Comments Add Comment

चितवनका संक्रमितको सम्पर्कमा पुगेकाहरूको खोजी गर्दै प्रशासन

चितवन । गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पहिचान शुरु गरेको छ । नेपाल आएर दुई दिन काठमाडौँको बसाइँसँगै उनीहरु चैत ५ गते यहाँ आएका थिए ।

राप्ती नगरपालिका–८ का ती सङ्क्रमितको सम्पर्कमा आएकाको पहिचान शुरु गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा पहिचानको काम (ट्रेसिङ) सुरु गरिएको उनले जानकारी दिए ।

संक्रमितको मनोबल बढाउने र अन्यलाई पनि सुरक्षित राख्नेतर्फ ध्यान केन्द्रित गरिएको उनले बताए ।

उनीहरुको परिवार ठूलो भएकाले सबैको संख्या यकिन गर्न र सम्पर्कमा रहेकाको खोजी गरिएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जानकारी दिइन् । परिवारका सदस्यलाई अहिले होम क्वारेन्टाइनमा बस्न भनिएको र बुद्ध शान्ति कलेजमा छुट्टै क्वारेन्टाइन बनाएर राखिने उनको भनाइ छ ।

उनीहरुको बुधबार ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा शंकास्पद देखिएको थियो । उनीहरुलाई तत्कालै भरतपुर अस्पताल ल्याइएको थियो । बिहीबार उनीहरुको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा राति शङ्कास्पद नतिजा आएसँगै शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गरिएको थियो । पुनःपरीक्षणका क्रममा दुबै जनामा नै कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुलाई भरतपुर अस्पतालको आइसोलेसनको क्याबिन कक्षमा राखिएको छ । भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले सङ्क्रमित दुवै जनालाई भरतपुर अस्पतालकै आइसोलेसन वार्डमा राखेर उपचार गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment