Comments Add Comment
बिरामी कुरुवाको दुःख :

लकडाउनले उपचार पनि महँगो हुँदोरहेछ …

५ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महराजगञ्जमा सामान्य चहल पहल छ । आकस्मिक बाहेकका अन्य सेवा बन्द भएका कारण अस्पताल पुग्ने मानिसहरू कमै छन् ।

अधिकांश विभागको ढोका अगाडि भित्तामा उस्तै सन्देश दिने सूचना टाँसिएको छ । ‘कोभिड–१९ नेपालमा फैलिएको खण्डमा सबैभन्दा पहिले संक्रमण अस्पतालबाट फैलिन सुरु गर्नेछ । तसर्थ अति आवश्यक नपरिकन अस्पताल नआउनुहोस् ।’

दोस्रो प्याराग्राफमा, ‘हामी भने तपाईंहरुको उपचारका लागि अस्पतालमा नै हुनेछौँ’ भनेर थपिएको छ ।

यो सूचना र अस्पताल परिसरको दृश्यले ओपीडी सेवा बन्द भएको प्रष्ट बताउँछ । तर, आकस्मिक सेवामा भिड कम छैन । अर्थात, अति आवश्यक परेर अस्पताल पुग्ने मानिसहरूको संख्यामा कमी आएको छैन ।

हामी आकस्मिक अवस्थाको उपचार गरेपछि बिरामीहरू राख्ने वार्डमा पुग्यौँ । त्यहाँ बिरामीको आफन्तबाहेक अरुलाई वार्डमा प्रवेश निषेध छ । तर, वार्ड बाहिरको दृश्य अहिले अलिक भिन्न छ । अझ भनौँ अत्यास लाग्दो छ ।

वार्डअघि सानो ठाउँमा २०–२५ जना लस्करै सुतिरहेका थिए । सबैको मुख मास्क त थियो । तर, सर्जिकल होइन कपडाको । कालो मास्क लगाएका उनीहरू एक अर्काको नजिकै सुतिरहेका थिए ।

हामीले सोध्यौं, ‘किन यसरी सामाजिक दुरी कायम नगरी वार्ड अगाडि सुत्नु भएको ?

‘भित्र सिकिस्त बिरामी छन् । बेलाबेलामा हेर्न जानुपर्छ । डाक्टरले बोलाएको बेला हाजिर हुनुपर्छ । अन्त गएर सुत्ने ठाउँ पनि छैन । अस्पतालको सबै ठाउँ यस्तै त हो ।’

सुतिरहेका एक जनाले जवाफ दिए ।

उनको कुरामा ‘होमा हो’ मिलाउदै अर्का कुरुवा बोले, ‘कुरुवाका लागि अस्पतालले केही व्यवस्थापन गरेको छैन । मास्क, स्यानिटाइजर किन्नलाई पनि पाइन्न, हैरान भइयो ।’

त्यही भिडमा रहेका एकले सुनाए, ‘सिकिस्त बिरामीको यसरी कुरुवा बसिरहेका हामी कोही एक सातादेखि छौं, कोही एक महिनादेखि । अस्पताल प्रशासनलाई समस्या राख्दा यहाँभन्दा केही गर्न सकिन्न भन्छन् । समस्या परेपछि भोग्नै पर्‍यो नि ।’

उनीहरूको कुरा सुनेपछि थाहा भयो, कोरोनाको डर बोकेरै भएपनि सानो ठाउँमा कोचिएर बस्न बाध्य छन् ।

त्यहाँबाट हामी न्यूरो सर्जरी वार्डतिर लाग्यौँ । त्यहाँ पनि मानिसहरू लस्करै म्याट ओछ्याएर सुतिरहेका थिए । बाध्यताले यो कहर भोगिरहेका उनीहरू हामीसँग तर्किन्थे । त्यही लस्करमा म्याट ओछ्याएर सुतिरहेकी एक महिलाले भनिन्, ‘समस्या पहिला पनि यस्तै थियो । अहिले लकडाउनमा त हुने नै भयो ।’

सरकारी अस्पतालसँग परिचितलाई यो नौलो होइन । तर, अहिले समय सामान्य छैन । थोरै होस नपुर्‍याउने हो भने कुनै पनि बेला अवस्था भयावह हुन बेर लाग्दैन । त्यहीँ रहेका एक कुरुवाले सुनाए, ‘जति आग्रह गरेपनि अस्पतालले नसुनेको भएर यो भोग्नु परिरहेको छ । धन्न हाम्रा बिरामीको उपचारचाहिँ रोकिएको छैन ।’

त्यहाँ हामीले नवलपरासीका बिरामी कुरुवालाई भेट्यौ‌ं ।

उनीहरूमध्ये एकले अर्कोलाई भन्दै थिए, ‘ऋण कसैले पत्याएन, अब डिस्चार्ज गरेर घरतिर नै जाऔँ । घरबारी बेचेरै खर्च गर्दा पनि उपचार नसकिने छाटकाट देखियो ।’

उनीहरूको कुरा सुन्दा प्रष्ट भयो कि पैसा अभावले उपचारलाई निरन्तरता दिने अवस्था रहेन ।

उनीहरूमध्ये एक जनाले हामीलाई आफ्नो समस्या सुनाउँदै भने, ‘मेरो ज्याला मजदुरीको काम रोकिएको दुई महिना भयो । विदेशमा भएको भाइको नि काम रोकिएर पैसा पठाउन पाएको छैन । लकडाउनले गर्दा उपचार पनि महँगो हुँदोरहेछ ।’

रगत जम्मा गर्न कहिले कालीमाटी पुग्नुपर्छ, कहिले भक्तपुर । भक्तपुर पुगेर आउन एम्बुलेन्सले तीन हजार लिन्छ । दैनिकजसो औषधि खर्च उत्तिकै । भन्छन्, ‘ज्याला मजदुरी गरेर खाने हामी जस्तो मान्छेले त उपचार गराउन नसकिने रहेछ ।’

उनी नजिकै थिए अर्का बिरामी कुरुवा गणेशप्रसाद खनाल । अस्पताल बसेको दुई साता नाघिसक्यो । अझै कति दिन बस्नुपर्ने ठेगान छैन । अस्पतालको अस्तव्यस्तताले दिक्क भइसकेका उनी कोरोना संक्रमण फैलिन्छ कि भन्ने डरमा छन् । तर, बिरामी छाडेर जाने कुरा भएन । भन्छन्, ‘दिनभर जसोतसो बसेपनि सुत्ने ठाउँमा त भद्रगोल भइहाल्छ । उपाय नभएपछि जे पर्छ, त्यो भोग्नैपर्‍यो ।’

उनले दिनहुँ भोग्ने अर्को समस्या हो, खाना ।

अस्पतालले खुलाएको एउटा क्यान्टिनले सबै बिरामी कुरुवालाई पुग्ने खाना पकाउन सक्दैन । हात धुने साबुन पानीको व्यवस्था छैन । अस्पताल क्षेत्रका औषधि पसलमा मास्क छैन ।

अस्पताल प्रशासनलाई गुनासो गर्दा थाकिसकेका उनले भने, ‘राति आएर वार्ड अगाडि हेर्नुस्, मानिसहरू कति बिजोकले बसेका छन् थाहा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

पूजाको आक्रोश

Advertisment