+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

प्रदेश ५ का १९० स्थानमा क्वारेन्टाइन, २३ सय बेड तयार

टोपराज शर्मा टोपराज शर्मा
२०७६ चैत १६ गते ९:११
रूपन्देहीको तिलोत्तमास्थित दुर्गादत्त माविमा बनाइएको क्वारेन्टाइन।

१६ चैत, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि प्रदेश ५ मा एक सय ९० ठाउँमा क्वारेन्टाइन बनाइएको छ । प्रदेशका १२ वटै जिल्ला र सबैजसो स्थानीय तहमा गरी दुई हजार तीन सय बेड तयार भएका छन् ।

सबैभन्दा धेरै क्वारेन्टाइन बेड रूपन्देहीमा छन् । यहाँका १६ वटै पालिकामा ३ सय ५४ वटा क्वारेन्टाइन बेड तयार भएका हुन् । अधिकांश क्वारेन्टाइनस्थल विद्यालय भवनमा बनाइएको छ ।

नवलपरासी पश्चिमका १४ स्थानमा २ सय ४ बेड छन् । पाल्पाका २३ स्थानमा क्वारेन्टाइन र २ सय ९३ बेड छन् । गुल्मीमा २६ स्थानमा २ सय ९० बेड, अर्घाखाँचीमा ३४ स्थानमा ३ सय २७ बेड, प्यूठानमा १६ स्थानमा एक सय ४५ बेड तयार भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख उमाशंकर चौधरीले जानकारी दिए ।

कपिलवस्तुमा १६ स्थानमा क्वारेन्टाइन र १ सय ६६ बेड, बर्दियामा १९ स्थानमा २ सय २१ बेड,बाँकेमा ८ स्थानमा एक सय ५५ बेड, दाङमा १६ स्थानमा एक सय ६६ बेड, रोल्पामा एक स्थानमा ५ बेड र रुकुम पूर्वमा २ स्थानमा ४१ बेड रहेका चौधरीले बताए ।

यी क्वारेन्टाइनमा भारतसहित तेस्रो मुलुकबाट आएका नागरिक वा अन्य मुलुकका शंकास्पद व्यक्तिलाई राख्ने तयारी छ । १४ दिनसम्म स्वास्थ्यकर्मीको निगरानीमा राख्दा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्ष्ण देखिएमा उनीहरूलाई सरकारले तोकेको आइसोलेसन अस्पतालमा सुरक्षित तरिकाले लगेर उपचार गरिने प्रदेश जनस्वास्थ्य निर्देशक डा. राजेन्द्रकुमार गिरीले बताए ।

रूपन्देहीमा शनिबारसम्म ५२ जना र प्रदेश ५ मा करिब पाँच सयजना क्वारेन्टाइनमा रहेका प्रदेश ५ प्रहरी प्रमुख नरबहादुर केसीले जानकारी दिए । विदेशबाट पछिल्लो समय नेपाल आएका सबैजसो स्थानीय तहहरूले बनाएका क्वारेन्टाइनमा र कतिपय आफ्नै घरमा ‘होम क्वारेन्टाइन’मा बसिरहेको प्रहरी प्रमुख केसीले बताए ।

क्वारेन्टाइनको व्यवस्थापन र अनुगमन स्थानीय तह, स्वास्थ्य कार्यालयका फोकल पर्सन, सहायक प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले तोकेको प्रतिनिधिसमेत रहेको एक समितिले गर्दछ । १४ दिनसम्म क्वारेन्टाइनमा बस्दा कोभिड–१९ सँग मिल्दोजुल्दो कुनै लक्षण नदेखिएमा उनीहरूलाई घर पठाइन्छ ।

निजी अस्पतालले उपचार नगरेको गुनासो प्रहरीमा

जुनसुकै कारणले उच्च ज्वरो, रुघाखोकीलगायत कोभिड–१९सँग मिल्दोजुल्दो लक्षण देखिएका किरामी उपचारका लागि जाँदा प्रदेशमा रहेका अधिकांश निजी अस्पतालले नाम दर्ता र भर्ना नै नगरेपछि बिरामीका आफन्तले प्रहरीलाई गुहार्न थालेका छन् । ‘दैनिकजसो ५ देखि १० जनाले निजी अस्पतालले फर्काइदिएको गुनासो प्रहरीमा आउन थालेको छ,’ प्रदेश प्रहरी प्रमुख नरबहादुर केसीले भने, ‘यो निकै गम्भीर विषय हो, यसमा सरकारका सम्बन्धित निकायको छिटै ध्यान जानुपर्छ ।’

प्रदेश ५ मा रहेका निजी अस्पताल र मेडिकल कलेजहरूले कोभिड–१९ को रोकथाम र उपचारमा सरकारलाई सहयोग गर्ने बताएर आइसोलेटेड बेडसमेत छुट्याएर राखेका भए पनि शंकास्पद बिरामीलाई फर्काइदिने गरेको कोरोना विशेष अस्थायी अस्पताल बुटवलका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

‘निजी अस्पतालहरूले ज्वरोका सामान्य बिरामीको पनि उपचार गर्न मानेका छैनन् । सरकारलाई सहयोग गर्ने भनेर नाम मात्रै भजाए,’ डा. थापाले भने ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?