Comments Add Comment

एप्पलको नयाँ आइफोन सार्वजनिक, के के छन् फिचर्स ?

अमेरिकी कम्पनी एप्पलले आफ्नो नयाँ आइफोन सार्वजनिक गरेको छ । आफ्नो सुपथ मूल्यको आइफोनका रूपमा एप्पलले iPhone SE (2020) सार्वजनिक गरेको हो । बहुप्रतिक्षित यो नयाँ फोन सन् २०१६ मा लञ्च भएको आइफोन एसइको नयाँ भर्सनको रूपमा रहेको छ । यसमा ४.७ इन्चको स्क्रिन रहेको छ । जबकी चार वर्षअघिको आइफोन एसइको स्क्रिन ४ इन्च रहेको छ । यो फोनको मूल्य ३ सय ९९ डलर तोकिएको छ ।

यसअघि मार्च महिनामै नयाँ आइफोन सार्वजनिक हुने भनिएको भएपनि कोरोना भाइरस महामारीका कारण आइफोन एसइ २०२० सार्वजनिक हुन केही ढिलो भएको हो ।

आइफोन एसइ २०२० को डिजाइन आइफोन एट जस्तै रहेको छ । आइफोन एस इ २०२० सँगै आइफोनमा होम बटनको पुनरागमन पनि भएको छ । साथै यो फोनमा फेस आइडीको साटो टच आइडी रहेको छ । स्मरण रहोस् एप्पलले सन् २०१७ मा लञ्च गरेको आइफोन एक्स सिरिजबाटै होम बटनलाई विदाई गरेको थियो । एप्पलका अनुसार सेन्सरलाई जोगाउन तथा होम बटनलाई मजबुत बनाउनका लागि सफाएर क्रिस्टलको प्रयोग गरिएको ।

आइफोन एसइ २०२० मा एप्पलको ए१३ प्रोसेसर रहेको छ । यो एप्पलको सबैभन्दा शक्तिशाली प्रोसेसर हो जुन आइफोन ११ सिरिजमा प्रयोग भएको छ । यसको अर्थ एप्पलको यो सस्तो फोन उसका आइफोन ११ सिरिजका महंगा फोनजस्तै फास्ट हुनेछ ।

यो आइफोनमा १२ मेगापिक्सेलको मूख्य क्यामरा हुनेछ जसले फोर के भिडियो रेकर्ड गर्न सक्दछ । त्यस्तै यो फोनमा ७ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ । क्यामरामा खिचिएका तस्वीरहरू एप्पलको स्मार्ट एचडिआर अल्गोरिदमबाट परिस्कृत गर्न सकिनेछ, तथापि क्यामरामा नाइट मोड भने उपलब्ध छैन ।

इन्टर्नल स्टोरेजका आधारमा यो नयाँ आइफोन ६४, १२८ र २५६ गरी तिन प्रकारको उपलब्ध हुनेछ ।

यो फोनको डिस्प्ले आइपिएस एलसिडी डिस्प्ले रहेको छ जसको रिजोलुसन क्षमता १३३४ गुणा ७५० पिक्सेल रहेको छ । आइफोनको डिस्प्लेले Dobly Vision तथा HDR10 पनि सपोर्ट गर्नेछ ।

यो फोनसँगै ५ वाटको सानो चार्जिङ एडाप्टर उपलब्ध हुनेछ । तर छिटो चार्जिङका लागि १८ वाटको एडाप्टर पनि प्रयोग गर्न सकिनेछ । साथै यो फोनले वायरलेस चार्जिङ पनि सपोर्ट गर्ने बताइएको छ ।
नयाँ आइफोन कालो, सेतो र रातो गरी तीन रङमा उपलब्ध हुनेछ ।

अमेरिकामा यो नयाँ आइफोनको प्रि अर्डर अप्रिल १७ बाट सुरु हुने र आगामी अप्रिल २४ देखि बजारमा उपलब्ध हुने बताइएको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment