Comments Add Comment
राष्ट्र बैंकका गभर्नरको अन्तर्वार्ता :

‘जहाँ भुङ्ग्रो छ त्यहीँ पुग्छु, ठुङ्न खोज्नेसँग सजग छु’

'कोरोनाले वित्तीय क्षेत्रमा पारेको प्रभाव मेरो कार्यकालको मुख्य चुनौती हो'

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको १७ औं गभर्नरका रुपमा महाप्रसाद अधिकारीले मंगलबार पदबहाली गरेका छन् । गभर्नरको पदबहालीपछि उनले कर्मचारीहरुलाई सम्वोधन गर्दै भने- ‘जहाँ भुंग्रो छ, म त्यहीँ म पुग्छु ।’

भूकम्पपछिको अवस्थामा आफूले लगानी बोर्डको नेतृत्व लिएको सन्दर्भलाई भुङ्ग्रोको उपमा दिएका उनले अब राष्ट्र बैंकलाई सबैको सहयोगले सफल बनाउने दाबी गरे ।
पदबहालीको औपचारिक कार्यक्रमपछि राष्ट्र बैंकको खुलाचौरबाट अन्तरवार्ताका दिएका अधिकारीले राष्ट्र बैंकको स्वायत्तता गुम्न नदिने बताए ।

कोरोनाका कारण अर्थतन्त्रमा आएको समस्यालाई आफूले मुख्य चुनौतीका रुपमा लिएको र यसको समाधानका लागि आवश्यक कदम चालिने अधिकारीले बताए । प्रस्तुत छ, अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंशः

कोरोना भाइरसको त्रासका बेला राष्ट्र बैंकको नेतृत्वमा आउनुभएको छ, कत्तिको चुनौती महशुस गर्नुभएको छ ?

अहिले सबै क्षेत्र एकदमै चुनौतीपूर्ण अवस्थामा छन् । हामी सबैलाई थाहा छ, कुनै एउटा एरियामा संकट आउँदा अरु एरियामा पनि असर हुने गथ्र्योर् । अहिले आएको समस्या स्वास्थ्य क्षेत्रको हो । संसारभरि नै महामारी छ । अधिकांश मुलुक, अधिकांश प्रदेशहरुमा लकडाउन छ । त्यसको असर आर्थिक क्षेत्रमा अवश्य पनि पर्छ ।

आर्थिक क्षेत्रको एउटा महत्वपूर्ण क्षेत्र वित्तीय क्षेत्रमा पनि यसको असर धेरै ठूलो छ । जसलाई व्यवस्थित गर्नु र एक किसिमले काम चलाएर लैजानु पनि चुनौतीपूर्ण छ । किनकि, प्रत्येक घरको चुल्होमा असर परेको छ । उसले ऋण लिएको छ, ऋण चुक्तामा असर परेको छ । उसलाई ब्याज तिर्न असर परिरहेको छ ।

व्यापार चलाउने, आर्थिक उन्नति गर्ने, समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने यी विषयवस्तुहरु त सबै तपशीलमा रहे । दैनिक जिविकोपार्जन चलाउने मान्छेहरुलाई पनि असर परिरहेको अवस्था छ । यसअर्थमा यसको असर प्रत्यक्ष असर वित्तीय क्षेत्रमा पर्छ । वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंक हो ।

यो पनि पढ्नुहोस नयाँ गभर्नरका चुनौती : अर्थतन्त्रलाई ब्युँताउने, राष्ट्र बैङ्कको स्वायत्तता जोगाउने

मुख्य चुनौती अहिले हाम्रो अगाडि यो कोरोना भाइरसले ल्याएको छ । योभन्दा ठूलो चुनौती के हुन सक्ला र ? हामीले यसलाई मूख्यरुपले हेर्नुछ । थप ड्यामेज हुन दिनु हुँदैन । वित्तीय क्षेत्रको महत्वपूर्ण सम्पत्ती जनविश्वासलाई जोगाएर राख्न हामीले धेरै खालको उपकरणहरुको प्रयोग गर्नुपर्ने हुन सक्छ । वित्तीय क्षेत्र जहिले पनि चुनौतीपूर्ण हुन्छ । यो संवेदनशील क्षेत्र नै हो । त्यो हुँदाहुँदै पनि हामीलाई यसले निकै ठूलो समस्या पैदा गरिदिएको छ ।

हुन त यो अहिले नेपालको मात्रै समस्या भने होइन, संसारभरिकै सबैको समस्या हो । यस्तो अवस्था भयो कि कुनै एउटा क्षेत्रमा मात्रै असर गर्दा अर्को क्षेत्रले त्यो क्षेत्रलाई सहयोग गर्न सक्थे । तर, यहाँनेर समस्या पर्ने देखिरहेका छौं । यसलाई मैले मेरो कार्यकालको मुख्य चुनौतीका रुपमा लिएको छु ।

तपाईं राष्ट्र बैंककै क्याडर हुनुहुन्छ, वित्तीय क्षेत्रलाई राम्रोसँग बुझ्नुभएको छ । लगानी बोर्डको सीईओ पनि हुनुभएकाले तपाई निजी क्षेत्रसँग पनि नजिक हुनुभएको छ, गभर्नरका रुपमा अब तपाईंको प्राथमिकता के हो ?

केन्द्रीय बैंकका आफ्नै उद्देश्यहरु छन् । ती उद्देश्य हासिल गर्ने नै मेरो मुख्य प्राथमिकतामा रहनेछन् । चाहे मूल्यमा स्थायित्वको कुरा होस्, चाहे वित्तीय स्थायित्वको कुरा । यिनलाई उच्च प्राथमिकतामा राखेर हामीले विभिन्न उपकरणहरु चलाउनुपर्ने हुन्छ । त्यसमा कहीँकतै ढलमल भयो भने हाम्रा उद्देश्यहरु हासिल हुँदैनन् ।

केन्द्रीय बैंकले कहिल्यै पनि धेरै उत्साहित भएर धेरै एग्रेसिभ कुराहरु गर्नुभन्दा पनि स्थायित्वको कुरामा बढी जोड दिनुपर्छ । हाम्रो प्राथमिकता पनि सबै किसिमका स्थायित्वहरु हासिल गर्नमा नै हुनेछन् । मैले अघि पनि भनें, ‘पब्लिकको कन्पिmडेन्स’ हासिल गर्नु नै स्थायित्वको प्रमुख आधार हो ।

अब तपाईंको नेतृत्वमा राष्ट्र बैंकले तत्कालै चाल्ने कदम के हुन सक्छ त ?

आज मैले भर्खरै पदभार ग्रहण गर्दैगर्दा नीतिगत निर्णयका रुपमा कोरोनाको असरको नियमित इम्प्याक्ट अध्ययन गर्ने भनेर एउटा टाक्सफोर्स बनाउने निर्णय गरेको छु । त्यो टाक्सफोर्सले नियमित मनिटरिङ गर्छ । ट्रेण्ड एनालाइसिस गर्छ ।

यो संक्रमण कता गइरहेको छ र यसले अर्थतन्त्रका विभिन्न क्षेत्रमा कसरी असर गरिरहेको छ भन्ने कुरा नियमित हेरिरहन्छ । जब यो नियन्त्रण हुन्छ, त्यतिबेला अलिकति समय लिएर समग्र असरको अध्ययन रिपोर्ट टाक्सफोर्सले तयार गर्छ । हामीले अहिले गर्ने विषय यही नै हो ।

राष्ट्र बैंकले केही समयअघि नै केही राहतको प्याकेज ल्याइसकेको छ । हामीले ब्याज तिर्ने, किस्ता तिर्ने समय दिएका छौं, जुन समय पर सार्दा बैंकहरुको क्यास फ्लोमा पनि असर पर्न सक्छ । समय अलिकति पर त सारेका छौं, त्यो समय पनि नपुग्न सक्छ ।

किस्ता, ब्याज तिर्ने समय त सार्‍यौं, त्यो समयमा पनि किस्ता ब्याज तिर्न दोहोरो गाह्रो पर्न सक्छ । ती कुराहरुलाई कसरी सम्वोधन गर्ने भन्ने विषयमा पनि हामी थप छलफल गर्छौं ।

अस्ति ल्याएको प्याकेजलाई प्रारम्भिक भनिएको छ । निजी क्षेत्रले अपूरो भनेर प्रतिक्रिया दिएको छ, के अब अर्को प्याकेज ल्याउनुहुन्छ ?

होइन । अर्को तत्कालै प्याकेज आउने विषय होइन । रिफाइनमेन्ट हुन सक्छ । अब निजी क्षेत्र असन्तुष्ट भन्ने कुरामा कहाँ के नपुगेको हो, त्यो विषयमा बसेर हामीले छलफल गरेर अघि बढ्छौं ।

अघि तपाईले निजी क्षेत्रको कुरा उठाउनु भयो । म निजी क्षेत्रसँग नजिकबाट काम गरेर आएको व्यक्ति हुँ । त्यसले गर्दा हाम्रो पोलिसीहरु मापदण्डभित्र रहेर निजी क्षेत्रमैत्री पोलिसी नै हामीले लिनेछौं ।

राष्ट्र बैंक स्वायत्त निकाय भए पनि सरकारी हस्तक्षेपले पछिल्लो समय स्वायत्तता गुम्ने खतरा देखिएको छ, यो जोगाउने विषयलाई चुनौतीको रुपमा लिनु भएको छैन ?

केन्द्रीय बैंक जहाँसुकै पनि एउटा अटोनोमस निकाय हुनुपर्छ । यसमा दुईमत नै छैन । त्यो गुम्ने विषयचाहिँ कतिपय ठाउँमा कसरी आइरहेको हो, भन्ने विषय बुझ्नुपर्‍यो ।

ऐन संशोधनको विषयबाट यो स्वायत्तताको कुरा आएको हो जस्तो मलाई लाग्छ । कतिपय ठाउँमा मैले आफूले फिल गरेकोचाहिँ स्वायत्ततामा आफ्नो कारणले पनि धेरै असर पार्छ ।
हामीले आफ्नो भूमिका आफैंले निर्वाह गरेनौं भने पनि अर्कोले हामीलाई ठुङ्न खोज्छ । त्यस्तो वातावरण आउन नदिन हामी सजग छौं ।

तपाईले सम्वोधनका क्रममा भुंग्रोमा आएको छु भन्नुभयो, राष्ट्र बैंक आइसकेपछि यो-यो गर्छु भन्ने त सोच्नुभएको होला नि ?

त्यस्तो विशिष्ट प्लान व्यक्तिले अगाडि नै लिएर आएको विषय होइन । यो संस्थागत संस्था हो । कुनै व्यक्तिका भरमा ड्राइभ हुनुपर्छ भन्ने होइन । यसका आफ्नो उद्देश्य, रणनीति छन् । यसले ५ वर्षे रणनीति पास गरिसकेको छ । त्यो रणनीतिभित्र बसेर पूर्णतया एजुकेट गर्ने हो । नेपाल सरकारले लिएको नीतिको पूर्ण कार्यान्वयन गर्ने हो । यहाँ एउटा रणनीति लिएको हुन्छ, म आएर मेरो नीति अर्कै हो भन्न त मिलेन । त्यही रणनीतिभित्रै बसेर हामीले काम गर्ने हो । भोलि त्यसमा केही रिफाइन गर्नुपर्ने अवस्था आयो भने गर्ने हो ।

यो पनि पढ्नुहोस कार्यभार सम्हाल्दै गभर्नर अधिकारीले भने– जहाँ भुङ्ग्रो छ, त्यहीँ पुगेँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment