Comments Add Comment

खुट्टामा घाउ भएको बिरामी पनि जाँच्न मान्दैनन् स्वास्थ्यकर्मी

३० चैत, जनकपुरधाम । वेवारिसे अवस्थामा फेला परेका एक व्यक्ति जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार बिना छट्पटाइरहेका छन् ।

सर्लाहीको गोडैटा नगरपालिका १२ मा वेवारिसे अवस्थामा फेला परेका बिरामीलाई स्थानीय जनप्रतिनिधिको सहयोगमा शनिबार उपचारका लागि यो अस्पतालमा ल्याइए पनि उपचार पाएका छैनन् ।

आफ्नो नाम नइम कबाडी बताउने उनलाई अस्पतालको आकस्मिक कक्षको एउटा कुनामा राखिएको छ । उनको दायाँ खुट्टामा ठूलो घाउ बनेको छ । भन्किरहेको झिंगा धपाउन उनले घाउमा कागज बेरेका छन् । ‘गाउँमा स्वास्थ्यकर्मीले खुट्टा नै काट्नुपर्ने सल्लाह दिएपछि जनप्रतिनिधिको सहयोगमा यहाँ आइपुगेँ’ उनले भने, ‘दुई दिन अगाडि नै आए पनि कसैले हेरेका छैनन् ।’

उनलाई अस्पतालको आकस्मिक कक्षको एउटा कुनामा राखिएको छ, जहाँ अहिलेसम्म एक जना स्वास्थ्यकर्मी पनि पुगेका छैनन् । नाम नबताउने शर्तमा एक जना स्वास्थ्यकर्मीले उनको घाउबाट अत्यधिक गन्ध आइरहेकाले कोही पनि उनको नजिक जान नमानेको बताए ।

कबाडीका अनुसार आफूलाई एक जना प्रहरीले विहान र बेलुका खाना खुवाएका छन् । ‘यहीं बसिरहेको छु, यहीं खाइरहेको छु’ उनले भने, ‘घाउको दुःखाई दिनप्रतिदिन बढ्दै गएको छ ।’

आकस्मिक कक्षको एउटा कुनामा राखेर स्वास्थ्यकर्मी नगएको सन्दर्भमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले अनभिज्ञता प्रकट गरे । उनले यसबारे आफूले बुझ्ने बताउँदै त्यस्तो भए उनको उपचार गराइदिने बताए ।

सशस्त्रले भारत र एसएसबीले नेपाल खेद्ने गरेपछि उद्वार

५७ बर्षीय अविवाहित नइम सर्लाहीको गोडैटा नगरपालिकामा नेपाल तथा भारत दुबैतर्फ भाग्न बाध्य भएका व्यक्ति हुन् । ‘कहिले सशस्त्रले भारततर्फ पुर्‍याउन खोज्ने, अनि एसएसबीले नेपालतर्फ खेद्ने काम सीमामा गरिरहेका थिए’ गोडैटा नगरपालिकाका प्रमुख देबेन्द्र यादवले भने, ‘यस्तो अवस्थामा उनको उद्धार गरी घाउ सफा गरेर उनलाई घर पुर्‍याउन खोजेका थियौं ।’

उनको घर महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका हो । उनी दुई बर्षअघि नै घर छाडेर निस्केका व्यक्ति भएका कारण परिवारले समेत जिम्मा लिन नमानेपछि नगरपालिकाको एम्बुलेन्सबाट जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुर्‍याएको प्रमुख यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment