+
+
Shares

सुधार गृहले लगायो १५ बालबालिकालाई अभिभावकको जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते २०:१५

२८ चैत, पोखरा । जिल्ला बाल सुधारगृह कास्कीले १५ जना बालबालिकालाई अभिभावकको जिम्मा लगाएको छ । विभिन्न मुद्धामा पक्राउ ती बालबालिकालाई सर्वोच्च अदालतले गरेको निर्णय आधारमा अभिभावकको जिम्मा लगाइएको बालगृह प्रमुख रमा शर्माले जानकारी दिइन् ।

सर्वोच्च अदालतको चैत ७ गते बसेको बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ अनुसार सुधार गृहबाट बालबालिकालाई निवेदनका आधारमा अभिभावकको जिम्मा लगाउने निर्णय गरेको थियो ।

‘विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न सामान्य मुद्धामा पक्राउ परेका बालबालिकालाई अभिभावकको जिम्मा लगाउने सर्वोच्चको निर्णय आधारमा बालबालिकालाई बिदा दिएका हौँ,’ बालगृह प्रमुख शर्माले भनिन्, ‘अहिले हामीले विभिन्न पाँच मुद्धाका बालबालिकालाई अभिभावकको जिम्मा लगाएका छौँ ।’ बालगृहबाट बिदा हुनेमा कर्तव्य ज्यान, लागूऔषध, जबर्जस्ती करणी लगायत छन् । सुधारगृहमा अहिले विभिन्न आठ प्रकृतिमा पक्राउ परेका बालबालिका छन् ।

कास्की बाल सुधारगृहमा अहिले ६७ जना बालबालिका छन् । त्यसमध्ये २२ जना बालबालिकाको रिहाइबारे अदालतमा निवेदन परिसकेको तर, सुनुवाइ नभइसकेको शर्माले जानकारी दिइन् । ‘लकडाउनले गर्दा अभिभावक अदालतसम्म आउन भ्याएका छैनन् । उनीहरुको पनि चाँडै अदालतले निर्णय गर्छ,’ उनले भनिन् ।

सुधार गृहबाट बिदा गरेपनि निरन्तर निगरानीमा राखिने शर्माले जानकारी दिइन् । ‘अदालतले उनीहरुलाई निश्चित तारेख तोकिदिएको छ । जसमा उनीहरुले भनेको बेला उपस्थित हुने शर्तमा मात्रै रिहाइ भएका हुन्,’ उनले भनिन् । सुधार गृहमा कैलाली, दाङ, डोटी लगायत जिल्लाका बालबालिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?