Comments Add Comment

बेलायतले बुधबार र शुक्रबार आफ्ना नागरिक लैजाने

पर्यटन बोर्डको सुझाव- होटेलभित्रै बस्नुस्, हात धुनुस्

२५ चैत, काठमाडौं । लकडाउन सुरु भएयता करिब तीन हजार विदेशी नागरिक नेपालबाट स्वदेश फर्किएका छन् । तर, अझै सयौं पर्यटक नेपालमै छन् ।

काठमाडौं बाहिर रोकिएका पर्यटकलाई सरकारले उद्धार गरेर काठमाडौं ल्याउने काम रोकिएको छ । तर, कुनै दूतावासले आफ्ना नागरिकलाई फिर्ता लैजान चाहेमा भने बोर्डले स्थानीय प्रशासनको समन्वयमा काठमाडौं ल्याउने गरेको छ ।

यसैबीच बेलायतले नेपालबाट बुधबार पहिलो चार्टर्ड उडानमार्फत आफ्ना नागरिक फिर्ता लैजाने भएको छ ।

यसका लागि बेलायतले आफ्नै मुलुकको टीटान एयरवेजको जहाजबाट नागरिकलाई लैजाने गरेको छ ।

बेलायतले दोस्रो उडान भने शुक्रबार गर्ने तयारी गरेको छ ।

होटेलभित्रै बस्नुस्, हात धुनुस्

दूताबासहरुले उद्धार नगरी नेपालमै रहेका पर्यटकलाई जो जहाँ छन्, सोही स्थानमा बस्नुपर्ने गरी व्यवस्थापन गरिएको पर्यटन बोर्डले जनाएको छ । उनीहरुका लागि बोर्डले आपतकालीन अवस्थामा प्रयोग गर्ने हटलाइन नम्बर सार्वजनिक गर्दै होटेलभित्रै रहन सचेत गरेको छ ।

लकडाउन अवधिमा नेपालमा रहँदा पर्यटकले गर्न हुने र नहुने सूचि सार्वजनिक गर्दै बोर्डले होटेलभित्रै बसेर नियमित हात धुन भनेको छ ।

बोर्डले मनोरञ्ज, किनमेल घुमघाम र साथिभाई भेटघाटका सबै गतिविधि रोक्न पर्यटकलाई सचेत गराएको छ । आपतकालीन अवस्थामा अस्पताल तथा मेडिकल जानु परेमा मात्र होटेलको अनुमतिमा होटेल भन्दा बाहिर निस्कन पर्यटकलाई सचेत गराएको छ ।

बसिरहेको स्थानमा होटेलका कर्मचारी, आगन्तुक तथा साथिभाईसँग कम्तिमा १ मिटरको दूरी कायम राख्न समेत बोर्डले आग्रह गरेको छ ।

मास्क लगाइराख्न, नियमित हात धुन र सरसफाईमा विशेष ध्यान दिनसमेत बोर्डले सचेत गराएको छ । आफ्नो स्वास्थ्यमा सचेत रहँदै कोरोना भाइरससँग लक्षण मिल्ने गरी स्वास्थ्य समस्या आएका तोकिएका स्वास्थ्य केन्द्रमा तुरुन्त सम्पर्क राख्न भनिएको छ ।

बोर्डले लकडाउन अवधिमा पर्यटकको सुविधाका लागि तयार पारेको वेवपोर्टलबाट नजिकका रेष्टुराँबाट खानालगायत आवश्यक वस्तु मगाउन समेत सकिने व्यवस्था गरिएको छ ।

सोही पोर्टलबाट होटेलहरुले दिन सक्ने सुविधा तथा कोठाको बारेमा जानकारी लिन सकिने भएको छ । पोर्टलमा नजिकको अस्पताल, कोरोना विशेष अस्पताल तथा आवश्यक मेडिकल सहायताका लागि आवश्यक जानकारी पर्यटकका लागि उपलब्ध गराइएको छ ।

भिसासँग आवश्यक जानकारीका लागि अध्यागमन विभागमा सम्पर्क राख्न तथा आफ्नो मुलुकको दूतावाससँग नियमित सम्पर्कमा रहन समेत बोर्डले आग्रह गरेको छ ।

सरकारले लकडाउनको अवधि ३ वैशाखसम्म बढाएको छ । त्यस अवधिसम्म राष्ट्रिय-अन्तराष्ट्रिय उडान समेत ठप्प छ ।

यसअवस्थामा आफ्नो देशले चार्टर्ड उडान गर्न नसकेका पर्यटक नेपालमै रोकिएका छन् ।

उनीहरुको भिसा यस अवधिमा सकिएमा निःशुल्क भिसा अवधि थप गरिदिने निर्णय सरकारले गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment