Comments Add Comment
खाडी, मलेसिया र अष्ट्रेलियाका नेपालीको अवस्था :

‘कामबाट निकालेका छैनन्, तर भोलि के हुन्छ अनुमान गर्न सकिन्न’

दूतावासको पूर्वतयारी के हुँदैछ ?

५ वैशाख, काठमाडौं । काम र माम नपाएपछि रातारात राजधानी छाडेर पैदल हिँडिरहेका केही हजार श्रमिकलाई व्यवस्थापन गर्न नसकिरहेको सरकारले मध्यपूर्व र मलेसियामा रहेका करीव १५ लाख नेपाली श्रमिकलाई स्वदेश ल्याउन सक्ला ? यो अवस्था आइसकेको छैन । तर, सरकारले यसबारेमा सोच्ने बेला भने हुँदैछ ।

सरकारले जो जहाँ छौं, त्यहीँ सुरक्षित बसौं भनिरहेको छ । तर, श्रम गन्तव्यमा रहेका नेपालीहरु आत्तिन थालिसकेका छन् ।

अहिले कसैले पनि सरकारलाई लाखौं श्रमिक नेपाल फर्काऊ भन्न सक्दैन । किनकि त्यो व्यवहारिक पनि छैन । तर, उनीहरुको सुरक्षा र भोकै नपरुन् भन्नेतर्फ सरकारले के गरिरहेको छ ? यो अहिलेको मुख्य प्रश्न हो ।

अहिले सरकारले विदेशमा रहेका श्रमिकलाई फिर्ता ल्याउने हो भने हजार होइन, लाखौं नेपाली फर्किन आतुर छन् । त्यो कति सम्भव छ भन्नेबारे बहस जरुरी छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार सरकारले खाडीलगायत मध्यपूर्व र मलेसियासहितका श्रम गन्तव्य मुलुकका सरकार प्रमुखकै तहमा कुराकानी गरिरहेको छ । ती मुलुकमा रहेका नेपालीलाई कुनै शर्त नराखी समान व्यवहार गर्न आग्रह गरिएको छ । यसबीचमा प्रधामन्त्रीले समेत साउदी राजकुमार लगायतसँग टेलिफोन संवाद गरेका छन् ।

सम्बन्धित मुलुकका सरकारले नेपालको आग्रह र चासोलाई सम्बोधन गर्दै पूर्ण सहमति जनाएको पनि ज्ञवालीले बताएका छन् । सरकारले अप्रिल महिनाभर जो जहाँ छौं त्यहीँ धैर्यपूर्वक रहन आग्रह गर्दै त्यसपछि परिस्थितिका जटिलता हेरेर निर्णय लिने भनेको छ ।

सरकारले आफ्ना नागरिकलाई कुनै पनि हालतमा अलपत्र हुन नदिन र भोकै बस्न नदिनका लागि दूतावासमार्फत गैरआवासीय नेपालीसहित नेपाली संघ संगठन मार्फत सहयोगको व्यवस्था मिलाएको मन्त्री ज्ञवाली बताउँछन् । अहिलेसम्म ती श्रम गन्तव्यहरुमा ठूलो समस्या नेपालीले भोगिसकेका छैनन् ।

सर्बोच्च अदालतले विहीबारमात्रै विदेशमा रहेका नेपाली श्रमिकहरुको सम्बन्धमा अन्तरिम आदेशमार्फत समस्या परेका नागरिकलाई स्वदेश फर्काउन आवश्यक व्यवस्था गर्न भनेको छ ।
यो पनि पढ्नुहोस खाडीका नेपालीको संकट : कसैको तलब आउन छाड्यो, कतिले खाना किन्न पाएनन्

सरकारको अहिलेको प्राथमिकता चाहिँ नेपाली श्रमिकहरु जुन देशमा छन्, त्यहीँ सुरक्षित राख्ने र त्यसका लागि सम्बन्धित देशका सरकारलाई आग्रह गर्नेमा केन्द्रित देखिएको छ ।

मन्त्री ज्ञवालीले सम्बन्धित देशका समकक्षीसँग कुराकानीपछि हाम्रा दूतावासहरुमार्फत अभर परेका नेपालीहरुको विवरण लिने र उनीहरुलाई तत्कालै खाने बस्ने व्यवस्था गराउन निर्देशन दिएका छन् ।

हामीले खाडीलगायत मलेसिया र अष्ट्रेलियामा रहेका नेपाली श्रमिक तथा विद्यार्थीहरुको पछिल्लो अवस्थाबारे बुझ्ने प्रयास गर्दा अहिलेसम्म ती ठाउँमा ठूलो खानै नपाउने बिचल्लीको अवस्था देखिएको छैन । केही व्यक्तिको समस्या समाधानमा दूतावास, गैरआवासीय नेपाली संघ र सम्बन्धित देशका सरकारमार्फत पहल भइरहेको छ ।

दूताबासका अधिकारीहरुका अनुसार ठूला कम्पनीहरुले अहिलेसम्म कामदारलाई कामबाट निकालेका छैनन् र बेसिक तलब पनि दिइरहेको जानकारी प्राप्त भएको छ । कोभिड १९ संक्रमित नेपालीको उपचारमा सम्बन्धित देशका सरकारले कुनै कमजोरी गरेका छैनन् र धेरै नपालीहरु जहाँ छन् त्यहीँ पुगेर परीक्षण पनि भइरहेको छ । बहराइन बाहेक अन्य मुलुकमा नेपालीहरुमा ठूलो संख्यामा संक्रमण भएको छैन ।

देशको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने रेमिट्यान्स पठाइरहेका आफ्ना नागरिकको सुरक्षाप्रति सरकारले अझै पहल बढाउनैपर्छ । यदि यो अवस्था लम्बिरहेको अवस्थामा कम्पनीहरुले कामदार हटाउने र आफ्नै देश जाउ भन्ने दबाव गन्तव्य मुलुकबाट भयो भने के गर्ने ? त्यो विकल्पबारे पनि सरकारले अहिलेदेखि नै पूर्वतयारी गरिहाल्नुपर्ने देखिन्छ ।

खाडी मुलुकका मिडियामा विदेशी कामदारलाई आ–आफ्नो देशमा लैजान सरकारहरुले आग्रह गरेको भनेर समाचार आए पनि परराष्ट्र मन्त्रालयले अहिलेसम्म कुनै मुलुकले त्यस्तो जानकारी नदिएको बताएको छ ।

सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासमा पनि कुनै सरकारले यस्तो भनेका छैनन् । तर, स्वेच्छाले स्वदेश फर्किन चाहनेलाई नरोक्नु भनेर त्यहाँका सरकारले रोजगारदाता कम्पनीलाई निर्देशन दिएका छन् । नेपाली श्रमिकले पनि अहिलेनै कम्पनीले निकालेको र खानै नपाएको अवस्था नरहेको बताएका छन् ।

खाद्यान्न, औषधी, सेक्युरिटी लगायतका अत्यावश्यक सेवामा कार्यरत नेपालीहरु नियमित काममा छन् । अरु कम्पनीले काम बन्द गरे पनि कामदारलाई बस्न खान र तलब सुबिधा रोकेका छैन । तर, ती कम्पनीले कहिलेसम्म धान्न सक्छन् ? त्यसैले विकल्प सोच्दै गर्नुपर्ने हन्छ ।

नेपालका प्रमुख श्रम गन्तव्य खाडी तथा मलेसिया र विद्यार्थीहरुको संख्या धेरै रहेका अष्ट्रेलियास्थित नेपाली दूतावासहरु आफ्ना नागरिकको समस्या र उनीहरु बिचल्ली परेको अवस्थाको कसरी जानकारी लिइरहेका छन् ? समस्यामा परिसकेकाहरुलाई कसरी राहत दिइँदैछ ? भोलि ठूलो संख्यामा भोकभोकै अलपत्र पर्ने अवस्थाको तयारी के छ ?

यी प्रश्नहरुको जवाफ खोज्ने क्रममा हामीले नेपाली दूतावासका अधिकारीहरु, कामदार पठाउने एजेन्सी र कतिपय ती देशमा कार्यरत श्रमिकसँग कुराकानी गरेका छौं । अहिलेसम्मको अवस्थाका बारेमा सम्बन्धित पक्षका भनाइ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।

दुबईमा कामदार हटाइएका छैनन्, अवस्था राम्रो छ
कृष्णप्रसाद ढकाल, राजदूत, संयुक्त अरब इमिरेट्स

युएई सरकारले नेपाली कामदारहरुलाई लैजाउ भनेर औपचारिकरुपमा जानकारी प्राप्त भएका छैन । सबै कम्पनी बन्द छैनन्, केही बन्द भएका छन् । केही समस्या देखिएकामा ठाउँमा युएई सरकारका निकाय, नेपाली समुदायसँग हातेमालोबाट एनआरएन लगायतका साथीहरुले सघाइरहेका छन् ।

बन्द भएका कम्पनीहरुले पनि कामदारहरुलार्ई खान बस्न दिइरहेका छन्, भयावह अवस्था आइसकेको छैन । यहाँ नेपाली २ लाख ७५ हजार छन् । सबैलाई अहिले नेपाल ल्याउन अवस्था हुँदैन । यहाँ ११ जना नेपालीमा संक्रमण भेटिएकोमा सबैको अवस्था सामान्य छ । दुईजना फर्किसकेका छन्, ९ जनाको उपचार हुँदैछ ।

दुबईको रोजगारीमा कस्तो असर गर्छ भन्ने कुराचाहिँ कोभिड १९ को संक्रमण कस्तो र कति लामो समय रहन्छ भन्ने कुरामा भर पर्छ । आर्थिक राहतका प्याकेज कस्ता आउछन्, युएईका लगानी साझेदार, ब्यापार साझेदारहरुसँगको प्रभाव कस्तो पर्छ भन्ने हेरेरमात्र भन्न सकिन्छ । अहिले नै हाम्रा कामदार फिर्ता गर्ने वा हटाउने कुरा छैन ।

हाम्रो सम्माननीय प्रधानमन्त्री स्वयंले यहाँका युवराजसँग कुरा गर्नुभएको छ । हामी यहाँको सरकारसँग नियमित सम्पर्कमा छौं र हाम्रा नागरिकसँग पनि सम्पर्कमै रहिरहेका छौ. । सम्बन्धित ठाउँबाट महत्वपूर्ण साथ सहयोग प्राप्त भइरहेको छ । यहाँ ६ लाखभन्दा बढीको परीक्षण भइसकेको छ, जुन संसारमै धेरै परीक्षण गर्ने देशभित्र पर्छ ।

अहिले नै नेपाली जो कम्पनीमा सम्झौता गरेर आएका छन्, उनीहरु बेखर्ची भइसकेका छैनन् । सानातिना समस्याको समाधान गरिरहेका छौं । तलब अहिले अधिकांशले पाइरहेका छन् ।

हामी भाग्यमानी हौं, साउदीले राम्रो गरेको छ
महेन्द्र सिंह, नेपाली राजदूत, साउदी

नेपाली कामदार दुई चारजनामा समस्या आएको छ र सम्वोधन पनि गरेका छौं । साउदीमा करीव ३ देखि साँढे ३ लाख नेपाली छन् । हामीलाई हाम्रा नागरिक लैजाउ भनेर यहाँको सरकारले भनेको छैन । यहाँका सरकारी च्यालनहरुसँग नियमित सम्पर्कमा छौं ।

सबै कामदार कामविहीन भइसकेका छैनन् । महामारी आउनुअघि नै स्वदेश जान चाहान्छौं जाउ भन्यो । उसले सर्कुलर जारी पनि गरेको हो । महामारी आउनुअघि नै स्वदेश फर्किन चार पाँच सय मजदुर थिए । हामीले पठाउन खोजेका थियौं,एक्कासी लकडाउन भयो । अहिलेनै यहाँ श्रमिकको अवस्था विकराल भइसकेको छैन ।

यहाँ अहिलेसम्म चारजनामा संक्रमण भएकोमा एकजना निको भइसके । आपत विपत परे दूतावासले सहयोग गर्छ । यहाँ नेपाली कामदारको परीक्षण पनि भइरहेको छ । हामी भाग्यशाली हौं कि साउदी सरकारले मेडिकल सुविधा, इमरजेन्सीमा सम्बोधन र डाक्टर सेवा पनि फस्र्ट क्लास दिइरहेको छ । केही परे तुरुन्तै एम्बुलेन्स आउँछ ।

अहिलेसम्म त संक्रमित श्रमिकको ठूलो समस्या छैन । तर, यो लम्बिँदै गाये भने भन्न सकिन्न । हाम्रा नागरिकलाई कुनै कम्पनीले बसेको ठाउँबाट निकाल्ने सूचना आएको छैन । कतिपय साना कम्पनीहरु बन्द भए । कामदारलाई अलपत्र पारेका छन्, उनीहरुलाई हामीले खाने बस्ने सुविधा एनआरएनसँग मिलेर यहाँको सरकारको समेत सहयोग लिएर मिलाउँछौं ।

कम्पनीले पनि फोन गरेको छैन, कार्यरत कर्मचारी श्रमिकाबट फाटफुट आएको छ, काम बन्द भयो, तलब आएको छैन, कसरी बस्ने भन्ने फाटफुट समस्या आउन लगाको छ ।

कतारले आफ्नै नागरिकसरह व्यवहार गरेको छ
नारद वाग्ले, नेपाली राजदूत कतार

यहाँको सरकारको नियमअनुसार संक्रमितको संख्या राष्ट्रियता जनाएर नदिने भन्ने नीति छ । संक्रमितलाई कुनै पनि देशको भनेर छुट्याउँदैन । सम्बन्धित देशको राजदूतलाई तपाईको नागरिक संक्रमित छन्, तर उनीहरुको अवस्था यस्तो छ भनेर जानकारी दिन्छन् ।

नेपालीको संख्या कतारमा ३ लाख ५१ हजार हो । बीचमा केही डिपोटमा पनि परे विदामा घर गए होलान् । यहाँका सरकारले नेपाली नागरिकलाई लैजाऊ, फर्काऊ भनेको छैन । बरु यहाँको सरकारले हामी हाम्रा नागरिक र आप्रवासीमा भेदभाव नगरी संरक्षण गर्छांै, विरामीको उपचार गर्छांै भनेको छ ।

कम्पनी बन्द भएपछि जो कामबाट हटेका छन्, जागिर छुटेको छ, उनीहरुलाई खान र बाँकी समयको तलब पनि दिन्छौं भनेका छन् । अहलेसम्म तलब नपाएको उजुरी परेको छैन । साना कम्पनी आफैं घाटामा गएर चलाउन नसकेर कर्मचारीसँग् आफंै नेगोसियसन गरेर बेतलबी बिदामा बस भनेर राखेका छन् ।

कम्पनीको जागिर गुम्ने डरले विरोध पनि गर्न नसक्ने, खान बस्नेको पनि समस्या हुने मान्छे देखिएका छन् । उनीहरुलाई एनआरएन र नेपाली प्रवासी संघ मिलेर समाधान गरिरहेका छौं । बिचल्लीमा परेकालाई खान व्यवस्था गरिएको छ ।

कतार च्यारिटी भन्ने ठूलो संस्था छ, सामाजिक कल्याणकारी संस्था हो । लकडाउनमा परेका देखि कुनै पनि विपतमा परेकालाई खाद्यान्न सहयोग गरिरहेको छ । जो जहाँ खान नपाएर बसेको छ, त्यहाँसम्म नेपाली सामाजिक संस्थाले पुराउने अवस्था छ । लकडाउनमा परेकालाई सरकारले आर्फैले हेर्छ ।

यहाँका ठूला कम्पनीले कामदारलाई कामबाट निकालेका छैनन् । भविश्यमा के हुन्छ भन्ने अनुमान गर्न सकिन्न । तर, अहिलेसम्म कतारमा आमरुपमा नेपाली कामदारको अवस्था राम्रो छ । तर, पनि आत्तिनु त स्वभाविक नै हो ।

कम्पनीहरुसँग कुरा गरिरहेका छौं
पदम सुन्दास, राजदूत, बहराइन

बहराइनमा करीव ३० हजार नेपाली श्रमिक कार्यरत छन् । अहिलेसम्म २२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएकोमा सबैजनाको अवस्था सन्तोषजनक छ । एकजना संक्रमितसँग आजै विहान मैले टेलिफोनमा कुरा गरेँ । उहाँ म ठीक छु भन्दै हुनुहुन्थ्यो ।

यहाँ अहिलेसम्म १५/२० जना श्रमिक साथीहरु खानै पाइएन, कम्पनीले निकाल्यो भनेर सम्पर्कमा आउनुभयो । उहाँहरुको खाने–बस्ने व्यवस्था मिलाइएको छ । यहाँका सरकारी संयन्त्र, नेपाली समुदायसँग मिलेर दूतावासले खाने बस्ने व्यवस्था मिलाउँछ ।

अहिलेसम्म बहराइन सरकारले तिम्रा नागरिक लैजाऊ भनेर हामीलाई भनेको छैन । हामीले कम्पनीहरुसँग कुरा गरेर नेपाली श्रमिकको सुरक्षा र गाँसबासको व्यवस्था गर्न भनेका छौं । समस्या भएका ठाउँमा कम्पनीसँगै कुरा भइरहेको छ । हाम्रा श्रमिकलाई बिचल्ली पार्न पाउँदैनौ भनेका छौं ।

अब यो अवस्था कहिलेसम्म जान्छ र भोलि के हुन्छ भन्न सकिन्न । तर, अहिलेसम्म नेपालीहरुलाई कम्पनीबाट निकाल्ने, खानै नपाउने अवस्था आइसकेको छैन । हामी निरन्तर सम्पर्क र यहाँको सरकारसँग पनि संवादमा छौं ।

विद्यार्थीलाई अष्ट्रेलियाले नेपाल जाउ भनेको छैन
द्रुपदा सापकोटा, कन्सुलर, नेपाली दूतावास अष्ट्रेलिया

अष्ट्रेलियामा अहिलेसम्म नेपालीहरु समस्यामा परेका छैनन् । सरकारले जाउ भनेको पनि होइन । जो पर्यटक भिसामा आएका थिए घुम्दा घुम्दै लकडाउनका कारण स्टक भए उनीहरुलाई गाह्रो परे आफ्नो देश जानसक्छौ भनेको हो । विद्यार्थीहरुलाई पनि घर जान सक्छौ भनेको हो तर जाउ भनेको होइन ।

हामीले रोजगारी गुमाएर काम नपाएर आपतमा परेकाहरुलाई सघाउन इमरजेन्सी रजिष्ट्रेसन फारम अनलाइनबाटै भराएका छौं । केहीले भर्नुभएको छ र यहाँका स्थानीय सामाजिक संस्था, नेपाली समुदाय र रेडक्रस लगायतले खाना उपलब्ध गराउँछन् ।

धेरै सामाजिक संस्थाहरुले खाना अफर गरेका छन् । हाम्रो मान्छे भोकै हुने अवस्था छैन । अझ पनि कतिपयले काम गरिरहेका छन । अभिभावकले पनि काठमाडौंबाट पठाउने अवस्था छ । अहिले दूतावासले भनिहाल्नुपर्ने अवस्था आइसकेको छैन । यहाँको लोकल सपोर्ट राम्रो छ । सरकारले रेडक्रसलाई अस्थायी भिसामा भएकालाई सहयोग गर्ने भनेको छ ।

रोजगारी खोसिएको वास्तविक डाटा छैन । हाम्रा मान्छे होटल रेष्टुरेन्टमा धेरै काम गर्थे । त्यहाँचाहिँ काम रोकिएको छ । तर, हेल्थ सेक्टरमा काम गर्नेको झन धेरै काम छ । सुपर मार्केट, ग्रोसरी, सार्वज्निक यातायातमा काम गर्नेको पनि रोकिएको छैन । अष्ट्रेलियाले बिस्तारै होटल रेष्टरेरन्ट चाँडै खोल्छ भन्ने सुनिँदैछ ।

अहिले नै नेपाली विद्यार्थीहरु समस्यामा परिसकेका छैनन् ।

कम्पनीहरुसँग निरन्तर छलफलमा छौं
महेश त्रिपाठी, नेपाली दूतावास मलेसिया

मलेसियामा अहिले ३ लाखभन्दा केही बढी नेपाली छन् । यहाँ कम्पनीहरु धेरै बन्द भए पनि कामदार निकालिसकेका छैनन् र हामी कम्पनीहरुसँग कुराकानी गरिरहेका छौं । यहाँ रोजगारी गुम्ने पनि दुईवटा क्याटागोरी छन् ।

पहिलो क्याटागोरी भनेको यहाँ १८ मार्चदेखि मुभमेन्ट कन्टोल अर्डर आयो,त्यस लगत्तै सरकारले पनि रेगुलेसन ल्यायो । टिकट भएका तर जहाज क्यान्सिल भएर त्यहि बेला भिसा पनि क्यान्सिल हुनेका हकमा बढी समस्या भएको छ ।

त्यस्ताहरुको हकमा दूतावासले मार्चको अन्तिम साता अनलाइन सर्वेक्षण फेसबुकबाट कम्पनीको नाम, नम्बर कस्तो भिसामा बसेको सबै विवरणसहित तथ्यांक दूतावासले संकलन गरिसकेको छ । मार्चमा संकलित डाटा अनुसार लगभग ८ सय जना तुरुन्तै प्रभावित हुने देखियो ।

दोस्रो क्याटागोरी कम्पनीमा काम गर्दा गदै कम्पनी बन्द भएको वा कामबाट निकालिएको सन्दर्भमा हो । यसरी कामबाट निकालिने घटना धेरै भेटेका छैनौं । केही मात्रामा गुनासो आएको छ । काम बन्द भयो, खानलाई पैसा सकिएको छ भन्ने सन्दर्भमा दूतावासले कम्पनीलाई फोन गरेर तुरुन्तै सहयोग गर्नुस भनेका छौं र भइरहेको छ ।

श्रमिकले दूतावासको साप्ताहिक फेसबुक कार्यक्रम लगायत, हटलाइनबाट चौबिसै घण्टा गुनासो सुनाउन सक्नुहुन्छ । कम्पनीबाट निकालिएर आपत परेर सल्टाउन नसकिने घटना आएको छैन । अब यो अवस्था लम्बिदै जाँदा के कसो हुन्छ, त्यो हेर्नुपर्छ । मलेसियामा आँकलन गरिएको जस्तो नेपाली कामदार बिचल्ली हुने आइसकेको छैन ।

क्वालालम्पुरमा तीनवटा भवन लकडाउन गरिएको छ । हाम्रोमा सनसिटी जस्तै । ती भवनमा विदेशीहरुको संख्या बढी छ । ती भवनमा ७० जना जति नेपाली हुनुहुन्छ । हामी तीनवटैमा सम्पर्कमा छौं । आज पनि हरेकलाई फोन गरेका छौं । दूतावास उहाँहरुसँग सम्र्पकमा छ ।

त्यहाँ पनि खानको समस्या छैन । मलेसिया सरकारले दिइरहेको छ । भोलि समस्या परेको खण्डमा दूतावास तयार छ । दूतावासको प्रतिनिधि आज माइकिङ गर्न जानुभएको छ । प्रहरीसँग सहकार्य गरेर हाम्रो अफिसर गएर उहाँले सार्वज्निक आह्वान गरेर सूचना दिनुभएको छ । भवनभित्र बस्नुभएकाहरुलाई दूतावासको नम्बर दिनुभएको छ ।

कुनै पनि नेपालीलाई बसेका ठाउँबाट निकालेको छैन । एकाध समस्या आएका ठाउँमा कम्पनीसँग छलफल गर्छौं । अहिलेको अवस्थामा मानवीय रुपमा सहयोग गर्नुस भनेका छौं । मुभमेन्ट कन्टोल अर्डरमा सेक्युरिटीलाई अत्यावश्यक सेवामा राखिएको छ । उहाँहरुको काममा जानुपर्छ । फुड उत्पादन, मेडिकल सप्लाइ लगायतका क्षेत्रमा काम गर्नेहरु काममा गइरहेका छन् ।

हामी परिहालेको खण्डमा फुड सप्लाइका लागि पनि तयार छौं । अहिलेसम्म एकजना नेपालीमा मात्र कोभिड १९ पुष्टि भएको छ । केही अब्जरभेसनमा छन् । अहिले विकराल अवस्था भइसकेको छैन ।

कामदार हटाउँदा पहिला हामीलाई जानकारी हुन्छ
रघु पुरी, प्रबन्ध निर्देशक द रिभर ओभरसिज

नेपालबाट गत दुई आर्थिक वर्षदेखि सबैभन्दा धेरै श्रमिक वैदेशिक रोजगारीमा पठाउने मेरै कम्पनी हो । एउटा कम्पनीमा सयौं कामदार पनि पठाएका छौं । कम्पनी र हाम्रोबीचमा सम्झौता भएर गएका कामदारको हकमा यदि उनीहरुले हटाउने भए सबैभन्दा पहिले हामीलाई जानकारी गराउँछन् । अहिलेसम्म कुनै कम्पनीले नेपाली कामदार हटाएका छैनन् ।

म दिनहुँ तीन/चारवटा कम्पनीसँग कुरा गरिरहेको छु उता । त्यहाँका कम्पनीले बेसिक तलब र खान बस्न दिइरहेका छन् । कतिपय खाद्यान्न, मेडिकल लगायतका अत्यावश्यक सेवाका कम्पनीमा काम चलिरहेको छ । अन्य कम्पनीले पनि कामदार निकाल्ने भनेका छैनन् ।

अहिले मान्छे खान नपाएर कम्पनीले निकालेर भोकभोकै परेका केही समाचार आएका छन् । ती सायद भिजिट भिसामा गएर उता दलालमार्फत काम गर्न खोज्ने र लकडाउनपछि अलपत्र परेकाहरु हुन सक्छन् । त्यस्तो संख्या दुबैमा अहिले बढी हुन सक्छ । हामीले मान्छे पठाएका कम्पनीका केही साइटहरु बन्द भए पनि खाने बस्ने राम्रो प्रबन्ध छ भनिरहेका छन् ।

केही ठूला कम्पनीसँग कुरा गर्दा यही अवस्था रहँदा पनि दुई चार महिना हामी पाल्न सक्छौं भनेका छन् । ठूला कम्पनीले मान्छे कसैलाई हटाउने भनेका छैनन् । मेनपावर एजेन्सी र सम्बन्धित कम्पनीबीच सम्झौता भएको हुन्छ । सबैभन्दा पहिले हामीलाई खबर गर्छ । अहिलेसम्म हामीलाई आएको छैन ।

तलब नपाएर होइन, डराएर घर फर्किन चाहेको हो
रामचन्द्र पोखरेल उपाध्याय, श्रमिक आबुधाबी

म अहिले आबुधाबीमा छु । इतिहाद क्याटेरिङ एयरपोर्टमा मेरो डिउटी छ । अहिलेसम्म नियमित काम गरिरहेका छौं । कतै कतै हाम्रा सेक्युरिटीहरु एकदिन अफ एकदिन काम गर्दैछ्न, केही क्वारेन्टाइनमा छ्न । हालसम्म कोरोना लागेका पनि सकुशल छन भन्ने सुनिन्छ केहीको नेगेटिभ रिपोर्ट आएको छ सुरक्षा फिल्ड भएकाले लकडाउन भए पनि काम चलेकै छ ।

यहाको सरकारले हरेक क्यापमा गएर चेकजाँच गरिरहेको छ । हामीले पनि स्वाब दिएका छौं, आजभोलिमा रिपोर्ट आउँदैछ । खाना बस्न त अहिलेसम्म समस्या भएको छैन । कम्पनीले पनि केही त्यस्तो केही भनेको छैन ।

अर्को कुरा, कम्पनीले जाँच फेल भएका र अलि पुरानाहरुको लगभग एक हजार जनाको लिस्ट बनाएको थियो घर पठाउन । दुई महिना अगाडिको त्यो लिस्ट अहिले त्यो रोकेको छ र नियमित काम दिएको छ । किनकि कोरना सामान्य हुन लागेर फ्लाइट खुलेपछि ठूलो संख्यामा क्यान्सिल जाने छन् त्यसले गर्दा पछि मेनपावरमा कमी आउन सक्ने छाँटले होला, अर्को सूचना नआउने बेलासम्म रोकेको छ ।

यहाँ हरेक नेपालीले लकडाउन खुलेपछि घर जाने सोच बनाएका छन् । डिउटी नै नदिएर, खानै नदिएर हैन, कोरोनाको डरले सातो गएर हो । दिनहुँ कोरनाको डरले आजित भएर होला ।

यहाँ पोजिटिभ भए पनि तत्काल अस्पताल लैजाँदैन, उसलाई अलग्गै राख्छ, दिनको एक कल गरेर हालखबर सोध्छ, तातोपानी, बाफ लिन लगाउँछ र मन उच्च गर्न लगाउँछ । सिरियस नभएसम्म अस्पताल लाँदैन ।

खानै नपाइएको होइन, घर फर्किनचाहिँ मन हो
महेन्द्र सापकोटा, नेपाली श्रमिक, आबुधाबी

म अहिले अबुधाबीमा छु, एउटा कोठामा नै दिनरात बिताउने थलो बन्दा असजिलो त पक्कै हुन्छ नै, तर कोरोनाको डरले बाहिर निस्केर घुम्न सक्ने स्थिति छैन । यहाँ मैले खानै नपाएर मान्छे थुनिएको देखेको या भेटेको छैन । तर, धेरै मान्छेलाई आफ्नै देश फर्किन पाए हुन्थ्यो भन्ने चाहिँ पक्कै लागेको छ ।

प्रायः जसो कम्पनीले सबै कर्मचारीलाई पहिले अनि पछि सुरु गर्ने नै छन्, अत्यावस्यक खाने कुरा र औषधि पाइएकै छ ।

तर, यहाँस्थित दूतावासले पहल गरेमा पक्कै पनि धेरै नेपालीहरुले नेपाल फर्कन चाहनेछन् ।
यो पनि पढ्नुहोस सरकार, रेमिट्यान्सको गुन नबिर्स, विदेशबाट आउन चाहनेलाई फर्काऊ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
मात्रिका पाैडेल

समसामयिक राजनीतिक बिषयमा कलम चलाउने पाैडेल झन्डै दुर्इ दशकदेखि पत्रकारितामा सक्रिय छन् । उनी अनलाइनखबर डटकमका डेपुटी एडिटर हुन् ।

ट्रेन्डिङ

पूजाको आक्रोश

Advertisment