Comments Add Comment

कोरोना महामारी : अमेरिकामा अन्तिम संस्कार गर्नै समस्या

२५ चैत, काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)को महामारीका कारण अमेरिकामा हरेक दिन ज्यान गुमाउनेहरुको संख्या बढ्दो छ । एकातिर आफन्त गुमाउनुको पीडा त छँदैछ, परिवारका सदस्यहरुले सहीसँग अन्तिम विदाई पनि गर्न पाएका छैनन् ।

अहिलेसम्म अमेरिकामा मृतकको संख्या ११ हजार नजिक पुगेको छ भने संक्रमितको संख्या ४ लाख नजिक पुगेको छ । तर विशेषज्ञ र वैज्ञानिकहरुले मृतकको संख्या निकै बढ्ने अनुमान गरेका छन् । त्यसैले पनि अमेरिकी सरकारले संक्रमण फैलिन नदिन ठूलो संख्यामा मानिसहरु भेला हुन रोक लगाएको छ ।

सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) को गाइडलाइन अन्तिम संस्कारका लागि शवलाई तयार गर्नुअघि चुम्बन गर्न वा शवलाई धुनबाट सम्भव भएसम्म बच्न भनिएको छ ।

त्यसो भए अमेरिकामा अन्तिम संस्कारमा कस्तो परिर्वतन आएको छ ? जो मानिसहरुले आफ्नो परिवारका सदस्य गुमाउँछन्, उनीहरुले सुरक्षित रहेर मृतकप्रति कसरी आफ्नो स्नेह देखाउँछन् ?

विभिन्न धर्मालम्बीहरुले परम्परागत रुपमा गर्ने अन्तिम संस्कार कोरोनाको त्रासका कारण गर्न नपाएको सम्बन्धित क्षेत्रका व्यक्तिहरुले बताउने गरेका छन् । इसाई, मुस्लिम र हिन्दु जस्ता सम्प्रदाय अवलम्बन गर्नेहरुले परम्परागत रुपमा गर्ने अन्तिम संस्कारमा सरकारी नीतिको समेत असर परेको सरोकारवालाहरु बताउँछन् ।

अमेरिकाका इसाई धर्मालम्बीहरुले आफ्ना आफन्तहरुको अन्तिम संस्कारको समयमा पारिवारिक रुपमा अंकमाल गर्ने, शव छुने जस्ता संस्कार अपनाउँदै आएका थिए ।

तर, यी सबै संस्कारलाई सरकारले रोकेको छ । अन्तिम संस्कारको समयमा गर्ने ठूला कार्यक्रमहरू, पारिवारिक समूहमा अङ्कमाल गर्ने जस्ता संस्कारहरु बन्द भएका छन् । उनीहरु अवस्था सामान्य भएपछि संस्कार पूरा गर्ने बाचा गरी सामान्य रुपमा संस्कार सम्पन्न गर्ने गर्छन् । यही कारणले मेमोरियल सर्भिसको रुपमा अलबिदा भन्नका लागि समेत ठूलो संख्यामा मान्छे भेला हुन छाडेका छन् ।
संयुक्त राज्य अमेरिकाको बिरामीहरुको रोकथाम सम्बन्धी सरकारी एजेन्सी सेन्टर फर डिसिज कन्ट्रोलले तयार पारेको मापदण्डमा भनिएको छ ‘यदि कोविड–१९ भाइरसको संक्रमणबाट कोही मरे भने व्यक्तिले मृत व्यक्तिको शरीरलाई छुनु हुँदैन । साथै, अन्तिम संस्कारको समयमा समेत धेरै मान्छे भेला नहुनू ।’ यही निर्देशिकाका कारण पनि उनीहरुलाई अन्तिम सं‌स्कारमा समस्या भएको हो ।

अमेरिकामा रहेका मुस्लिम समुदायले समेत यो निर्देशिकाका कारण समस्या झेलिरहेका छन् । यसबारेमा मुस्लिम समुदायका इमाम आदम जमाल भन्छन्, ‘यो संकटको बेला अमेरिकामा रहेका मुस्लिम समुदायका मानिसहरूले ठूलो चुनौतीको सामना गरिरहेका छन् । यसभन्दा पहिले हामी मृतकको शव लिएर कब्रस्थानमा जान्थ्यौँ । यसपछि, हामी यसलाई गाडिनुभन्दा पहिले शरीरमाथि माटो राखेर प्रार्थना गर्ने गथ्र्यौँ । तर, यी संस्कारहरु अहिले बन्द भएको छ ।’

इसाई र मुस्लिम धर्मको लागि मात्रै नभएर सामूहिक रुपमा अन्तिम संस्कार गर्ने सबै सम्प्रदायका अनुयायीहरुलाई समस्या चुलिएको छ । अमेरिकामा रहेका फेडेरेसन अफ इन्डियन एसोसिएसन अफ अमेरिकाका अध्यक्ष अनिल बंसल भन्छन्, ‘हिन्दुहरूलाई पनि अमेरिकामा अन्तिम संस्कार गर्न समस्या हुने गरेको छ । हामीहरुले पनि अन्त्येष्टिमा यस्तै समस्याको सामना गरिरहेका छौँ, जसलाई इसाई वा मुस्लिमहरू सम्प्रदायका अनुयायीहरुले सामना गरिरहेका छन् ।’

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment