Comments Add Comment

संक्रमितसँगै आएका तीन जना ढाँटेर घरमै बसे

४ वैशाख, कैलाली । वीरगञ्जबाट कैलाली आएकी एक वृद्धामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले लकडाउनका कारण अलपत्र परेका ३४ जनालाई घर पठाएको थियो । त्यसक्रममा उनी पनि वीरगञ्जबाट कैलालीको लम्की आइपुगेकी थिइन् ।

इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दकाअनुसार वीरगञ्जबाट आएकामध्ये लम्कीचुहा-१ का कोरोना संक्रमण देखिएकी वृद्धासहित १७ जना र ८ का तीन जना थिए । लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेर घर गएपछि कोरोना संक्रमण देखिएपछि ६५ वर्षीया वृद्धालाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ भने परिवारका १६ क्वारेन्टाइनमा छन् ।

तर, वीरगञ्जबाट एउटै गाडीमा आएका तीन जना सम्पर्कमा आएका छैनन् । ‘क्वारेन्टाइनमा बसेर आएका हौँ भनेर उनीहरुले ढाँटे’ वडाध्यक्ष पूर्ण विष्टले भने ‘हामीलाई त संक्रमित वृद्धासँगै आएका हुन् भन्ने पनि जानकारी थिएन ।’

वडाध्यक्ष विष्टकाअनुसार उनीहरु एकै परिवार हुन् । र, अहिले पनि एउटै घरमा बसिरहेको छन् ।

उनीहरुलाई क्वारेन्टाइनमा ल्याउन पहल गरिएको लम्कीचुहा अस्पतालका चिकित्सक प्रकाश तिमिल्सिनाले बताए । ‘संक्रमितसँगै आएकाले घरमा बस्नु भनेको जोखिम मोल्नु हो’ उनले भने, ‘हुन त र्‍यापिड टेस्टमा नेगेटिभ आएको छ, तर क्वारेन्टाइनमा ल्याएर फेरि पीसीआर विधिबाट परीक्षण गर्नु आवश्यक छ ।’

संक्रमितसँगै आएका बर्दगोरिया गाउँपालिकाका पाँच जनालाई भने घर पुगेको १० दिनपछि क्वारेन्टाइनमा राखिएको छ ।

१८ गते गाउँ पुगेका उनीहरुलाई गाउँपालिकाले दुई गते बिहान क्वारेन्टाइनमा ल्याएको थियो ।

सँगैआएकी वृद्धामा संक्रमण देखिएकाले दुई वर्षकी बालिकासहित पाँच जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य शाखा प्रमुख कृष्णदेव जोशीले बताए । उनले भने, ‘र्‍यापिट टेस्टमा नेगेटिभ आएको छ । फेरि परीक्षण गर्ने तयारी गरेका छौँ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment