Comments Add Comment

सुदूरपश्चिमका ३०६५ को कोरोना परीक्षण, ५ बाहेक सबैको रिपोर्ट नेगेटिभ

२ वैशाख, डोटी । सुदूरपश्चिम प्रदेशमा ३ हजार ६५ जनाको कोरोना परीक्षण गरिएकोमा ३ हजार ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको सोमबारसम्मको अद्यावधिक विवरण अनुसार, हालसम्म नतिजा आएकामध्ये पाँच जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । २ हजार ३ सय ९१ जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएकोमा ७ सय ५६ जनाको नतिजा आइसकेको मन्त्रालयले जनाएको छ । सोमध्ये ७ सय ५१ जनामा कोरोना नभएको पाइएको छ । बाँकी १ हजार ६ सय ३५ जनाको रिपोर्ट आउन बाँकी छ ।

यस्तै, यो प्रदेशका २ हजार ३ सय ९ जनामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट गरिएकोमा सबैको नतिजा ‘नेगेटिभ’ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सोमबारसम्म कैलालीमा ९ सय ६०, कञ्चनपुरमा ४ सय ७, बैतडीमा १ सय ३७, डडेल्धुरामा ९, डोटीमा ९ सय ७१, बझाङमा ४ सय ६१, अछाममा १ र बाजुरामा ६३ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकनुसार प्रदेशभित्रका विभिन्न क्वारेण्टाइनमा सोमबारसम्म १ हजार ९७ व्यक्तिहरू रहेका छन् । जसमा ५९ महिला र ५ बालबालिकासमेत छन् । कैलालीमा २ सय ३९, कञ्चनपुरमा २ सय ४, बैतडीमा २ सय ४, दार्चुलामा १ सय ६२, डडेल्धुरामा ८८, बझाङमा ६७, अछाममा १९ र बाजुरामा ६७ जना क्वारेण्टाइनमा रहेको मन्त्रालयको अद्यावधिक प्रतिवेदनले देखाउँछ । डोटी जिल्लामा क्वारेण्टाइनमा रहेका ३ सय ५ जनाको थ्रोट स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरूलाई सोमबार घरमै सुरक्षित बस्ने सर्तमा बिदा गरिएको थियो । प्रदेशभरिमा २ सय ९४ स्थानमा ५ हजार पाँच सय ७२ वेडको सुरक्षित क्वारेण्टाइन तयारी अवस्थामा रहेको समेत प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, सोमबारसम्म विभिन्न जिल्लाका आइसुलेसन वार्डमा १५ जना शंकास्पद व्यक्तिहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment