Comments Add Comment

र्‍यापिड टेस्टले दुर्घटना त निम्त्याइरहेको छैन ?

१ बैशाख, काठमाडौं । शुक्रबार कैलालीको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट निस्किँदै गर्दा भुरुवाका १७ जना निकै खुसी थिए । नहुन् पनि किन ? स्थानीय जनप्रतिनिधिले जोडबल गरेर क्वारेन्टाइनमा राखिएका परिवारका १७ जनाकै कोरोना भाइरस परीक्षणको रिपोर्ट नेगेभिट आएको थियो ।

एउटै परिवार (दाजुभाइ) का उनीहरुलाई वीरगञ्जबाट १७ चैतमा स्थानीय प्रशासनले उद्धार गरेर लम्की पठाएको थियो । सुरुमा उनीहरु आफ्नै घर गएर बसे । तर, छिमेकी विरोध गरे । स्थानीय जनप्रतिनिधिले पनि सबैजना क्वारेन्टाइनमा बस्नुपर्छ भन्न थाले ।

आफ्नै देश, वीरगञ्जबाट आउँदा पनि क्वारेन्टाइनमा बस्नुपर्छ भनिएकोमा उनीहरुलाई चित्त बुझेको थिएन । तर, जनप्रतिनिधिका अगाडि केही लागेन र १९ गते लम्की बहुमुखी क्याम्पसमा बनाइएको क्वारेन्टाइनस्थलमा पुगे ।

यसैवीच, २२ चैतमा धनगढीकी एक स्थानीय महिलामा कोरोना संक्रमण देखियो । त्यसपछि सरकारले क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेस्ट गर्ने निर्णय गर्‍यो । काठमाडौंबाट खटिएको टोली लम्की बहुमुखी क्याम्पसमा पनि पुग्यो ।

त्यहाँ ५२ जना थिए । पहिलो दिन ४४ जनाको टेस्ट भयो । बाँकीको भोलिपल्ट । सबैको रिपोर्ट नेगेटिभ अयो । भुरुवाका १७ जनाको परिवारलाई ठूलो राहत मिल्यो ।

तर, टेस्ट किट परीक्षणको चरणमा नै भएकाले काठमाडौंबाट गएको टोलीले पीसीआर विधिबाट परीक्षण गर्न सबैको नमूना संकलन गरेर काठमाडौं ल्यायो । टोलीले कैलाली र कञ्चनपुरबाट १९६ जनाको नमूना ल्याएको थियो, त्यसमध्ये ६६ जनाको पीसीआर विधिबाट पनि र्‍यापिडमा जस्तै नेगेटिभ रिपोर्ट आयो । त्यसपछि लम्की चुहा नगपालिकाले लम्की बहुमुखी क्याम्पसमा रहेका सबैलाई २८ गते घर पठायो ।

वीरगञ्जबाट आएका १७ जनाको परिवारका छिमेकीसमेत रहेका लम्की बहुमुखी क्याम्पस प्रशासन शाखामा कार्यरत जनकसिंह कुँवर भन्छन्, ‘र्‍यापिड टेस्टमा नेगेटिभ आए पनि उहाँहरु निकै खुशी भएर आउनुभएको थियो ।’

तर, त्यो परिवारको खुसी नयाँ वर्षको बिहानीसँगै भंग भयो । १७ जनामध्ये ६५ वर्षीया वृद्धालाई कोनोना संक्रमण पुष्टि भएको खबर सञ्चार माध्यममा आयो ।

स्थानीय प्रशासनमार्फत त्यो खबर परिवारसम्म पुग्यो । अहिले संक्रमित महिलालाई सेती प्रादेशिक अस्पतालमा लगिएको छ भने १६ जनालाई पुनः क्वारेन्टाइनमै ल्याइएको छ ।

क्वारेन्टाइनमा रहँदा उनीहरु सबै एउटै कोठामा बसेका कारण परिवारका सबै सदस्यलाई पुनः क्वारेन्टाइनमा ल्याएको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्य ललित जैशीले बताए । ‘१७ जना एउटै कोठामा थिए, अरु छुट्टै थिए । त्यसैले उनीहरुलाई फेरि ल्याइएको हो’ जैशीले भने ।

र्‍यापिड किटमा दुर्घटनाको जोखिम

जनस्वास्थ्य विज्ञहरुकाअनुसार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मान्यता नदिएको भए पनि कोरोना संक्रमण समुदायमा भए नभएको पत्ता लगाउन र्‍यापिड टेष्टले मदत गर्छ । त्यसैले नेपालमा पनि केहीले र्‍यापिड टेष्टमा जोड दिँदै आएका छन् ।

तर टेष्ट किट छनोटमा सरकार नराम्रोसाग चुकेको देखिन्न्छ ।ओम्नी समूहसँग गरेको विवादास्पद सम्झौताका कारण ७५ हजार थान एन्टीबडी बेस्डको टेष्ट किट आएको छ र, त्यसबाटै नै अहिले धमाधम परीक्षण भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सोमबारदेखि ५२ जिल्लामा र्‍यापिड किटबाट परीक्षण सुरु भएको छ र अहिलेसम्म ५ हजार २९१ जनाको परीक्षण भएको छ ।

भारत तथा तेस्रो मुलुकहरूबाट आएका कारण स्थानीय तहहरुको क्वारेन्टाइनमा रहेकाहरुको र्‍यापिड किटबाट परीक्षण गर्ने र नेगेटिभ आएपछि घर पठाउने गरिएको छ । र, यसरी नेगेटिभ आएको भनेर घर पठाइएकी महिलामै कोरोना संक्रमण भेटियो । यदि लम्की बहुमुखी क्याम्पसमा बसेकाहरुको पीसीआर विधिबाट परीक्षण नगरेको भए उनीहरु ढुक्कसँग घरमा बस्थे । सामान्य लक्षण देखिँदा पनि शंका नगर्न सक्थे । किनकि, क्वारेन्टाइनबाट कोरोना संक्रमण छैन भनेर पठाइएको छ ।

उनीहरुको त पीसीआर विधिबाट पनि परीक्षण गरिएको थियो र ६५ वर्षीया वृद्धामा भएको संक्रमण समयमै देखियो ।

अरू क्वारेन्टाइनमा बसेकाहरूको पीसीआर विधिबाट परीक्षण गरिएको छैन, र्‍यापिड टेष्ट किटबाट नेगेटिभ आएपछि घर पठाउने गरिएको छ । यसो गर्दा संक्रमित पनि घर गएको रहेछ भने अवस्था गम्भीर हुने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की पनि यो जोखिम रहेको स्वीकार गर्छन् । ‘र्‍यापिट टेस्टमा नेगेटिभ आउनु भनेको कोरोना छैन भन्ने सर्टिफिकेट होइन । र, उनीहरुलाई हामीले निरन्तर निगरानी गर्छौं’ उनी भन्छन्, ‘लम्कीको केसले पनि सबैले थप सतर्कता अपनाउनुपर्ने देखियो ।’

जनस्वास्थ्य वैज्ञानिक डा. समीरमणि दीक्षित भने नेपालमा अहिले समुदायमा गरेर परीक्षण गर्नुको उद्देश्य कोरोना संक्रमण छ कि छैन भने पत्ता लगाउनु भएकाले एन्टीजेन बेस्ड र्‍यापिड टेस्ट उपयुक्त हुने बताउँछन् ।

जबकी नेपालमा प्रयोग भइरहेको एन्टीबडी बेस्ड कीट हो, जुन रोग पहिचानका लागि नभई निगरानीका लागि काम लाग्ने उनी बताउँछन् । उनी भन्छन्, ‘यसले कोरोना लागेको ३-४ दिन लक्षण नदेखाउन सक्छ भने अर्कोतर्फ, निको भएको ६ महिनासम्म पनि पोजेटिभ देखाउन सक्छ ।’

किन भरपर्दो छैन एन्टिबडी टेस्ट किट ?

विश्वमा कोरोना संक्रमितको संख्या दैनिक ५०–६० हजारको दरले बढिरहेको छ । अर्को व्यक्तिमा कति छिटो र सजिलै सर्दोरहेछ भन्ने प्रमाण यही तथ्यांक हो ।

तर एन्टीबडी बेस्ड र्‍यापिड टेष्ट कीटले ३–४ दिनसम्मको कोरोना संक्रमढ पत्ता लगाउन नसक्दा भएकाले कोभिड-१९ को संक्रमण धेरै जनामा पुगिसक्ने जनस्वास्थ्यविदहरूको चिन्ता देखिन्छ ।

यसको अर्को बेफाइदा के छ भने एक पटक कोरोना लागेको व्यक्ति निको भइसकेपछि पनि रिर्पोट पोजेटिभ देखाउन सक्छ । डा. दीक्षितकाअनुसार निको भएको चारदेखि छ महिनासम्म पनि एन्टिबडी टेस्ट पोजेटिभ आउनसक्छ । दीक्षित भन्छन्, ‘अहिले हामी निगरानी होइन भाइरस छ कि छैन भनेर पत्ता लगाउने चरणमा छौं । त्यसैले एन्टिबडीभन्दा एन्टिजेन बेस्ड टेस्ट नै सबैभन्दा उपयुक्त हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment