Comments Add Comment

ट्विटरका सीईओको वार्षिक तलब साढे एक डलर मात्रै !

कुल तीन अर्ब ९० करोड डलर सम्पत्ति भएका माइक्रो ब्लगिङ साइट ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीको वार्षिक तलब कति होला ? उनले एक वर्षमा तलब भत्ताबापत कति रकम कमाउँछन् होला ?

धेरैको अनुमान हुनसक्छ कि यी अर्बपतिले ट्विटर कम्पनीबाट वार्षिक लाखौँ डलर तलब थाप्छन् । अनि भत्ता तथा बोनसबापत पनि उति नै रकम कुम्ल्याउँछन् ।

तर, यथार्थचाहिँ पत्याउनै नसकिने खालको छ । ट्विटरका संस्थापक तथा सीईओ डोर्सीको वार्षिक तलब डेढ डलरभन्दा पनि कम छ । र, एक वर्षमा उनले कम्पनीबाट तलब भत्ता तथा बोनस जे भनेपनि कमाउने रकम भनेको त्यही एक डलर ४९ सेन्ट मात्र हो ।

बितेको वर्ष सन् २०१९ मा उनले वार्षिक तलबबापत जम्मा एक डलर ४० सेन्ट बुझेका थिए । सन् २०१८ मा पनि उनले त्यत्ति नै तलब बुझेका थिए । अझ सन् २०१७ मा त उनको वार्षिक तलब शून्य थियो ।

ट्विटरले अमेरिकाको संघीय सुरक्षण तथा एक्सचेन्ज आयोगमा पेस गरेको प्रतिवेदनमा सीईओ डोर्सीकै निवेदनका आधारमा कम्पनीको क्षतिपूर्ति समितिले सन् २०१८ मा जस्तै सन् २०१९ मा पनि उनलाई कुनै पनि बोनस वा भत्ताबापतको रकम प्रदान नगर्ने तथा आधारभूत वार्षिक तलब एक डलर ४० सेन्टमात्र प्रदान गर्ने कुरा पारित गरेको हो ।’

यद्यपि ट्विटर सीईओ डोर्सी तलब नै नलिने वा एक डलर मात्र वार्षिक तलब बुझ्ने एक्लो सीईओ भने होइनन् । अमेरिकाका ठूला प्रविधि कम्पनीका सीईओहरूमध्ये कतिपयले तलब नै नलिने गरेका छन् भने कतिपयले केवल एक डलर मात्र बुझ्ने गरेका छन् ।

तर, आधारभूत तलब नलिएपनि भत्ता वा बोनसबापत भने उनीहरूले प्रसस्त पैसा कमाउँछन् । अझ उनीहरूको नाममा रहेको सेयरको बिक्री तथा सेयरको मूल्यमा भएको वृद्धिका कारण उनीहरूको वार्षिक कमाइ करोडौं डलर हुन्छ ।

टेस्ला कम्पनीका सीईओ इलोन मस्कले कम्पनीबाट कति पनि तलब बुझ्दैनन् । तर, कम्पनीको मुनाफाका आधारमा उनले बोनस तथा भत्ताबापतको रकम बुझ्ने गरेका छन् ।

स्मरण रहोस् ट्विटरका सीईओ ज्याक डोर्सीले हालै कोरोना भाइरस महामारीविरुद्धका क्रियाकलाप तथा कार्यक्रमहरूका लागि एक अर्ब डलर आर्थिक सहयोग गर्ने घोषणा गरिसकेका छन् ।

कोरोनाविरुद्धको लडाइँमा डोर्सीमात्र नभई गुगलका सीईओ सुन्दर पिचाई तथा अमेजनका सीईओ जेफ बेजोसले समेत सहयोग राशिको घोषणा गरिसकेका छन् । पिचाइले १० लाख डलर तथा बेजोसले १० करोड डलर सहयोगको घोषणा गरेका छन् ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment