+
+
Shares

डिजिटल व्रत : संस्कार बनाऔँ

आजको युगमा हामी प्रविधि, इन्टरनेट तथा सामाजिक संजालबाट टाढा रहन सम्भब छैन । त्यसोभए डिजिटल व्रत शुरु गर्ने कि ? हाम्रो सामाजिक, प्राकृतिक र सांस्कृतिक वातावरणमा पनि रमाउन नि थाल्ने कि ?

ओमकुमार श्रेष्ठ ओमकुमार श्रेष्ठ
२०८२ कात्तिक १ गते ११:२०

श्रीमान् खाना खाइरहेको हुन्छ, श्रीमतीलाई हकार्दै भन्छ, ‘तिमीलाई कति भन्नु खाना पकाउने बेलामा मोबाइल नचलाउ, दाल अलिनो छ ।’ श्रीमती पनि झर्किन्छिन्, ‘तपाईँलाई कति भन्नु, खाना खानेबेलामा मोबाइल नचलाउनु, दाल भन्दै तपाईंले पानीसित खाना खाँदै हुनुहुन्छ !’

हामी केही साथीहरू घुम्न भनेर शहरदेखि टाढा प्रकृतिसँग रमाउन हिँड्यौं । सुन्दर हिमाल देखिन्थ्यो । झरना नजिकै थियो । साथीहरुले मोबाइल झिके । कोही फोटो खिच्न, कोही टिकटक बनाउन, कोही भिडियो खिच्न थाले । कसैले पनि दुई मिनेट नाङ्गो आँखाले न त हिमाल हे र्‍यो, न त झरनाको पानी । अरे ! खै त प्रकृतिको असली स्वाद ?

नाच्ने गाउने रमाइलो कार्यक्रम थियो । मानिसहरु कोही भिडियो खिच्दै थिए । कोही छेउमै बसेर फेसबुकमा रमाउँदै थिए । रमाउनु नै थियो त नाचे भइहाल्थ्यो । गाए वा थपडी बजाए भइहाल्थ्यो । भिडियो खिचेर के चाहिँ गर्ने हो र ? हामी कुन संसारमा रमाउन थाल्यौँ ?

आफन्तहरु चाडबाड मनाउन भेला भएका थिए । कोही कसैसित कुराकानी वा हाँसखेल गर्दैनथे । स्मार्टफोन स्क्रोल गर्न तल्लीन देखिन्थे । कता हरायो हाम्रो सामुहिक बसिँबियालो, भलाकुसारी ?

सानो बच्चाले मोबाइलमा कार्टुन नहेरी खाना खान सक्दैन । युवा युवतीहरू बाटो हिँड्दा, होटल छिर्दा, एक्लै बस्दा वा साथीसँग कुरा गर्दा मोबाइल हेर्दै घोप्टिएको मात्रै भेटिन्छन् । यात्रामा सँगैको सिटमा बसेकासित बोलचाल हुँदैन । सबैजना मोबाइलको स्क्रिन स्क्रोल गरिरहेका हुन्छन् । कि त फोन मै घन्टौँ वातचित् मारिरहेका हुन्छन् ।

बिहान उठ्यो शौच गर्दा मोबाइल, चिया पिउँदा मोवाइल, आराम गर्दा मोबाइल, निन्द्रा नलागे मोबाइल वा ल्यापटप । आज मानिसहरू पूरै डिजिटल दुनियाँमा छिरिसकेका छन् । वास्तविक र प्राकृतिक दुनियाँमा छैनन् । मानिसहरू जसरी खानापानी बिना बाँच्दैनन्, त्यसरी नै डिजिटल साधनबेगर बाँच्न नसक्ने भएका छन् ।

अब, के गर्ने त ? त्यसोभए डिजिटल व्रत बस्ने संस्कार थालनी गरौँ ।

के हो डिजिटल व्रत (उपवास) ?

जसरी निश्चित समय खाना नखाने कामलाई हामी उपवास वा व्रत भन्छौँ, त्यसरी नै निश्चित समयका लागि डिजिटल साधन स्मार्टफोन, कम्प्युटर, ल्यापटप वा ट्याब्लेट नचलाउने वा कम प्रयोग गर्नु डिजिटल व्रत (उपवास) हो । सामाजिक नेटवर्क, डिजिटल सामग्री वा प्रविधिहरुबाट आफूलाई अलग राख्नु डिजिटल व्रत हो ।

किन बस्ने डिजिटल व्रत ?

बेन्जामिन फ्य्राङ्कलिनले सबैभन्दा उत्तम औषधी भनेको ‘आराम र व्रत’ हो भनेका छन् । पूर्वीय दर्शनमा निराहार बस्दा पाचन प्रणाली सुधार, लोभ वासना नियन्त्रण, ध्यान, एकाग्रता, मानसिक शान्ति तथा आध्यात्मिक उन्नति हुने कुरा बताएको छ ।

यसरी नै डिजिटल व्रत बस्नाले मस्तिष्कको क्षयीकरण कम हुने कुरा अनुसन्धानकर्ताले सुझाएका छन् । मानसिक शान्ति र विश्रामका लागि डिजिटल व्रत जरुरी छ । यसले मोबाइलको पहूँचमा आफू नहुँदा उत्पन्न हुने डर र असहजता (जसलाई नोमोफोविया भनिन्छ) बाट दुर राख्ने र आफन्तहरुसँग उत्कृष्ट समय बिताउन मद्दत मिल्छ । इकिगाई पुस्तकका लेखक हेक्टर गार्सिया र फान्सेस्क मिरालेसले आफ्नो पुस्तकमा मानिसहरुले डिजिटल व्रत बस्दा आफ्नो काममा एकाग्रता हुनुको साथै मस्तिष्कको उत्पादन क्षमता बढाउने कुरा उल्लेख गरेको छ । यस व्रतले मानसिक, भावनात्मक र आध्यात्मिक पुन उर्जाकरण प्राप्त गर्न सघाउँछ । मेगन अस्टविक लेख्छन्⁃ आँखाको थकान कम गर्न, गहिरो निद्रा पर्न, चिन्ता कम गर्न र जीवनसित सन्तुस्टी लिन डिजिटल व्रत उपयोगी छ ।

खाना खाने समयमा अत्याधिक स्क्रिन प्रयोगले पाचन शक्ति कम हुने र भोजन तृप्तीको अनुभूति असन्तुलित हुने कुरा अनुसन्धानले दावी गरेको छ । विश्व स्वास्थ्य संगठनले २ वर्ष मुनिका बच्चालाई स्क्रिन समय सिफारिस गरेको छैन । थुप्रै अध्ययनहरुले अत्याधिक स्क्रिन वा सामाजिक संजाल प्रयोगले तनाव, डिप्रेसन, एक्लोपन तथा असन्तुष्टि बढाउँछ भन्ने निष्कर्ष निकालेका छन् । डिजिटल व्रत बस्नाले ‘फोमो’ कम हुने गर्दछ । फोमो भनेको अरुले केही पाउँदैछन् र आफूले केही कुरा गुमाइरहेको छु भन्ने डर वा चिन्ता हो जसले गर्दा मानिसहरु पटक पटक स्मार्टफोन स्क्रोल गरी रहन्छन् ताकि आफू अपडेट भइरहूँ ।

कसरी बस्ने डिजिटल व्रत ?

हेक्टर गार्सिया र फान्सेस्क मिरालेस लेख्छन्–‘हप्ताको एकदिन शनिबार वा आइतबार डिजिटल उपवास राख्नुहोस् । गीत सुन्नुहोस्, किताब पढ्नुहोस् । पैदल यात्रा वा पौडी खेल्न जानुहोस् ।’ जसरी निहारार व्रतलाई हामीले संस्कारसंग जोडेका छौँ, त्यसरी नै डिजिटल व्रतलाई पनि संस्कार बनाउन जरुरी देखिएको छ । निश्चित समय स्मार्टफोन, ल्यापटप वा कप्म्युटरबाट आफू टाढा राख्ने गर्न सकिन्छ । गीत संगीत सुन्ने, पुस्तक अध्ययन गर्ने, करेसाबारी वा बगैचा गोडमेल गर्ने जस्ता कामलाई दिनचर्यामा ढाल्न सकिन्छ । प्राकृतिक सौन्दर्यहरुको दृष्यावलोकन गर्ने, छिमेकी वा साथीहरुसंग भलाकुसारी गर्ने, सिर्जनात्मक कार्यहरु जस्तै लेखन, पेन्टिङ, नाच्ने, गाउने आदिमा समय व्यतीत गर्दा डिजिटल दुनिँयाबाट हामी केही समय अलग हुन सक्छौँ ।

अन्त्यमा

विश्वभरि नै मानिसहरुमा बढ्दो चिन्ता, तनाव, डिप्रेसनले गर्दा मानसिक स्वास्थ्यको विषयमा बृहत बहस हुन थालेको छ । विभिन्न अध्ययनहरुले मानसिक स्वास्थ्य सन्तुलित राख्न डिजिटल व्रत बस्नुपर्ने तथ्य प्रष्ट्याएका छन् ।

आजको युगमा हामी प्रविधि, इन्टरनेट तथा सामाजिक संजालबाट टाढा रहन सम्भब छैन । त्यसोभए डिजिटल व्रत शुरु गर्ने कि ? हाम्रो सामाजिक, प्राकृतिक र सांस्कृतिक वातावरणमा पनि रमाउन नि थाल्ने कि ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?