Comments Add Comment

प्रहरीको डरले उज्यालो नहुँदै मर्निङ वाक

'दिनभरि घर बस्दा उकुसमुकुस हुन्छ'

५ वैशाख, काठमाडौं । लकडाउनका कारण हिजोआज काठमाडौं सहर ढिलासम्म ब्युँझिदैन । तर, काठमाडौं गोकर्णको जगडोल डाँडामा भने बिहान ४ बजे नै कल्याङकुलुङ आवाज सुरु भइसक्छ ।

बस्तीबाट गोकर्णको वनमा प्रशस्तै टर्चलाइट बलेको देखिन्छ । तर, यो आवाज ६ बज्नुअघि नै बन्द भइसक्छ । कोरोना भाइरसको त्रासका कारण सरकारले लकडाउन गरेको पनि २५ दिन भइसकेको छ । तर, हरेक दिन मर्निङवाक गर्ने बानी लागेकाहरू प्रहरीले गस्ती गर्नुअघि नै मर्निङ वाक गरेर फर्किसक्छन् ।

शुक्रबार बिहान ५ बजे जगडोल डाँडामा पुग्दा केही मानिसहरु मर्निङ वाक गरेर घर फर्किरहेका थिए । कोही सल्लाको रुखमुनि बसेर नियमित व्यायाममा गरिरहेका थिए । युवाहरु सिँढी चढ्ने प्रतिस्पर्धा गरिरहेका थिए । वृद्धवृद्धाहरू थकाइ मार्दै सिँढी चढिरहेका थिए ।

अत्तरखेलका रामबहादुर बस्नेत र उनकी पत्नी बिहान ७ बजे मात्र मर्निङवाकमा निस्कने गर्थे । उमेरले ६० कटेका यो दम्पति लकडाउनपछि भने ५ बजे नै मर्निङ वाकमा आउन थाले । उज्यालो भएपछि प्रहरीले घरबाट निस्कन नदिने भएपछि प्रहरी आउनुअघि नै मर्निङ वाक सक्ने गरी उनीहरु चाँडै उठ्न थालेका छन् ।

आफूलाई उच्च रक्तचाप र पत्नीलाई मधुमेहको समस्या भएका कारण बिहान एकछिन हिँडडुल गरेको बस्नेत बताउँछन् । ‘दिनभरि घरमा बस्नुपर्छ हिँडिएन भने प्रेसर बढ्छ, पुलिस आउनुअघि घर नपुगे गाली गर्छ’ उनले भने ।

लकडाउनअघि दैनिक दुई घण्टा पैदल हिँड्ने उनीहरू हिजोआज आधा घण्टामात्र हिँड्छन् । मास्क लगाएर आएका उनीहरु बिहान धेरै भिड नहुने भएकाले कोरोना भाइरसको डर नहुने बताउँछन् ।

बस्नेत दम्पतिभन्दा अलिक अगाडि अर्को एक जोडी थियो । उनीहरू पनि बिहान हिँड्ने बानी छोड्नुभन्दा प्रहरी नआउँदै मर्निङ वाक सक्ने तयारीमा थिए । नाम खुलाउन नचाहेका उनीहरुमध्ये एकले भने ‘अहिले प्रहरीले देख्यो भने दुई घण्टा होल्ड गर्छ । त्यही भएर छिटो गरेर फर्किहाल्छौँ। दिनभरी घरमै बस्नुपर्छ बिहानै हिँडियो भने ताजा हावा खान पाइन्छ, खुट्टाले पनि आराम पाउँछ ।’

एकदिन मर्निङ वाकमा आएका उनीहरुलाई प्रहरीले भेट्दा दुई घण्टा उभ्याएर राखेको थियो ।

गोकणको सिँढीमा दौडिरहेका युवक सैनिक सेवामा लाग्न चाहन्छन् । लकडाउनले दौडने र शारीरिक अभ्यास गर्ने बानी नबिग्रियोस् भनेर बिहान सबेरै आएको उनले बताए । कतिपय भने प्रहरीले अवरोध नगरोस् भनेर ढुंगेधारामा पानी लिन जाने भनेर पानीका भाडा बोकेर मर्निङवाकमा आएका पनि देखिए ।

मर्निङ वाक गर्नेहरु कोरोना संक्रमणको डरभन्दा पनि हिँड्न नपाएकोमा दुख मान्छन्।

मर्निङ वाक गर्नेहरू घटेका छन् : प्रहरी

मर्निङ वार्कमा निस्कने सर्वसाधारण पहिलेभन्दा धेरै घटेका छन् । लकडाउन उल्लङ्घन गरेर मर्निङ वार्क गर्नेहरु पहिलेको तुलनामा घटेको गोकर्ण प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक (सई) प्रभाकरण पुडासैनीले बताए ।

‘हामीले गोकर्ण जगडोलमा बिहानै प्रहरीको टोली खटाउने गरेका छौँ। त्यस्ता सर्वसाधारणलाई दुई घण्टा होल्ड गरेर राख्ने गरेका छौँ’ उनले भने ।

बिहान हिँड्दा कोरोना संक्रमण हुँदैन भन्नेहरु पनि पाइएको पुडासैनी बताउँछन् । ‘बिहानको समय कोरोनाको संक्रमण फैलिँदैन भन्ने उहाँहरुको बुझाइ देखिन्छ। तर, हामीले अहिले निकै कडाइ गरेका छौँ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment