Comments Add Comment

ट्रम्पले असहयोग गर्दैमा डब्लुएचओ थला पर्दैन

२० लाखभन्दा बढीलाई कोभिड-१९ (नोवेल कोरोना भाइरस) महामारीले आफ्नो चपेटामा पारिसकेको छ। एक लाख ३५ हजारभन्दा बढीको ज्यान गइसकेका छन् ।

५० हजारभन्दा बढी संक्रमित गम्भीर छन् । औषधि पत्ता लागि नसकेकाले यसको नियन्त्रण कहिले र कसरी हुन्छ, भविष्यकै गर्भमा छ ।

संसारभरिका कोरोना संक्रमितमध्ये झण्डै एक तिहाइ अमेरिकामा छन् । सबैभन्दा बढी व्यक्तिको मृत्यु पनि अमेरिकामै भएको छ ।

तर, यस्तो बेलामा अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको अनुदान खारेज गरेको छ । गत वर्ष उसले डब्लुएचओको कुल बजेटको १५ प्रतिशत अर्थात् चार सय मिलियन डलर उपलब्ध गराएको थियो ।

कोभिड-१९ रोकथाम र नियन्त्रणमा विश्वकै नेतृत्व गर्नुपर्ने डब्लुएचओको बजेट कटौतीले विभिन्न प्रश्न जन्माएका छन् ।

अमेरिकाले सहयोग झिकेपछि डब्लुएचओलाई आर्थिक अभाव होला ? कोरोना नियन्त्रणमा डब्लुएचओको भूमिका कस्तो होला ? डब्लुएचओ साँच्चै चीनपरस्त बनेको हो त ?

यिनै प्रश्न हामीले संयुक्त राष्ट्र संघका पूर्वउपमहासचिव डा.कुलचन्द्र गौतमलाई सोधेका छौँ । प्रस्तुत छ, डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एदनाम गेब्रियसससँगै कामसमेत गरिसकेका पूर्वउपमहासचिव डा. गौतमसँग अनलाइनखबरका लागि सन्त गाहा मगरले गरेको कुराकानीको सम्पादित अंश :

अमेरिकाले सहयोग नगर्दैमा थला चाहिँ पर्दैन । उसले आफ्ना संयन्त्रहरूलाई पूर्ववत् सञ्चालनमा ल्याएर कोरोना महामारीविरुद्ध लड्छ । डब्लुएचओले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सफल हुनेछ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग रकम रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिइसकेको बताएका छन् । यसले डब्लुएचओको वित्त व्यवस्थापनमा कस्तो असर पर्ला ?

विश्वको स्वास्थ्य प्रणालीमा डब्लुएचओको ठूलो जिम्मेवारी छ । उसले कोभिड-१९ मात्रै हेरेर पनि पुग्दैन । डब्लुएचओले मुटु रोग, फोक्सो रोग, बाल स्वास्थ्य, मातृ स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा काम गर्नुपर्ने हुन्छ ।

ठूलो जिम्मेवारी भएको संगठनलाई स्वाभाविक रुपमा धेरै पैसा चाहिन्छ । अमेरिकाजस्तो सबैभन्दा ठूलो दाताले असहयोग गर्छु भनेपछि नि:सन्देह डब्लुएचओको आर्थिक स्वास्थ्यमा नकारात्मक असर पर्छ ।

त्यसो भए त कोरोना नियन्त्रणमा डब्लुएचओको भूमिका जे हुनुपर्थ्यो, त्यो पनि नहुने जोखिम देखियो होइन ?

डब्लुएचओलाई केही असर पक्कै पर्छ । तर, अमेरिकाले सहयोग नगर्दैमा थला चाहिँ पर्दैन । उसले आफ्ना संयन्त्रहरूलाई पूर्ववत् सञ्चालनमा ल्याएर कोरोना महामारीविरुद्ध लड्छ । डब्लुएचओले आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सफल हुनेछ ।

सबैभन्दा ठूलो दाताले सहयोग नगरे पनि त्यति ठूलो असर पर्दैन भन्नुभयो । अमेरिकाले असहयोग गर्दा डब्लुएचओले आफ्नो उद्देश्य अनुसार काम गर्न सक्छ भन्ने आधार के–के छन् ?

अमेरिकाले राष्ट्र संघीय नियोगलाई सहयोग नगरेको यो पहिलोपटक होइन । यसअघि युनेस्को (युनाइटेड नेसन्स एडुकेसनल, साइन्टिफिक एण्ड कल्चरल अर्गनाइजेसन) र युएफपीए (युनाटेड नेसन्स पपुलेसन फण्ड) लाई पनि अमेरिकाले सहयोग रोक्यो । त्यहाँ उसले १०/१२ प्रतिशत सहयोग गर्दै आएको थियो ।

अमेरिकाले हात झिकेपछि युरोपियनहरूले युएफपीएमा सहयोग बढाए । अर्थात् अमेरिका पछि हटे पनि संसारका अन्य देशले, आवश्यकता महसुस गरेका देशले सहयोग गर्दा रहेछन् भन्ने यो उदाहरणले देखाउँछ ।

सबैलाई थाहा छ, कोभिड-१९ महामारीको जगजगीमा डब्लुएचओलाई सबैले सहयोग बढाउनुपर्ने बेला हो । यस्तोबेला सहयोग झिकेपछि धेरैले अमेरिकाको विरोध गर्न थालेका छन् । विश्वस्तर संगठन र प्रभावशाली प्राय: सबै देशले ट्रम्पको कदमको विरोध गरेका छन् ।

१५ प्रतिशत सहयोग नआउने भयो । तर, ८५ प्रतिशत योगदान गर्नेहरू त छन् नि । कोरोना कहरका बेला बाँकी सबैले सहयोगी हात अगाडि बढाउँछन् भन्ने लाग्छ । त्यसैले अमेरिकापछि हट्दैमा डराउनुपर्दैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको र चीनको पक्ष लिएकाले सहयोग बन्द गर्ने निर्णय गरेको भनेका छन् । डब्लुएचओको काम गर्ने शैलीबारे बताइदिनुस् न ?

नामैबाट थाहा हुन्छ, नोवेल कोरोना भाइरस नयाँ भाइरस हो । यो भाइरसका विषयमा यसअघि कसैलाई पनि थाहा थिएन ।

यस्तो महामारीका बेला डब्लुएचओले तीन प्रकारले काम गर्छ । नयाँ किसिमको समस्या जानकारी पाएपछि डब्लुएचओले संसारभरिका यो विषयका विज्ञ वैज्ञानिक, चिकित्सक लगायतसँग छलफल गर्छ ।

कोरोनाकै सन्दर्भमा पनि उसले अमेरिकी वैज्ञानिक तथा डाक्टरहरूसँग पनि पर्याप्त सल्लाह, परामर्श लिएको थियो । सबै विचार, सल्लाह लिएपछि सबैभन्दा प्रभावित ठाउँमा एक्सपर्ट टिम पठाउँछ । यसपटक उसले कोरोना पहिलोपटक देखिएको वुहानबाट सुरु गर्‍यो ।

चीनपछि दक्षिण कोरिया, जापानमा विज्ञ टिम पठायो । त्यहाँको समस्या, अनुभव हेरेर बाँकी विश्वका लागि नीति निर्धारण गर्‍यो ।

सम्भव भएसम्म आफैँ एक्सनमा पनि उत्रन्छ । जस्तो, जनवरीदेखि नै १५ लाख किट बनाएर विभिन्न देशमा पठायो । त्यतिले सबैलाई पुगेन, तर त्यो हेरेर अरु बनाउन सक्यो ।

ऊ रोगसँग जुध्दै नयाँ आविष्कार तथा अनुसन्धानमा पनि लाग्छ । किनभने यस्तो महामारीको अन्तिम समाधान भनेको खोप नै हो । खोप पत्ता लगाउनका लागि संसारभरिका अनुसन्धान संस्थासँग मिलेर काम गर्छ र आवश्यक सहयोग उपलब्ध गराउँछ ।

औषधि पत्ता लागेपछि पनि कसरी प्रभावकारी ढंगले महामारी निवारण हुन्छ भनेर निरन्तर रुपमा काम गर्छ ।

त्यस्तै, नेपाल लगायतका देश जहाँ समस्या आइसकेको छैन । तर, भविष्यमा आउन सक्छ भन्ने अनुमान भएका देशहरूको नियमित रिर्पोटिङ लिइरहेको हुन्छ । सम्बन्धित देशका डब्लुएचओको कन्ट्री डाइरेक्टरमार्फत अपडेट भएर बस्छ ।

त्यहाँको सरकार, वैज्ञानिक, चिकित्सक, गैरसरकारी संस्थाका प्रतिनिधिसँग सल्लाह सुझाव लिएर निष्पक्ष र स्वतन्त्र विश्लेषण गरेर निर्णय लिन्छ । आवश्यक परे सहायता पनि दिन्छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएकाले सहयोग नगर्ने घोषणा गरेका थिए । कोरोनाको सन्दर्भमा डब्लुएचओले पक्षपात गरे जस्तो लाग्दैन ? वुहानमा एक्सपर्ट टिमले काम गर्नुअघि डब्लुएचओ प्रमुखले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई भेटेका पनि थिए । के यो आवश्यक थियो ?

हेर्नुस्, डब्लुएचओ न चीनको हो, न अमेरिका । यो नेपालसहित सबै देशको हो ।

यहाँहरूले बिर्सनु भएको छैन भने सुरुमा चीनले डब्लुएचओलाई वुहानमा आउन अनुमति दिएको थिएन । भलै यसमा डब्लुएचओको कुनै दोष थिएन । चीनको शासन व्यवस्था लोकतान्त्रिक नभएकाले डब्लुएचओ आउँदा के हुन्छ, हुन्छ भनेर आउन दिएको थिएन । चीनले आउन दिएन भनेर वुहानमा नगई बस्ने छुट डब्लुएचओलाई हुने कुरै भएन ।

जान नसकेको भए डब्लुएचओले ‘सबैभन्दा प्रभावित ठाउँमा गएर काम गर्ने’ लक्ष्यबाट बिमुख भएको ठहरिन्थ्यो । ऊ कुनै पनि हालतमा त्यहाँ जानै पर्थ्यो ।

यस्तो समस्या आएपछि डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एदनाम गेब्रियससले चिनियाँ राष्ट्रपति सी चिनफिङलगायतलाई भेट्न पुगेका हुन् । उनी त्यहाँ कुरा मिलाउन गएका हुन् । म त भन्छु त्यो डा. टेड्रोसको कूटनीतिक सफलता पनि हो ।

त्यसोभए डब्लुएचओको गल्ती नै छैन भन्न खोज्नुभएको हो ?

कोभिड-१९ सबैका लागि नयाँ विषय हो । डब्लुएओले निर्णय लिने भनेको संसारका विज्ञहरूको सल्लाह, परामर्शअनुसार हो । उसलाई सुझाव दिने वैज्ञानिक, चिकित्सकहरू पनि भगवान त होइनन् । विज्ञहरूले सल्लाह दिने भनेको पनि अहिलेसम्म प्राप्त गरेको ज्ञान र अनुभवको आधारमा हो । आ–आफ्ना ‘जजमेन्ट’मा आधारित भएर सल्लाह, सुझाव दिन्छन् ।

त्यसकारण डब्लुएचओको निर्णय पनि शतप्रतिशत सही नै हुन्छ भन्ने पनि हुँदैन । उसका पनि कमी कमजोरी छन् । कमजोरीरहित त तपाईं हामी पनि छैनौँ नि ।

डब्लुएचओले चीनको समर्थन गर्‍यो भनेर सहयोग झिकेको ट्रम्पको भनाइ छ । चीनको विषयमा सक्कली कुरा गरेन, त्यही भएर सहयोग दिन्न भनेका छन् । यी सबै देखावटी कारण हुन् ।

तर, ट्रम्प र डब्लुएचओका बारेमा भन्नु पर्दा डब्लुएचओ नै सही छ भन्न हिच्किचाउनुपर्दैन । किनभने, उसको निर्णय ट्रम्पको जस्तो एकलौटी हुँदैन । प्रशासनलाई सहयोग नगर्न निर्देशन दियो, सकियो भनेजस्तो हुँदैन ।

डब्लुएचओले निर्णय गर्दा अमेरिकी वैज्ञानिक तथा चिकित्सकहरूको परामर्श, विचार पक्कै लिएको छ ।

कोरोना नियन्त्रणको सन्दर्भमा डब्लुएचओको भूमिका कस्तो पाउनुभएको छ ?

डब्लुएचओको काम ‘परफेक्ट’ छ भन्दिनँ । किनभने ‘परफेक्सन’ भन्ने कसैको पनि हुँदैन । तर, समग्रतामा डब्लुएचओले महामारी नियन्त्रणका लागि जे गर्नुपर्ने हो, त्यही गरिरहेको छ ।

यो भनाइ मेरो मात्रै होइन, संसारभरिका वैज्ञानिक, विद्वान, चिकित्सकहरूको पनि हो । अरु त अरु अमेरिकाकै विद्वान वैज्ञानिकहरूले पनि डब्लुएचओको कामको प्रशंसा गरिरहेका छन् ।

प्रायः ट्रम्पसँगसँगै देखिने डा. एन्थोनी फाउसीले पनि आलोचना गरेका छैनन् । जनस्वास्थ्य, महामारीजस्ता विषयमा त ट्रम्पलाई भन्दा डा. फाउसीको कुरा पत्याउनु पर्ला नि ।

ट्रम्पले महानिर्देशक डा. टेड्रोसको व्यक्तिगतरुपमै विरोध गरेको देखिन्छ । उनको कामलाई चाहिँ कसरी मूल्यांकन गर्नुभएको छ ?

डा. टेड्रोसलाई म व्यक्तिगत रुपमा चिन्छु । पछिल्लो दुई दशकदेखि उनलाई चिन्छु । सन् २००४–२००५ मा त सँगै काम पनि गरेको छु ।

महानिर्देशक डा. टेड्रोस इथियोपियाका स्वास्थ्यमन्त्री भएका बेला म युनिसेफमा काम गर्थेँ । पाटर्नरसिप फर मेटरनल न्युबर्न एण्ड चाइल्ड प्रोग्राम (पीएमएनसीएच) मा म अध्यक्ष र उनी सहअध्यक्ष थियौँ ।

ग्लोबल एलाइन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेसन (गाभी)मा पनि हामी दुवैजना बोर्डमा थियौँ । गाभीले नेपालमा पनि खोप लगायतका कार्यक्रममा ठूलो सहयोग गरेको छ ।

कोरोनाका बेलामात्रै होइन, डब्लुएचओका पछिल्ला पाँच/छजना महानिर्देशकमध्ये डा. टेड्रोस सबैभन्दा उत्कृष्ट हुन् । उनी पनि कमजोरीरहित छैनन् । तर, अहिले उनीमाथि ट्रम्पले जसरी आलोचना गरेका छन्, यो विल्कुल जायज होइन । यो विश्वकै लागि दुर्भाग्य हो ।

एउटा शक्तिशाली देशका राष्ट्रपतिले विनाकारण आलोचना पनि त गरेनन् होला नि ? कारणै नभई डब्लुएचओलाई दिँदै आएको बजेट रोक्नेसम्मको निर्णय गरे होलान् र ?

मैले कारण छैन कहाँ भनेको छु र ? डब्लुएचओले चीनको समर्थन गर्‍यो भनेर सहयोग झिकेको ट्रम्पको भनाइ छ । चीनको विषयमा सक्कली कुरा गरेन, त्यही भएर सहयोग दिन्न भनेका छन् । यी सबै देखावटी कारण हुन् ।

डब्लुएचओमाथि खनिनुका मुख्य दुईवटा कारण छन् ।

हामी सबैलाई थाहा छ, आज कोरोनाका सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । तपाईं–हामी कुरा गरिरहँदा अमेरिकामा मात्रै ६ लाखभन्दा बढी संक्रमित छन् भने २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिकी जनताले डिसेम्बरमै सुरु भएको कोरोना रोक्न ह्वाइट हाउसले पर्याप्त कदम चालेन भनेर आलोचना गरिरहेका छन् । यही कारण स्वतन्त्र र निष्पक्ष विचार राख्नेहरूको आलोचनामा डोनाल्ड ट्रम्प परेका छन् ।

कट्टर समर्थकबाहेकका बीचमा ट्रम्प अलोकप्रिय बनिरहेका छन् । राष्ट्रपतिको निर्वाचनअघिको अलोकप्रियता कति महँगो हुन्छ भन्ने उनले राम्ररी बुझेका छन् ।

यही आलोचनाबाट जोगिन उनले डब्लुएचओ र चीनलाई प्रहार गरिरहेका हुन् । डब्लुएचओले कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेलेन भन्नुको अर्थ पनि यही हो । आफूले गर्न नसकेको कामको दोष डब्लुएचओलाई लगाउन खोजेका हुन् । ट्रम्पको बानी जिम्मेवारी लिने खालको छैन ।

यो कुरा पनि कोरोनाकै उदाहरण दिएर प्रष्ट पार्न चाहन्छु । अमेरिकाले सुरुमै चीनसँगको उडान रद्द गर्‍यो । ट्रम्पले कोरोनालाई चिनियाँ भाइरस भने । तर, चिनियाँ राष्ट्रपति सि चिनफिङसँग उनको टेलिफोन वार्ता भयो अनि उनले सार्वजनिकरुपमै सिको प्रशंसा गरे । त्यसपछि उनले चीन अपारदर्शी भयो भनेनन् ।

पछिल्लो समय उनी डब्लुएचओमाथि खनिएका छन् । चीनले लुकाइरहेको कुरा पनि डब्लुएचओका महानिर्देशकले बाहिर ल्याएन भनिरहेको छ । अमेरिकी स्वतन्त्र विश्लेषक तथा आम नागरिकले डब्लुएचओको विरोध गरेका छैनन् । डब्लुएचओले कुनै एउटा देशको मात्रै कुरा सुनेर निर्णय गर्ने कुरा भएन । सबैको कुरा सुन्दा ट्रम्पले १५ प्रतिशत लगानी मैले गर्ने, अनि सबैको हित हेर्ने भनेका मात्रै हुन् ।

कोभिड–१९ महामारीको सन्दर्भमा ट्रम्प नेतृत्वको अमेरिका र डब्लुएचओमध्ये कसको भूमिका प्रभावकारी र सही छ भन्ने कुरा सारा विश्वले मूल्यांकन गरिरहेको छ ।

यो पनि पढ्नुहोस डब्लुएचओलाई सहयोग गर्न राष्ट्रसंघको आग्रह यो पनि पढ्नुहोस अमेरिकाले डब्लुएचओलाई दिँदै आएको आर्थिक सहयोग रोक्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

पूजाको आक्रोश

Advertisment