+
+

सीमकार्डका आधारमा विदेशबाट आएकाहरु खोज्दैछ सरकार

गौरव पोखरेल गौरव पोखरेल
२०७६ चैत २६ गते २१:११

२६ चैत, काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरिएको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले चैतमा लकडाउन हुनु अघि नेपाल प्रवेश गर्नेको कन्ट्याक ट्रेसिङ सुरु गरेको छ ।

प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा रहेको सेन्टरले चैत १ गतेदेखि लकडाउन गरिएको ११ गतेसम्मको वितरण गरिएको सीम कार्ड नम्बर माग्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेको हो ।

स्रोतका अनुसार यो अवधिमा हवाई तथा स्थल मार्गबाट नेपाल प्रवेश गर्ने व्यक्तिको विवरण संकलन गर्नलाई सेन्टरले मोबाइल नम्बरको सूची मगाएको छ ।

स्रोतले भन्यो, ‘हवाई मार्गबाट आउनेको सूची सजिलै पाइन्छ । तर, स्थलमार्गबाट आउनको विवरण नहुने भएकाले यो उपाय अख्तियार गरिएको हो ।’

सञ्चार मन्त्रालयले स्वीकृति दिएपछि दुरसञ्चार प्राधिकरणबाट यो सूची उलब्ध हुने बताइको छ । प्राधिकरणले उपलब्ध गराएको कात्तिक र मंसिर महिनाको तथ्यांकलाई आधार मान्ने हो भने दैनिक औसत १० हजार ६ सय ६२ वटा नयाँ सीम कार्ड जारी हुने गरेको देखिन्छ । त्यही अनुपात रह्यो भने ११ दिनसम्म बिक्री भएको सीमकार्डको संख्या निकै धेरै निस्किन्छ ।

थर प्राथमिकताका आधार तय गरेर विश्लेषण गर्न सकिने सीसीएमसी स्रोतले बतायो । यसका लागि सीसीएमसीले कल सेन्टर पनि स्थापना गरेको छ ।

जारी भएका नयाँ सीमकार्डको सूची प्राप्त भएपछि सेन्टरबाटै सम्बन्धित व्यक्तिसँग सम्पर्क गरेर उनीहरुको स्वास्थ्य अवस्थासहितका जानकारी लिइने जनाइएको छ । दोस्रो चरणमा उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिबारे पनि विवरण संकलन र विश्लेषण गरिने बताइएको छ । स्वास्थ्य मन्त्रालय र नेपाल प्रहरीले कोरोना संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङ गरिरहेको छ ।

कोरोना विशेष अस्पतालको निरीक्षण

यसैबीच सीसीएमसी अपरेशनका संयोजक अर्यालसहितको टोलीले सशस्त्र प्रहरी बलको कोरोना विशेष अस्पतालको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा सशस्त्र प्रहरीले ६ वटा आईसीयू कक्ष स्थापना गरिसकेको पाइएको छ ।

त्यस्तै, ६०/६० वटा आइसोलेसन र क्वारेन्टाइन बेड तयार गर्ने क्रममा रहेको सीसीएमसीले जनाएको छ । सम्पूर्ण बेड दश दिनभित्र तयार हुने भनिएको छ ।

सेनाको वीरेन्द्र सैनिक अस्पतालमा पनि २० वटा आईसीयू कक्ष तयार हुने क्रममा रहेको बताइएको छ । त्यहाँ ८० वटा आइसोलेसन वार्ड र २० वेडको हाई केयर युनिट बनाइनेछ ।

निरीक्षणमा सेनाका उपरथी अशोक सिग्देल, प्राविधिक सहायक रथी डा. सुशिल रावल, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा लगायत सहभागी थिए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?