Comments Add Comment

तिब्बत सरकारले नेपाललाई दियो अत्यावश्यक स्वास्थ्य सामग्री

२८ चैत,काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई कोभिड-१९ महामारीविरुद्ध लड्न आवश्यक मेडिकल सामग्री अनुदान सहयोग गरेको छ ।

नेपाल सरकारले मागेको सूची अनुसार छ प्रकारका सामग्री ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमार्फत हस्तान्तरण गरिएको हो ।

शुक्रबार आयोजित एक कार्यक्रममा तिब्बत सरकारको विदेश विभागकी प्रमुखले नेपाली महावाणिज्य दूत गोविन्द कार्कीमार्फत ती सामानहरु हस्तान्तरण गरेको दूतावासका प्रवक्ता जिम्सन रुम्दाली राईले बताए । ती सामग्री नेपालको सीमानाका तातोपानीसम्म तिब्बत सरकारले नै ढुवानी गर्नेछ ।

तिब्बत सरकारले तातो नाकामा ल्याएर ती मेडिकल सामग्री जिम्मा लगाउने र काठमाडौं स्थित चिनियाँ दूतावासमार्फत नेपाल सरकारलाई हस्तान्तरण हुने राईले जानकारी दिए । तातोपानीसम्म मेडिकल सामग्रीहरु आइपुग्न एक साता लाग्न सक्ने उनले बताए ।

परराष्ट्र मन्त्रालयले पठाएको सूची महावाणिज्य दूतावासले तिब्बत सरकारलाई दिएको थियो । तिब्बत सरकारले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन ९५ मास्क लगायत छ प्रकारका अत्यावश्यक मेडिकल सामग्री उपलब्ध गराएपनि कति परिमाणमा छ भन्ने नखुलेको र ती सामग्री ढुवानी भएपछि मात्र जानकारी हुने राईले बताए ।

यसअघि चीनका विभिन्न निजी क्षेत्रले बेइजिङस्थित नेपाली दूतावासमार्फत पठाएका स्वास्थ्य सामग्री निर्यातयोग्य नरहेको भन्दै तिब्बत सरकारले रोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment