+

मनकारी खेलाडी : पुरस्कारको रकमबाट विपन्नलाई सहयोग गर्ने चाहना

२०७७ वैशाख  ६ गते १०:५१ २०७७ वैशाख ६ गते १०:५१
मनकारी खेलाडी : पुरस्कारको रकमबाट विपन्नलाई सहयोग गर्ने चाहना

६ वैशाख, काठमाडौं । उसु खेलाडी किरण साउदले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जितेवापत सरकारले दिएको पुरस्कारको केही अंश कोरोना महामारीका कारण समस्यामा परेकालाई सहयोग गर्ने बताएका छन् ।

‘मैले सागमा कास्य पदक जितेर ३ लाख पुरस्कार पाएको छु । अहिले पैसा पाएको भन्दा पनि देशको अवस्था हेरेर एकदमै दुखी छु’ किरणले अनलाइनखबरसंग भने ‘अलिकति भए पनि सहयोग गर्न चाहन्छु ।’

उनले कोरोना रोकथाम र महामारीका कारण समस्यामा परेकालाई व्यक्तिगत रुपमै सहयोग गर्ने बताएका छन् । ‘दीनदुखीहरु कतिपयको अहिले कठिन अवस्था छ उनीहरुलाई सहयोग गर्न मन लाग्छ । सामाजिक सञ्जालमा दुख पाइरहेको हरुको बारेमा हेर्दा देख्दा झन् दुख लाग्छ’ उनले भने ।

उनले पुरस्कारको रकममध्ये ५० हजार रुपैयाँ कोरोना महामारी र लकडाउनका कारण समस्यामा परेकाहरुको सहयोगमा खर्च गर्ने बताएका छन् ।
नेपाली सेनाको जागिरे २७ वर्षीय किरण हाल ललितपुरको लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा छन् ।

किरणले उसु खेल्न थालेको ६ वर्ष भयो । उनी ५ वर्षदेखि नेपाली सेनामा कार्यरत छन् । यस्तै चार वर्षदेखि उसुको राष्ट्रिय टिममा समेत छन् । १२ औं सागमा उनको तौल समूहको प्रतिस्पर्धा थिएन । १३ औं सागमा घरेलु भूमिमा उनले स्वर्ण जित्ने लक्ष्य राखेका थिए । चीनमा भएको १५ औं वल्र्ड च्याम्पियनसिपमा पनि उनले राम्रो प्रदर्शन गरेका थिए ।

तर खेल्ने क्रममै घाइते भएपछि कास्य पदकमा चित्त बुझाउनुपरेको थियो । श्रीलंका खेलाडीविरुद्ध खेल्दा उनको लिगामेन्ट च्यातिएपछि उनको सपना अधुरो रह्यो । ‘३० सेकेण्डले गर्दा मै कास्यमै सिमित भएँ । ३० सेकेण्डमा उठ्न सकेको भए मैले रजत जित्थेँ’ उनले भने ।

किरणको घर कन्चनपुर हो । घरमा आमा भाउजु र दुई भतिज छन् । ‘दाइ भारतमा हुनुहुनथ्यो। उनै लकडाउनले गर्दा आउन पाउनुभएन । मेरो आमाले पनि सहयोग गर्दा समर्थन गर्नुहुन्छ’ किरणले भने ।

‘हामी निम्न वर्गकै हौँ तर सहयोग गर्न मन लाग्छ किनकी मैले पनि धेरै दुख गरेको छु । अरको बारेमा थाहा छ त्यसैले सहयोग गर्न मन लाग्छ’ किरणले थपे ।
किरणसहित ३० जना हाल लगनखेलमै छन् । बाहिर निस्कन मिल्दैन । तर उनले त्यहीँबाट सहयोग गर्ने बताएका छन् ।

‘अहिले बाहिर निस्कन मिल्दैन भित्रै छु । कसैलाई गाह्रो परेको छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ मेरो मोबाइल नम्बरमा ९८४९९९५४४२’ उनले भिडियोमार्फत अपिल समेत गरेका छन् ‘म सक्ने सहयोग गर्नेछु ।’

धेरै कमेन्ट गरिएका

लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय