
६ वैशाख, काठमाडौं । पूर्वी नेपालको फूलबारी नाकाबाट थोरै दुरीमा रहेको सार्क राष्ट्र बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरू त्यहाँ कोरोनाको संकट बढ्दै जाँदा त्रस्त बनेका छन् । उनीहरू चाँडोभन्दा चाँडो नेपाल फर्कन चाहन्छन् ।
कोरोना संक्रमण फैलिन थालेपछि बंगलादेश सरकारले त्यहाँ गत मार्च २६ देखि देशव्यापी लकडाउन घोषणा गरेको छ । तर, लकडाउनको राम्ररी पालना भएको छैन । अहिले पनि सडकमा आवागमन बाक्लै रहेको स्थितिमा कोरोनाको प्रकोप फैलिनसक्ने आशंकाले नेपाली विद्यार्थीहरु चिन्तित बनेका हुन् ।
ढाकाको युनिभर्सिटी डेन्टल कलेजमा अध्ययनरत विद्यार्थी गरिमा सुवेदीले आफूहरू अन्योल र त्रासको अवस्थामा रहेको बताइन् । अनलाइनखबरसँग टेलिफोन सम्पर्कमा उनले भनिन्, ‘नेपालमाभन्दा कोरोनाको संक्रमण यहाँ धेरै बढी छ । हामी आफ्नै देश फर्कन चाहन्छौं।’
कलेजको होस्टलमा बस्दै आएकी गरिमाले आफूसँगै करिब डेढ दर्जन नेपाली विद्यार्थी त्यहाँ रहेको बताइन् । उनीहरुमध्ये ११ जना छात्रा छन् । उनीहरुको अन्तिम वर्षको परीक्षा चलिरहेको थियो, तर लकडाउनले रोकियो ।
‘हाम्रो परीक्षा चलिरहेकाले चाँडै नेपाल फर्कन पाएनौँ, परीक्षा रोकिँदासम्म नेपालमा लकडाउन भइसकेको थियो,’ गरिमाले सुनाइन् ।
आफ्नो कलेजमा अध्ययन गर्ने अरु सबै विदेशी विद्यार्थीहरूलाई सम्बन्धित देशले नै प्रवन्ध मिलाएर घर फर्काइसकेको उनले बताइन्। गरिमाका अनुसार होस्टलमा अब विदेशी भनेको नेपाली विद्यार्थी मात्रै छन् ।
‘भुटानले समेत प्लेन चार्टर गरेर आफ्ना विद्यार्थी फिर्ता लग्यो, हाम्रो चाहिँ अहिलेसम्म केही पहल भएको छैन,’ उनले भनिन् ।
बंगलादेशमा ३/४ हजारको संख्यामा नेपाली विद्यार्थीहरू अध्ययनरत छन् । कोरोनाको त्रास बढ्दै गएपछि अधिकांश विद्यार्थी घर फर्किएको नेप्लिज मेडिकल स्टुडेन्ट एसोसिएसनका अध्यक्ष नवीन यादवले बताए ।
यादवका अनुसार अहिले करिब सात सय नेपाली विद्यार्थी मात्र बंगलादेशमा छन् । शैक्षिक संस्थाहरू सबै बन्द रहेका र सरकारले लकडाउन गरेकाले विद्यार्थीहरु आ–आफ्नो होस्टलभित्रै बसिरहेका छन् ।
‘अहिले यहाँ सात सय जति विद्यार्थीहरू छौँ, सबैजना तत्काल नेपाल फर्किन चाहन्छन् किनकी यहाँ संक्रमणको जोखिम उच्च छ,’ यादवले भने ।
नेपाल फर्किने प्रवन्ध मिलाइदिन विद्यार्थीहरुले ढाकास्थित नेपाली दूतावास र नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई तीन दिन अगाडि पत्र पठाएका थिए । तर, ठोस जवाफ आएको छैन ।
‘सरकारले आफ्नो खर्चमा लैजान सक्दैन भने हामी आफैँ टिकट काटेर फर्कन तयार छौँ । तर, जहाजको व्यवस्था सरकारले गरिदिनुपर्यो,’ यादवले भने ।
बंगलादेशले नेपालबाट प्लेन चार्टर गरेर आफ्ना नागरिक फिर्ता ल्याएको उनले स्मरण गरे ।
‘बंगलादेशले नेपालबाट जहाज चार्टर गरेर मानिसहरु ल्याएको सुन्यौँ । त्यही जहाजमा हामीलाई यताबाट लैजाने व्यवस्था गरेको भए हुने थियो,’ उनले भने ।
बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरूमा अहिले कोरोनाको त्राससँगै आर्थिक समस्या पनि देखिन थालेको छ । ‘अन्य देशहरुमा जस्तो विद्यार्थीहरुले काम गर्दै पढ्ने अवस्था यहाँ हुन्न’ बंगलादेशमा रहेका सबै नेपाली विद्यार्थी नेपालबाटै ल्याएको खर्चले पढिरहेको यादवले सुनाए ।
‘यहाँ हामीले काम गर्न पाउँदैनौँ । उताबाट ल्याएको वा पठाएको पैसाले नै चल्नुपर्छ । त्यो पनि भन्नेबित्तिकै पैसा मगाइहाल्न सकिँदैन,’ उनले भने ।
यादवका अनुसार बंगलादेशमा बैङ्किङ च्यानलबाट पैसा पठाउन सकिँदैन । त्यसैले सुरुमा आउँदा नै प्रशस्त पैसा ल्याउनुपर्छ । बीचमा कोही साथीहरु आउने–जाने भएमा उनीहरूमार्फत पैसा मगाउन सकिन्छ । नत्र अरु उपाय छैन ।
‘अहिले केही साथीहरूलाई पैसा सकिएर समस्या भएको छ । अहिलेसम्म त हामीले आफूहरूसँग भएको पैसा आपसमा बाँडेर पनि काम चलाइरहेका छौँ,’ यादवले अनलाइनखबरसँग भने, ‘तर, सबैसँग सकियो भने अप्ठ्यारो स्थिति आउनेछ ।’
ढाकास्थित नेपाली दूतावासले आफूहरूको समस्यालाई खासै ध्यान नदिएको नेपाली विद्यार्थीहरुको गुनासो छ । कसैले फोन गर्यो भने ‘जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित रहनुस्’ भन्ने सन्देश दिइन्छ ।
पैसाको अप्ठ्यारो परेमा हामीलाई सम्पर्क गर्नुस् भनेर दूतावासले भनेको छ । तर, अहिलेसम्म २–३ जना विद्यार्थीले मात्र दूतावासबाट सहयोग पाएको यादवले बताए ।
विद्यार्थीहरु नेपाल फर्केर १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्न तयार रहेको बताउँछन् । गरिमाले भनिन्, ‘हामी यहाँ पनि धेरै दिनदेखि क्वारेन्टाइनमै छौँ । नेपाल फर्केर पनि क्वारेन्टाइन बस्न तयार नै छौँ । सरकारले केवल हामीलाई घर फर्किने व्यवस्था मिलाइदिए हुन्थ्यो ।’
के भन्छ पररराष्ट्र मन्त्रालय ?
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले बंगलादेशका विद्यार्थीहरुबाट परराष्ट्रमा कुनै लिखित पत्र नआएको बताउँछन् । उनले सबै देशमा रहेका नेपाली दूतावासलाई त्यहाँ रहेका नेपालीहरुलाई आवश्यक समन्वय र सहयोग गर्न भनिएको स्मरण गराए ।
‘हामीले बंगलादेश मात्र होइन, अरु सबै देशका दूतावासलाई भनेका छौँ। अरु कुरा मेरो जानकारीमा छैन,’ पौडेलले भने ।
यस विषयमा कुराकानी गर्न बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रलाई बारम्बार फोन सम्पर्कको प्रयास गर्दा उनले फोन उठाएनन् ।
बंगलादेशको ताजा अवस्था
बंगलादेशमा कोरोनाले महामारीको रुप लिइनसकेको भए पनि संक्रमण बढ्दो क्रममा छ । बिहीबारसम्मको आँकडामा त्यहाँ १५ सय ७२ जना संक्रमित भेटिएका छन् भने ६० जनाको कोरोनाबाट मृत्यु भएको छ । ४९ जना निको भएका छन् ।
बंगलादेशको सरकारले लकडाउन घोषणा गरे पनि त्यसको राम्ररी पालना भएको छैन । सडकमा मानिसहरू बाक्लै हिँडिरहेका छन् । पसलहरू पनि धेरै खुलेका छन् ।
गरिमाले भनिन्, ‘नेपालमा जस्तो कडा लकडाउन यहाँ छैन । मानिसहरु निस्फिक्री हिँडिरहेका छन् । त्यसैले संक्रमणको त्रास धेरै छ ।’
लकडाउन भएपछि अधिकांश कलेजका होस्टलहरुले विद्यार्थीहरूलाई खाना खुवाउन छोडेका छन् । त्यसैले खाद्य सामग्रीको जोहो विद्यार्थी आफैँले गर्नुपर्ने अवस्था रहेको यादवले बताए । अहिले बजारमा खाद्य सामग्रीको अभाव नदेखिएको भए पनि निकट भविष्यमा संकट आउन सक्ने उनको चिन्ता छ ।
प्रतिक्रिया 4