+
+
Shares

मध्यरातमा महाकाली तरेर १४ जना नेपाल प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २९ गते १९:२६

२९, चैत, काठमाडौं । नेपाल र भारत सीमा नाकामा यात्रु आवतजावत बन्द गरेको २० दिनसम्म पनि भारतबाट नेपाल आउने क्रम रोकिएको छैन। भारतबाट आउनेहरुमा कोरोना स‌ंक्रमण हुनसक्ने भन्दै मुलुकमा लकडाउन गर्नुभन्दा पहिले नै भारतसँगको सीमानाका बन्द गरेको भएपनि भारतबाट नेपाल प्रवेश गर्नेक्रम नरोकिएको हो ।

दुई देशबीच सीमा क्षेत्रमा अलपत्र परेकाहरुलाई त्यही क्वारेन्टाइन बनाएर राख्ने सहमति पनि भएको छ । तर, चैत २५ गते राति दुई बजेतिर १४ जनाको समूह महाकाली नदी तरेर नेपाल प्रवेश गरेको पाइएको छ ।

मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र धामी भन्छन्, ‘२/३ जना पौडी खेल्न सक्नेछन् । उनीहरु सुरुमा आए र त्यसपछि डोरी टाँगेर त्यसकै सहयोगमा आएका रहेछन् ।’

भोलिपल्ट प्रहरीले खबर गरेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको धामीले अनलाइनखबरलाई बताए । उनका अनुसार भारतमा मजदुरी गर्ने उनीरु बझाङ र बैतडीका हुन् ।

भारतमा लकडाउन भएपछि धार्चुलासम्म आइपुगेका थिए । तर, सीमामा आवागमन बन्द भएपछि रोकिए ।

भारतीय पक्षले जोलजीवी इन्टरकलेजमा बनाएको क्वारेन्टाइनमा पनि १० दिन बसे । तर, खाने र बस्ने दुबै व्यवस्था आफूहरु भागेर आएको उनीहरुले बताएका छन् ।

अध्यक्ष धामीका अनुसार मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ को सीमा भारतसँग जोडिएको छ । त्यसैले मानिसहरु लुकेर आउने प्रयास गर्छन् । यसरी आएका ३३ जना अहिले पनि गाउँपालिकाको क्वारेन्टाइनमा छन् ।

उनीहरुको स्वास्थ्य परीक्षणको तयारी भइरहेको छ । आज शनिबार शैलीशिखर गाउँपालिकाको गोकुलेश्वरमा थ्रोट स्वाबको नमुना संकलनका लागि स्वास्थ्यकर्मीहरुको टोली आउने खबर आएकाले सबैलाई त्यहाँ लगिएको छ ।

उनले भने, ‘शैलीशिखर बझाङ बैतडीको सीमा नजिक पर्छ । यदि उहाँहरुले लैजान चाहनुभयो भने दिन्छौँ नभए रिपोर्ट नआउँदासम्म क्वारेन्टाइनमा राख्छौँ ।’

उनकाअनुसार सीमा बन्द भएपछि अवैध बाटोबाट थुप्रै मानिसहरु नेपाल प्रवेश गरेका छन् । ‘रातिराति मानिसहरु हिँडेका रहेछन् । सुरुसुरुमा त उनीहरुलाई रोकिएन । तर, धेरै भएपछि यसरी आउने क्वारेन्टाइनमा राख्न थालेका हौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?