Comments Add Comment

धनगढीमा कोरोनाका परीक्षणको उपकरण जडानमा ढिलाइ

२८ चैत, कैलाली । कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा परीक्षणको लागि ल्याइएको अत्याधुनिक उपकरण जडानमा ढिलाइ भएको छ ।

बुधबार बिहान संघीय सरकारले आरटीपीसीआर मेसिनसहित कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य उपकरण धनगढी पठाएको थियो ।

नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी ल्याइएको उक्त उपकरण तीन दिनसम्म पनि जडान हुन सकेको छैन । उपकरणका लागि आवश्यक अन्य सामग्री नहुँदा जडान गर्न ढिलाइ भइरहेको मोलिकुलर माइक्रोबायोलोजिष्ट सुनीलप्रसाद लेखकले बताए ।

‘हामीले यो आउनुभन्दा पहिले नै यसका लागि अन्य केके चहिन्छ त्यो सबै जनकारी दिएका थियौँ’ उनले भने, ‘ती सबै वस्तु आएका छैनन् । त्यसैले जडान गर्न ढिलाइ भइरहेको हो ।’

आरटीपीसीआर मेसिनका लागि १२ देखि १४ अन्य सामग्री आवश्यक पर्ने उनको भनाइ छ ।

‘आवश्यक सामग्री सबैको लिष्ट मन्त्रालयलाई बुझाएका छौँ । सबै नहुँदासम्म जडान गर्न नसकिने भएकाले काम रोकिएको हो’ उनले भने, ‘केही आयो, केही आउँदैछ ।’

शुक्रबार साँझसम्म सामान पुगे तत्काल जडान सुरु गरेर परीक्षण सुरु गरिने उनले जानकारी दिए । उक्त उपकरणले दैनिक दुई सय ७० जनाको परीक्षण गर्न सक्ने उनले बताए ।

‘चार घण्टामा ९० जनाको परीक्षण गर्ने उपकरण हो’ उनले भने, ‘यसबाट दैनिक २७० भन्दा बढीको परीक्षण गर्न सकिने छ ।’

आरटीपीसीआर मेसिनले परीक्षण तीब्र हुने र त्यसबाट संक्रमित भएको वा नभएको पहिचान गर्न सहज अपेक्षा गरिएको छ ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा रहेको आरटीपीसीआर मेसिनलाई धनगढीमा रहेको भेटेरिनरीको प्रयोगशालामा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment