्बईबाट फर्केकी बेनिशा: डरैडरमा बित्यो १४ दिने आइसोलेसन

अभिनेत्री बेनिशा हमाल चलचित्रसम्बन्धी अध्ययनका सिलसिलामा मुम्बईमा थिइन्। भारतमा कोरोनाको त्रास बढ्दै गएपछि उनी गत १८ मार्चमा नेपाल फर्किइन् ।

मुम्बईमा बस्दा बेनिशालाई कोरोनाको निकै भय थियो । नेपालमा एक जनामा मात्रै संक्रमण देखिएकाले उनले घर फर्किनु नै उत्तम सम्झिइन् । त्यसमाथि उनको कलेज पनि बन्द भइसकेको थियो ।

डरैडरकाबीच विमान चढेर नेपाल फर्किएको बेनिशा बताउँछिन् । फर्केपछि १४ दिनसम्म सेल्फ क्वारेन्टाइनमा बसिन् । ‘१४ दिन बिताउन निकै सकस भयो, ख्वाक्क खोकी लाग्यो भने पनि सातो जान्थ्यो,’ उनी भन्छिन् ।

अहिले उनको सेल्फ क्वारेन्टाइन अवधि पूरा भएको छ । डर पनि कम भएको छ । यद्यपि, सिङ्गै देश लकडाउन भएकाले घरबाहिर निस्कने कुरा आएन।

अहिले बेनिशा चलचित्र र पुस्तकसँग आफ्ना दिनहरु बिताइरहेकी छिन् । बेनिशा भन्छिन्, ‘अहिले म एकदमै धेरै सिरिजहरु हेरिरहेको छु। चलचित्र पनि हेरिरहेको छु।

पुस्तक पनि पढिरहेको छु।’ चलचित्र र सिरिजमा उनले सस्पेन्स-थ्रिलर जनरा रोजेकी छिन् भने पुस्तक ‘मोटिभेसनल’ ।

बेनिशालाई खासै घर बाहिर निस्किने बानी छैन । पहिले पनि उनी फुर्सदको समय घरमा नै बिताउने गर्थिन् । त्यसैले पनि उनलाई घरमा बस्न गाह्रो लागेको छैन । तर, विकल्प नै नहुँदा भने दिक्दारी थपिएको छ ।

उनी भन्छिन्, ‘पहिला हामीसँग समय होस् भन्ने लाग्थ्यो । अहिले समय छ । तर, यो समयमा पनि के गर्ने भन्ने अन्योल हुँदो रहेछ । थुनिएर बस्नुको विकल्प नहुँदा दिक्क लाग्दो रहेछ ।’

सामाजिक सञ्जालमा पनि उति सक्रिय छैनन्, बेनिशा । सामाजिक सञ्जालले समय बर्बाद गरिदिने बुझेर चलाउनै छोडेको उनी बताउँछिन् ।

बेनिशाले आफैँसँग एउटा प्रण गरेकी छिन्, ‘क्वारेन्टाइन अवधिभरि सामाजिक सञ्जालमा कुनै कुरा पोष्ट नगर्ने ।’ घरमा बसिरहँदा बेनिशा भान्सामा पनि प्रशस्त समय दिन्छिन् । युट्युब हेरेर विभिन्न परिकारहरु बनाउने प्रयास गर्छिन् ।

बेनिशा भन्छिन्, ‘म आफूलाई मन परेको खानेकुराहरु युट्युबमा हेरेर अभ्यास गर्छु । केही मीठो भयो, तर केही पकाउन जानिनँ ।’

बेनिशालाई आफ्नो शरीरको निकै चिन्ता छ । घर खाने, चलचित्र हेर्ने र सुत्ने मात्र हुँदा आफ्नो शरीर बिग्रिने हो कि भन्ने डर बढिरहेको छ । त्यसैले दैनिक एक्सरसाइज गरिरहेकी छिन् ।

बेनिशा भन्छिन्, ‘नेपाल आएको दिनदेखि नै मैले एक्सरसाइज गरिरहेको छु । बिहान उठेर ब्रेकफास्ट लिने बित्तिकै एक घण्टा पसिना बगाउँछु ।’

बेनिशा आफ्नो दर्शकलाई पनि शारीरिक अभ्यास गर्नको लागि सुझाउँछिन् । ‘अहिले त युट्युब हेर्‍यो भने हरेक कुरा पाइन्छ ।

जुम्बादेखि एक्सरसाइजको हरेक कुरा युट्युबमा भेटिन्छ,’ बेनिशा भन्छिन्, ‘त्यसैले आफूलाई फिट राख्नको लागि व्यायाम पनि गर्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment