Comments Add Comment

प्रकृति, मान्छे र महामारी

सहर सुनसान छ । ठूला–ठूला महलमात्र देखिन्छन्, आवत–जावत बन्द छ । सधैँ भिडभाड कोलाहल रहने सहर आज शून्य भएको छ । धर्तीले शान्त वातावरणको अवसर पाएको छ । आकाश स्वच्छ, उज्यालिएको छ । लाग्छ मानव जाति नै नभएको एकादेशको सहर हो यो ।

ऋषिमुनिले ध्यान गर्ने ठाउँ जस्तो शान्त मौन वातावरण । सहरको छेउछाउ बगैँचा, बोटबिरुवा हरियाली देखिन्छन् । फूलहरुले सुगन्ध छरिरहेका छन् । आफ्नै सुन्दरता प्रदर्शन गरिरहेछन् । सुनिन्छ त केवल खुल्ला आकाशमा उडिरहेका स्वतन्त्र पन्छीहरुको मीठो भाषा ।

धर्ती उही छ । आकाश उही छ । सदा झैँ पूर्वबाट प्रभातमा सूर्यको उदय हुन्छ । बेलुका फेरि पश्चिम दिशामा सूर्यले विश्राम गर्दै अलप हुन्छ ।

जुनेली रातले अझै सौन्दर्य थपिदिएको छ । आकाशमा नौलाखे ताराहरु झलमल्ल चम्किरहेका छन् । सरसर अदृश्य बतास अर्थात् वायुले स्पर्श गरिरहेछ । उसै पनि ऋतुहरुको राजा वसन्त ऋतु । सबैलाई मग्न तुल्याउन सक्ने । चारैतिर नव पालुवाले हरियाली बनाउन सक्षम वसन्त ऋतु ।

न गाडी मोटरको आवाज । न धुलो धुवाँ प्रदूषण । न कलकारखानाको आवाज प्रदूषण । आजको वातावरणमा वसन्त ऋतु रमाइरहेको छ ।

प्रकृति फेरि परापूर्वकालमा जस्तै स्वच्छ स्वतन्त्र हुन चाहेको भान हुन्छ । संसारको मानिसहरुलाई थुनेर प्रकृति स्वच्छन्द चलायमान छ ।

प्रकृतिलाई नै आफ्नो वशमा राखेर तहस–नहस गर्ने मानवजाति हामी । विश्वभरि आफैँ कैद भइरहेका छौँ । हामी मानवजातिलाई लकडाउनको उकुसमुकुस बन्दीको प्रभाव छ ।

प्रकृति भने आफैँ स्वच्छन्दको आभास गर्दै छन् । सधैँ मिठो मिष्ठान्न मांसाहारी भोजन गरेर स्वाद लिने मानव जिब्रोमा मांसहारी भोजनमा बन्देज लागेको छ । कयौं बधशालाहरुमा ताला लागेका छन् ! कैयौँ पशु, पन्छी, माछाले आफ्नो जिन्दगी जिउन पाएका छन् । हामी मानवलाई भोकमरीको सन्त्रास छ । कतै जिन्दगी नै जिउन नपाउने हो कि भन्ने भय छ ।

अन्य हरेक प्राणीहरु आजाद छन् । उनीहरुलाई कुनै फिक्री छैन । आजको समयमा प्रकृतिले हामीलाई सजायँ दिइरहेको छ ।

सूक्ष्म भाइरस विश्वव्यापी बनेको छ । धेरैको ज्यान लिइसकेको छ । अझै कतिको ज्यान लिने हो, त्यसको नतिजातिर सबै अनभिज्ञ छौँ । अहिले सूक्ष्म नोभेल कोभिड १९ कोरोना भाइरससँग त्राहि त्राहि भएर दुनियाँ हारेको छ ।

भाइरस जति सूक्ष्म छ, उति नै शक्तिशाली छ । मानवजातिको मनलाई उथल–पुथल त्रसित पारिदिएको छ । यो महामारीदेखि ज्यान जोगाउन हामी आफ्नै खोरमा आफैँ थुनिएका छौँ । यो कैद कहिलेसम्म हो, त्यो परिस्थिति बताउला । सबै यस प्रश्नमा अनभिज्ञ छौँ ।

वनजंगल वनस्पति फाँडेर तहसनहस गर्ने मानव । अक्सिजनको अभाव हुने निश्चित देखिन्छ । विश्वमा ग्लोबल चेन्ज भइरहेछ । प्रकृति नै नियम विपरीत चल्न सुरु गरिसक्यो । आउने दिनहरु कस्ता हुने हुन्, त्यो भविश्यले बताउला । यस्तै हो भने धर्मशास्त्रले भनेको जस्तै प्रलय नजिकबाट नियाल्न बेर लाग्दैन । हरेक प्राणीलाई वशमा राखेर फाइदा लिने मानिसलाई प्रकृतिले चेतावनी दिइरहेछ ।

हरेक सजीव निर्जीव वस्तुको उपभोग गर्ने मानव । अहिलेको समयले हत्कडी लगाइदिएको छ मानवलाई । झनै आधुनिकताको खोल ओढेको अहिलेको मानिसलाई मद्यपान, यौन र पैसाको नसाले चुर्लुम्म पारेको छ । पैसा रक्सी र यौनको भोकमा रुमल्लिएको छ मानिस । नास्तिकताको पराकाष्ठा नागिसक्यो । पश्चिमी संस्कारले गाँजेको छ, आफ्नो संस्कृति विकृतमा परिणत हुने गरी ।

योगगुरुहरु योगध्यान प्रणायाम गर भन्छन् । बरु सजिलै जिन्दगी छुट्ला, तर लागेको कुलतको आदत छुट्ने देखिँदैन । हरेकलाई अहंकारले भरिदिएको छ । मानवता दुर्लभ भइसकेको छ । मानिस मैले नै पाऊँ मात्र भन्ने भावनाले ग्रसित छ । जताततै स्वार्थले गाँजेको छ । विज्ञानको चमत्कार र विकासको उपलब्धिसँग लठ्ठ छन् अहिलेका मानिस । धर्मकर्म अध्यात्म भनेपछि खिल्ली गरिन्छ । जीवन, जगत र प्रकृतिवोध गर्न चाहँदैन अहिलेको मानिस ।

आधुनिकताको खोल ओढेका हामी सबै आफ्नो दायराभन्दा बाहिर छौँ । हामीलाई प्रकृतिले धेरै दियो, तर हामीले प्रकृतिलाई दुरुपयोग गर्दै गयौँ । त्यसैको उपज त हो अहिलेको महामारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment