Comments Add Comment

लकडाउनमा धमाधम हुँदैछ सडक मर्मत र पुल निर्माण

३० चैत, काठमाडौं । सडक विभागले लकडाउनको अवधिमा सडक निर्माण र मर्मत जारी राखेको छ । कामदारहरुबीच भौतिक तथा समाजिक दूरी कायम राख्दै र सुरक्षा उपाय अपनाउँदै काम भइरहेको विभागले जनाएको छ ।

मेसिनको बढी प्रयोग हुने आयोजनाहरुमा काम जारी राखिएको विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए ।

सडक खाली भएको मौका पारेर गरिएका मर्मतलगायतका काम टिकाउ हुने विभागको तर्क छ । ‘कामदारहरु कम प्रयोग हुने र अधिकतम् मेसिनको प्रयोग भइरहेका सडकमा काम गरेका हौं,’ उनले भने, ‘सबै ठाउँमा यसरी काम गर्न सकिन्न ।’

कहाँ–कहाँ हुँदैछ काम ?

अहिले त्रिभुवन राजपथको हेटौंडा–भैंसे–लामीडाँडा खण्डमा सर्फेस ड्रेसिङ (अलकत्रा छरेर त्यसमाथि गिट्टी हाली गरिने मर्मत) को काम भइरहेको छ । यो राजमार्ग लकडाउन सकिँदासम्म निकै चुस्त अवस्थामा ल्याइने महानिर्देशक शर्माले बताए ।

‘त्रिभुवन राजपथ पृथ्वी राजमार्गमा समस्या पर्दा काममा आइहाल्ने सडक हो,’ शर्माले भने, ‘यो सडक पनि चुस्त अवस्थामा राख्नुपर्छ भनेर त्यहाँ काम गरिरहेका छौं ।’

त्यसैगरी कोशी राजमार्गको देउराली–मुढे खण्डमा पनि सर्फेस ड्रेसिङको काम भइरहेको छ । महेन्द्र राजमार्गका लम्की–अत्तरिया खण्ड सुधारको पनि काम भइरहेको विभागले जनाएको छ ।

यसबाहेक मुगु जाने माग्मा–गमगढी सडकखण्डमा पनि ‘कटिङ’को काम चलिरहेको छ । कोसी कोरिडोरको खाँदबारीभन्दा माथिल्लो खण्डमा पनि काम रोकिएको छैन ।

विभिन्न स्थानमा पुल निर्माणको काम पनि जारी छ । वर्षा अगावै सक्नुपर्ने पुलमा अत्यावश्यकीय कामहरु जारी राखिएको छ । नदी नियन्त्रण गरेर ढलानका लागि तयार गरिएका पुलको काम रोकिएको छैन । कतिपय पुलमा रोकिएको काम पनि स्थानीय प्रशासनसँग समन्यव गरेर व्यवसायीले अघि बढाएका छन् ।

पूर्वी चितवनमा पूल निर्माणको काम भइरहेको छ भने झापा, जुम्ला, नुवाकोटलगायतका जिल्लाका विभिन्न खोलामाथिका पुलको काम पनि भइरहेका छन् ।

सडक विभागले काठमाडौं उपत्यकाका सडकहरुमा पनि रोड मार्किङको काम पनि गरिरहेको छ ।

नागढुंगा र गौशाला–चावहिलमा अनुमति माग

सडक विभागले त्रिभुवन राजपथको पीपलमोड–नौबिसे सडक खण्डको पनि काम गर्ने तयारी गरेको छ । लकडाउनमा सडक खाली भएको मौका पारेर यो सडकखण्ड सुधारको काम गर्न लागिएको महानिर्देशक शर्माले बताए । यो सडकखण्ड प्रत्येक वर्षामा खाल्डाका कारण क्षतिग्रस्त हुने गरेको छ । त्यसैले लकडाउनको समयमै काम गर्न अनुमति मागिएको विभागले बताएको छ ।

तर अस्फाल्ट पिच गर्न चितवनको जुगेडीबाट कालोपत्रे तयार गरेर ल्याउनुपर्ने अवस्था छ । चितवनको प्रशासनले भने प्लान्ट चलाउन र सवारी आवतजावत गर्न नदिने बताएपछि सडक विभागले काम गर्ने अनुमति दिन ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) मै निवेदन दिएको छ ।

विभागले लकडाउनको अवधिमा चावहिल गौशाला खण्ड पनि सुधार गर्ने गरी अनुमति मागेको छ । यो समयमा सडक खाली भएकाले गाडी नरोकी काम गर्न सकिने भएकाले अनुमति मागिएको विभागका महानिर्देशक शर्माले बताए ।

गौशाला–चावहिल सडक खण्डमा खानेपानीको पाइप फुट्ने समस्या भए पनि नयाँ पाइप फेर्ने काम सकेर अहिले पिचको तयारी भइरहेको छ । ‘हामीले सरकारलाई यो–यो नम्बरका गाडी र यति कामदार सुरक्षा सतर्कता अपनाएर परिचालन गर्छौं भनेर अनुमति मागेका हौं,’ उनले भने, ‘अनुमति प्राप्त भयो भने तत्कालै दुबै सडकखण्डमा पनि सुधारको काम थालिहाल्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment