Comments Add Comment

बारामा गुणस्तरहीन राहतबारे प्रहरीले थाल्यो कारबाही

बाराको यादव कोल्ड स्टोर्समा सिलबन्दी

२९ चैत, वीरगञ्ज । राहतमा गुणस्तरहीन खाद्य सामग्री वितरण हुने क्रम नरोकिएपछि बारामा प्रहरीले कारबाही सुरु गरेको छ । त्यसक्रममा शनिबार बिहान बाराको कलैया उपमहानगरपालिकास्थित एक कोल्ड स्टोर्समा सिलबन्दी गरिएको छ ।

राहतका लागि वितरण गर्न राखिएको तीन सय ८० बोरा दालसहित यादव कोल्ड स्टोर्समा सिलबन्दी गरिएको हो । पूर्वसभासद राधेचन्द्र यादवको नाममा रहेको कोल्ड स्टोर्समा दाल राख्ने व्यक्तिको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कलैया वडा नं. २० बसतपुरमा वितरण भएको दाल गुणस्तरहीन भएको गुनासो शुक्रबार साँझ प्रहरी समक्ष आएको थियो । प्रहरी टोलीले गएर हेर्दा दाल गुणस्तरहीन रहेको आशंका गर्दै वितरणमा रोक लगाएर २५ बोरा नियन्त्रणमा लिएको थियो । कहाँबाट खरिद गरिएको हो ? भन्नेबारे अनुसन्धानका क्रममा प्रहरीले यादव कोल्ड स्टोर्सको ठेगाना पत्ता लगाएको थियो।

कोल्ड स्टोर्समा थप तीन सय ८० बोरा दाल भेटिएपछि परीक्षणका लागि नमुना लिएर चेकजाँचका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

‘दालको गुणस्तर परीक्षणका लागि नमुना संकलन गरेर पठाइएको छ । कोल्ड स्टोर्समा सिलबन्दी गरिएको छ ।’ डीएसपी मिश्रले भने ‘रिपोर्ट आइसकेपछि गुणस्तरहीन पाइएमा खाद्य ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइन्छ ।’

वडाध्यक्ष महम्मद इमामुद्दीनले भने विपक्षीले राजनीति गरेका कारण राहत वितरणमा अवरोध उत्पन्न भएको गुनासो गरेका छन् । उनले अब प्रशासनले वितरण गर्न अनुमति दिएपछि मात्रै राहत वितरण गरिने जानकारी दिए ।

लकडाउनमा प्रभावित विपन्न वडावासीका लागि राहत वितरण गर्ने तयारी हुँदै थियो । दाल, आलु, नुन, तेल खरिद गरेका थियौँ, चामल अझै आउन बाँकी छ,’ उनले भने, ‘ वितरण गर्ने त परको कुरा समान जुटाउँदै थियौँ । विपक्षीले प्रशासनमा उजुरी गरिदियो, प्रमुख जिल्ला अधिकारीले नमुना संकलन गरेर परीक्षणका लागि पठाउनुभएको छ, अब नतिजा आएर जे आदेश हुन्छ, त्यही अनुसार अगाडि बढ्छौँ ।

जिल्लाका विभिन्न स्थानबाट कम गुणस्तरका राहत सामग्री वितरण भइरहेको गुनासो आएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय बाराले अनुसन्धान र कारबाहीका लागि निर्देशन दिएको थियो ।

प्रशासनले कलैया उपमहानगरपालिका वडा नं २० बसतपुर प्रहरी चौकीमा रहेको दालको केही भाग किरा लागेको तथा सडेको देखिएको हुँदा वितरणमा बन्देज गर्ने तथा खाद्यान्न जफत गरी परीक्षणका लागि नमुना संकलन गरी पठाउन भनेको थियो ।

त्यस्तै, कलैया उपमहानगरपालिका वडा नं २२ बाट छ सय १५ जनालाई वितरण गरिएको राहत खाद्य सामग्रीमध्ये करिब ५० परिवारलाई वितरण गरिएको खाद्य सामग्री फिर्ता गर्न लगाई जफत गर्ने, त्यसको सट्टामा वडाबाट नयाँ चामलको वितरण गर्ने व्यवस्था गर्न लगाउने र जफत गरिएको चामल परीक्षणका लागि नमुना संकलन गर्न आदेश दिएको थियो ।

यो पनि पढ्नुहोस बारामा राहतको नाममा कुहिएको चामल !

त्यति मात्र नभई कम गुणस्तरको खाद्य सामग्री बिक्री वितरण गर्ने पसलका गोदाम, मिल र स्टोरमा बिक्री गर्न राखिएको समानको समेत गुणस्तर परीक्षण नतिजा नआएसम्म बेचबिखन गर्न नपाउने गरी सिलबन्दी गर्न प्रहरीलाई लिखित रुपमै निर्देशन दिएको थियो ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले राहत वितरणमा कमसल खाद्य वस्तु वितरण भएको गुनासो आएपछि कारबाही सुरु गरिएको जानकारी दिए । ‘राहत वितरण गर्दा दाल चामल न्यून गुणस्तरको, बास्ना आउने, किरा लागेको, केही दाना कुहिएको वितरण भइरहेको गुनासो आयो,’ उनले भने, ‘त्यस्ता खाद्य सामग्री जनताले खाँदा भोलि हैजा फैलिन सक्ने सम्भावना भयो । अर्को महामारी फैलन नदिन कमसल खाद्य सामग्री बिक्री गर्ने मिल, कारखाना, स्टोर, गोदाममा सिलबन्दी गर्न भनेको हुँ ।’

खाद्य सामग्रीको रिपोर्टको आधारमा सिलबन्दी खोल्ने वा कानुनी कारबाही प्रक्रिया अघि बढाउने भन्ने निर्णयमा पुगिने जानकारी उनले दिए ।

‘सिलबन्दी गरिएको ठाउँमा भएको खाद्य बस्तुको नमुना संकलन गरेर परीक्षणका लागि पठाउँछौँ । खान योग्य छ भन्ने रिपोर्ट आयो भने सिलबन्दी खोल्ने, होइन भने कानुन बमोजिम कारबाही प्रक्रिया अघि बढाउँछौँ । ’ प्रजिअ पण्डितले भने ।

बाराकै जितपुर सिमरा उपमहानगरपालिका वडा नं १७ जैतापुरमा पनि कम गुणस्तरको खाद्य सामग्री राहत स्वरुप वितरण गरिएको थियो ।

यो पनि पढ्नुहोस कमसल खाद्यान्न बाँडेको भन्दै स्थानीयद्वारा राहत वितरणमा रोक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment