Comments Add Comment

विदेशमा रहेका ८० लाख नेपालीबारे सरकार के सोच्दैछ ?

विदेशमा रहेका नेपालीलाई परदेशजस्तै बन्यो आफ्नै मातृभूमि

२५ चैत, काठमाडौं । नेपालमा रहेका २६४ अष्ट्रेलियन नागरिकलाई लिएर चैत १९ गते नेपाल एयरलाइन्स अष्ट्रेलियाको ब्रिसबेन पुग्यो । त्यतिबेला अस्ट्रेलियामा अध्ययनरत केही नेपाली विद्यार्थीका अभिभावकले नेपाल एयरलाइन्सको कार्यालयमा फोन गरेर सोधेका थिए, ‘रित्तै फर्किने विमानमा हाम्रा छोराछोरी फिर्ता ल्याउन मिल्दैन ? हामी उनीहरुलाई क्वारेन्टाइनमा राख्न तयार छौं ।’

यसैबाट थाहा हुन्छ, विदेशमा रहेका नेपालीहरुको अहिले नेपाल आउने इच्छा र छटपटाहट ।

विभिन्न देशले नेपालबाट आफ्ना २ हजारभन्दा बढी नागरिकलाई उद्धार गरेर लगिसके । तर, त्यही उद्धारमा संलग्न नेपाल एयरलाइन्सको विमान विदेशीहरुलाई उनीहरुको देशसम्म पुर्‍याएर रित्तै फर्किँदैछ ।

ती देशमा अलपत्र नेपालीहरु कहिले आफ्ना लागि स्वदेशको ढोका खुल्ला भन्ने प्रतिक्षामा छन् ।

नेपालमा मात्रै हैन, विश्वभर कोरोना (कोभिड-१९) को संक्रमण फैलिँदो छ । नेपालमा पनि केरोनाविरुद्धको लडाइँ जारी छ । हर्ष र संकटका समयमा परिवारसँगै रहने नेपाली संस्कारमाथि यसपटक कोरोना भाइरस चुनौती बनेर पेश भएको छ ।

विदेशमा रहेका नेपालीहरु स्वदेश फर्किने सबै बाटाहरु बन्द छन् । सरकारले नै विदेशका रहेका नेपालीलाई आफू रहेकै स्थानमा सुरक्षित रहन भनेको छ ।

तर, धेरै नेपालीहरु अहिले स्वदेश फर्किन चाहन्छन् । उनीहरु यो समयमा आफ्नो देशले उद्धार गरेर नेपालमै ‘क्वारेन्टाइन’मा राखोस् भन्ने चाहन्छन् । आफू बसेको मुलुकमा कोरोना फैलिँदै गर्दा नेपाल पुग्न पाए सुरक्षित भइन्थ्यो कि भन्ने आशामा छन् उनीहरु ।

तर, सरकारले ठूलो संख्यामा रहेका प्रवासी नेपालीलाई उद्धार गरेर  स्वदेश ल्याउन र नेपालमै क्वारेन्टाइनमा राख्न तत्काल सम्भव नभएको स्पष्ट पारेको छ ।

कतिपय देशहरुले व्यपार, उद्योग धन्दा जोगाउन आप्रवासी नागरिकलाई अप्ठेरो सिर्जना गर्ने नीति ल्याइरहेका छन् । अष्ट्रेलिया युएई लगायतका मुलुकले आप्रवासी कामदारहरुलाई बेतलवी विदा दिन र घर र्फक भन्ने सकिने नीति दिन थालेका छन् ।

यसले गर्दा त्यहाँ जोखिमयुक्त अवस्थामा विदेशमा बस्दा समेत तलव नपाइने र त्यसले गर्दा विदेशिन काढेको ऋण तिर्न नसकिने समस्या भेग्नुपर्ने डर कामदारहरुमा छ ।

कतिपय देशले आफ्ना नागरिकलाई घरभित्रै रहन भने पनि विदेशका कामदारलाई जोखिममै राखेर काममा लगाइरहेका छन् । यसले गर्दा धेरै कामदार तुरुन्तै घर फर्किएर बस्न चाहिरहेका छन् । तर, तत्काल स्वदेश फर्काउने सक्ने अवस्थामा नेपाल सरकार छैन । यसले गर्दा विदेशमा रहेका नेपालीहरु तनावमा छन् ।

खाडी मुलुकमा रहेका कतिपय कामदारहरु भिसा सकिएर अवैध हैसियतमा पुगेका छन् । त्यहाँका सरकारहरुले भिसा अवधि लम्ब्याउने बाटो खोले पनि यस्तो डरमर्दो अवस्थामा विदेशमा बसिरहन उनीहरुको मनले मानेको छैन ।

बहराइनमा रहेका चितवनका प्रेम घिमिरे चैतको अन्तिम साता नेपाल आइपुग्नुपर्ने हो । विदा मिलाएर टिकट काटिसकेका उनी हवाई प्रतिवन्धका कारण नेपाल आउन सकेनन् । पत्थरी लगायतका स्वास्थ्य सम्बन्धी विभिन्न समस्याले सताइरहेका उनलाई जतिसक्दो छिटो नेपाल आउन मन छ ।

‘नाकामै रहेका नेपाली त घर आउन पाएनन् भन्ने खबर सुनियो,’ बहराइनबाट म्यासेन्जरमा घिमिरे रिसाउँदै भन्छन्, ‘हामी विदेशमा पसिना बगाएर परिवार पाल्ने गरिबहरुका लागि कहिले पो राज्य थियो र अहिले धेरै गुनासो पोखौं । मनलाग्दी गरोस् ।’

नेपालमा बेरोजार भएपछि कामका लागि विदेशिने धेरैको पीडा अहिले यस्तै छ ।

४१ लाख नेपालीको भविश्य जोखिममा

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहाल भारत बाहेकका मुलुकमा ४१ लाख नेपालीहरु वैधानिकरुपमा काम गरिरहेको बताउँछन् ।

‘२०७२ सालदेखि राखिएको व्यवस्थित तथ्यांकलाई आधार मान्दा नेपालबाट दैनिक १५ सय देखि १८ सय युवा औसतरुपमा कामका लागि विदेशिने गरेका थिए । ती युवा आउने र जाने क्रम चलिरहने भएकाले करिब ४१ लाख युवा विदेशमै कार्यरत छन् भन्ने हाम्रो अनुमान हो,’ उनले भने ।

नेपालबाट मुख्यतः साउदी, कतार, मलेसिया, युएई, बहराइन, कुवेत, ओमान, कोरिया, जापान, साइप्रस लगायतका मुलुकमा कामका लागि जानेको संख्या धेरै छ । अन्य भिसामा युरोप पुगेर कामदारकै रुपमा कार्यरत नेपालीहरु पनि प्रशस्तै छन् । विभिन्न व्यवसायिक पेशामा कामका लागि युरोप र अमेरिकामा पुग्ने नेपाली पनि प्रशस्त छन् ।

देशमा रेमिट्यान्स पठाएर अर्थतन्त्रको मूल खम्बा बनेका यी परिश्रमी युवा अहिले विदेशमा ‘पिँजडाको सुगा’ बन्न पुगेका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनएले करिब ८० लाख नेपालीहरु विश्वभर छरिएर रहेको दाबी गर्दै आएको छ । भारतमा रोजगारी र अध्ययन गर्न जाने बाहेकलाई छाड्दा त्यस्तो संख्या ७५ लाखभन्दा बढी रहेको अनुमान गरिन्छ ।

अहिले भारतसँगको नाका पनि बन्द छ । त्यसैले करिब ८० लाख नेपालीका लागि नेपाल आउने बाटो बन्द छ । अहिले कोरोनाको त्रास स्वदेशमा रहनेलाई भन्दा बढी विदेशमा रहने माझ बढी फैलिएको छ ।

विद्यार्थीको पनि उही व्यथा

पढ्न र उपलब्ध समयमा दुःख गरेर कमाउने उद्देश्यले विदेशिएका नेपाली विद्यार्थीहरुको पनि व्यथा फरक छैन । कलेजमा शुल्क तिर्न पार्टटाइम काम गरिरहेकाहरु अहिले सबै व्यापार व्यवसाय ठप्प भएपछि कोठाभित्रै थुनिएका छन् ।

सम्बन्धित देशले विदेशी विद्यार्थीप्रति कस्तो व्यवहार देखाउँछ भन्नेमा उनीहरुको भविश्य निर्भर हुने अवस्था छ । जापान, अष्ट्रेलिया, भारत, अमेरिका, बेलायत लगायतका देशमा अध्ययनका लागि जानेको संख्या ठूलो छ ।

उनीहरुलाई पनि कसरी कलेजको शुल्क जुटाउने र विदेश जाँदा लिएको ऋण तिर्ने भन्ने तनाव छ । कतिपय विद्यार्थीले त अब घरबाटै खर्च माग्न थालिसकेका छन् । अष्ट्रेलियाली सरकारले ६ महिनाको खर्च जुटाउन नसक्ने अवस्थामा अस्थायी भिसाबाहक विदेशीलाई घर फर्किन सुझाएपछि त झन त्यहाँका विद्यार्थीको पीर थपिएको छ ।

अष्ट्रेलियाजस्तै अन्य देशमा पुगेका विद्यार्थीहरु पनि यस्तै अन्योलमा फसेका छन् । पठन-पाठन ठप्प भएकाले मात्र हैन, घरमा बस्दा खर्च जुटाउन नसकिने पिरलो पनि उनीहरुको छ ।

सरकारले यस्ता विद्यार्थीलाई थप निर्वाह खर्च पठाउन नेपालमा विदेशी मुद्रा सटही तथा ट्रान्सफर सुविधा त दिएको छ । तर, त्यस्तो रकमको सीमाले गर्दा उनीहरुलाई खर्च व्यवस्थापन गर्न समस्या भएको छ ।

नेपाली विद्यार्थीहरु विश्वका करिब ७० देशमा पुगेका छन् । शिक्षा मन्त्रालयको तथ्यांकलाई आधार मान्दा वैदेशिक अध्ययनमा जाने विद्यार्थीको संख्या ५ लाखभन्दा बढी छ ।

सरकारले अहिले विदेशमा रहेका उनीहरुलाई फिर्ता ल्याउन नसकिने निश्कर्ष निकालेको छ । यसले गर्दा चीनको वुहानबाट विद्यार्थीलाई उद्धार गरेजस्तै राज्यले अभिभाकत्व प्रदान गर्न सक्ने अवस्था तत्काल देखिँदैन ।

पीआर र ग्रीनकार्डवाला पनि मातृभूमि फर्कन चाहन्छन्

विद्यार्थीबाहेक आफ्नै उद्यम, व्यवसाय गर्न विदेश पुग्ने र उतैको नागरिकता लिएर स्थायी बसोबास गर्ने नेपालीहरु पनि यतिबेला मातृभूमिलाई सम्झिरहेका छन् ।

विदेशमा साना व्यवसाय गरिरहेकाहरुको सबै कारोबार चौपट हुने अवस्था आएपछि कतिपयले पुख्र्यौली घर फर्किने योजना बनाउन सुरु गरेका छन् । परिवारका सदस्यको अस्थायी बसोबास कार्डका आधारमा विदेशमा पुगेका परिवार पनि आफ्नै घर फर्किने सोचमा छन् ।  तर, उनीहरु तत्काल नेपाल आउने बाटो बन्द छ ।

सरकारको नीति

सरकारले विदेशमा रहेका नेपालीहरुको अवस्थाप्रति सरकार सम्वेदनशील रहेको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनका प्रधानमन्त्री र युएईका युवराजलाई टेलिफोन गरेर त्यहाँ रहेका नेपालीका सन्दर्भमा कुरा गरेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका दूताबासमार्फत नेपालीहरुको अवस्थाबारे बुझ्ने काम गरिरहेको प्रधानमन्त्रीले मंगलबारको सम्वोधनमा बताएका छन् । तर, अहिलेको जटिल अवस्थामा जो जहाँ छौं, त्यहीँ रहनुपर्ने प्रधानमन्त्रीले स्पष्ट पारेका छन् ।

प्रवासमा रहेका नेपालीबारे सरकारले के सोचिरहेको छ ? प्रधानमन्त्रीको सम्वोधनको अंश यस्तो छ-

विश्वव्यापीरुपमा सङ्क्रमण फैलिँदै जाँदा विदेशमा रहनुभएका कतिपय नेपालीहरुमा पनि सङ्क्रमण देखा परेको छ । केहीको दुःखद निधनसमेत भएको छ । लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरु आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर, रोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ ।

सङ्कटको यस घडीमा हाम्रो सहानुभूति, साथ र सद्भाव उहाँहरुप्रति छ । हाम्रा दूतावास र मिसनहरु प्रवासी र गैरआवासीय नेपालीहरुका समस्या समाधानमा क्रियाशील छन् । गैरआवासीय नेपाली सङ्घ लगायत सामुदायिक संस्थाहरुले पनि सक्दो सहयोग गरिरहेका छन् । विदेशमा रहेका नेपालीहरुको स्थितिका बारेमा सम्माननीय राष्ट्रपतिज्यू स्वयंले नेपाली दूतावासहरुमार्फत जानकारी लिइरहनुभएको छ ।

नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरुसँग मैले टेलिफोन संवाद सुरु गरेको छु । परराष्ट्र मन्त्रालयले निरन्तर आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ । मेरो आग्रह छ- सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ । सङ्कटका काला बादल अवश्य हटेर जानेछन् ।

विश्वव्यापी महामारीविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य र समन्वयको खाँचो छ । विश्वव्यापी सङ्कटको घडीमा आफ्नो सरहदभित्र रहेका स्वदेशी र विदेशी नागरिक सबैलाई सुरक्षा र संरक्षण गर्ने दायित्व सबै सरकारहरुको हो । नेपालले सीमित साधनस्रोतका बाबजुद नेपालमा रहेका विदेशी नागरिकहरुको सक्दो हेरचाह गरिरहेको छ ।

हाम्रो विश्वास छ- असहज घडीमा विदेशमा रहेका नेपाली समुदायले पनि सम्बन्धित सरकारहरुबाट माया र संरक्षण पाउनेछन् ।

नेपालमा लकडाउन सुरु भएपछि नेपाल-भारत सीमानजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले  भोग्नुपरेको अप्ठेरो र उहाँहरुको भावनालाई हामीले बुझेका छौँ । तर, सङ्क्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तर्राष्ट्रिय सीमामा आवत-जावत बन्द गर्नैपर्ने बाध्यता छ ।

भारत सरकारसँग समन्वय गरी सीमाको पारिपट्ट िरहनुभएका २ हजार १४७ नेपालीहरुलाई उतै क्वारेन्टाइनमा राखिएको छ । सीमाको वारिपट्ट िरहेका करिब ७००  भारतीय नागरिकहरुलाई हामीले क्वारेन्टाइनमा राखेका छौं ।

लकडाउनलाई प्रभावकारी बनाउन र सम्भावित संक्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले यो उचित उपाय अपनाएको हो भन्ने सबै देशबासीले महसुस गर्नु नै भएको छ । निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरुलाई देशभित्र भित्र्याइनेछ ।

(प्रधानमन्त्री ओलीले मंगलबार देशवासीका नाममा गरेको सम्वोधनको अंश)

यथास्थानमा बसेर योगदान गरौं : राष्ट्रपति

पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीले पनि विदेशमा रहेका नेपालीहरुप्रति चासो राख्दै आएकी छिन् । राष्ट्रपति भण्डारीले भावनामा नबग्न सबैसँग आग्रह गरेकी छिन् ।

चैत २१ गते राष्ट्रपति भण्डारीले टेलिभिजनमार्फत देशबासीका नाममा गरेको सम्वोधनमा भनिएको छ, ‘हामी कुनै भावनामा बगेर होइन, बरु यस रोगको गम्भीरतालाई मनन गर्दै रोगको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदमलाई साथ दिन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक आह्वान गर्दछु ।’

संसारभर छरिएर रहेका नेपालीहरुलाई सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले आफ्नो सम्वोधनमा सबैलाई यथास्थानमा रहेर कोरोनाविरोधी लडाइँमा योगदान पुर्‍याउन भनेकी छिन् ।

राष्ट्रपतिको सम्वोधनमा भनिएको छ, ‘नेपालीहरू जो जहाँ हुनुहुन्छ, यथास्थानमा रहेर कोरोना विरुद्धको लडाईँलाई सफल पार्न योगदान गर्नुहुनेछ भन्नेसमेत अपेक्षा लिएको छु ।’

सम्वोधनमा भनिएको छ, ‘यस विश्वव्यापी महामारीको समयमा संसारका विभिन्न मुलुकहरूमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूलाई आ-आˆनो ठाउँमा आवश्यक सकर्तकतासहित सुरक्षित रहन आह्वान गर्दछु ।

राष्ट्रपति भण्डारीले विदेशमा रहेका नेपालीलाई सहयोग पुर्‍याएको भन्दै मित्रराष्ट्रहरुलाई धन्यवादसमेत दिएकी छिन् । सम्वोधनमा भनिएको छ, ‘विभिन्न देशमा रहनुभएका नेपालीहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउन सम्बन्धित देशले देखाएको तत्परताका लागि म सबै मित्रराष्ट्रहरूप्रति आभार प्रकट गर्दछु ।’

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment