Comments Add Comment

कोरोनाको महामारी : एक महिनामा विश्वभर के–के भए ?

३० चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) लाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले महामारीको घोषणा गरेको एक महिना पूरा भएको छ । सन् २०१९ को अन्तिममा चीनको वुहानबाट फैलिएको यो भाइरसको कारण अहिलेसम्म एक लाख तीन हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

११ मार्चमा माहामरी घोयाणा भएपछि विश्वभर केके भए ? प्रमुख घटनाहरु यस्ता छन् :

१. विश्वभर संक्रमण र मृतकको संख्यामा वृद्धि

डब्लुएचओले कोभिड–१९ लाई महामारी गर्दा विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या एक लाख १८ हजार थियो । अहिले यो संख्या बढेर १७ लाख नाघेको छ । त्यसबेला मृत्यु हुनेको संख्या पनि चार हजार तीन सय मात्र थियो । अहिले भने यो संख्या बढेर एक लाख तीन हजार नाघिसकेको छ ।

२. चीनमा संक्रमणमा कमी

सबैभन्दा पहिलो कोरोनाको महामारी सामना गरेको चीनमा अहिले नयाँ संक्रमितको संख्यामा कमी आएको छ । त्यहाँ भेटिएका नयाँ संक्रमितमा पनि अधिकांश विदेशबाट आएका मानिसमा छन् । स्थानीय स्तरमा धेरै नयाँ संक्रमण देखिएको छैन । त्यस्तै मृत्युदरमा पनि उल्लेख्य कमी आएको छ । शनिबार चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको थियो ।

यो भाइरसको उद्गम स्थल मानिएको वुहान सहरमा लगाइएको लकडाउन पूर्णरुपमा हटाइएको छ ।

३. यूरोप नयाँ इपिसेन्टर, अमेरिकामा बढे संक्रमित

पछिल्लो एक महिनाको अवधिमा कोरोना भाइरसको केन्द्र चीनबाट सरेर युरोप पुग्यो । सुरुमा इटली, त्यसपछि स्पेनमा संक्रमित र मृतकको संख्या बढ्यो । अहिले त फ्रान्स र जर्मनीले पनि समग्र संक्रमितको संख्यामा चीनलाई उछिने ।

मृत्यु हुनेको संख्या पनि स्पेन, इटाली र फ्रान्समा चीनको भन्दा चार गुणाभन्दा बढी छ ।

पछिल्ला दिनमा अमेरिका सबैभन्दा प्रभावित छ । त्यहाँ संक्रमितको संख्या पाँच लाख नाघेको छ, जसमध्ये २० हजारबढीले ज्यान गुमाएका छन् । र, अमेरिका नयाँ संक्रमित र मृतकको संख्याको हिसाबमा विश्वको सबैभन्दा धेरै प्रभावित हुने मुलुक बनेको छ ।

डब्लुएचओले भने अझै पनि कोरोना संक्रमितको संख्या बढ्न सक्ने चेतावनी दिएको छ ।

४. धेरै मुलुकमा लकडाउन र कडाइ

कोभिड–१९ लाई महामारीको घोषणा गरिएपछि अहिलेसम्म धेरै मुलुकहरुले मुलुकमा भाइरस नियन्त्रणको लागि लकडाउन, कफ्र्यु र सीमानाका बन्दजस्ता नियमहरु ल्याएका छन् । नेपालमा ११ चैतदेखि लकडाउन छ भने २१ दिनदेखि लकडाउनमा रहेको भारतले यसलाई बढाउने तयारी गरिरहेको छ ।

दक्षिण अफ्रिकाले राष्ट्रिय प्रतिबन्ध लगाएको छ भने जापानलगायतका मुलुकले आपतकालीन अवस्था घोषणा गरेका छन् । अमेरिकाले भाइरस नियन्त्रणको लागि रज्यले ५० अर्ब डलर रकम खर्च गर्न पाउने निर्णय गरेको छ भने जापानले ९ खर्ब ९० अर्बभन्दा बढीको आर्थिक सहायता घोषणा गरेको छ ।

मध्यपूर्वमा पनि टर्की, साउदी अरेबिया, ट्युनिसिया, यूएई र जोर्डनमा पनि कफ्र्यु तथा लकडाउन छ ।

५. डब्लुएचओको आलोचना

कोरोनाको महामारी नियन्त्रणका लागि उचित कदम चाल्न नसकेको भन्दै डब्लुएचओको आलोचना भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले चीन केन्द्रित रहेर काम गरेको आरोप लगाए । उनले डब्लुएचओलाई दिँदै आएको अमेरिकी कोष रोक्न सक्ने चेतावनी पनि दिए । उनको आरोपको जवाफमा डब्लुएचओका अधिकारीहरुले कोरोनाको महामारीमा राजनीतीकरण नगर्न सबैलाई आग्रह गरेका छन् ।

यही समयमा ताइवान र डब्लुएचओको विवाद पनि निस्कियो । डब्लुएचओले ताइवानलाई सदस्य राष्ट्रबाट हटाएकाले समयमा नै सूचना पाउन नसकिएको ताइवानले आरोप लगायो । डब्लुएचओले त्यसलाई अस्वीकार गर्‍यो । गत महिना ताइवानले डब्लुएचओलाई डिसेम्बर ३१ मा भाइरसबारे जिज्ञासा राखेर पठाएको इमेलको कुनै जवाफ नआएको बताएको थियो । तर विश्व स्वास्थ्य संगठनले भने ताइवानले उल्लेख गरेअनुसारको जिज्ञासा राखेर पठाइएको कुनै इमेल प्राप्त नभएको बताएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment