Comments Add Comment

कोरियन भाषा परीक्षा पनि प्रभावित : कोटा आयो, तालिका आएन

४ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका कारण यसवर्षको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगतको कोरियन भाषा परीक्षा पनि प्रभावित हुने भएको छ । लकडाउनका कारण परीक्षाको तयारी गरिरहेका परीक्षार्थी मात्रै हैन, सरकार पनि अलमलिएको छ ।

कोरियाले २०२१ लागि हुने परीक्षाका लागि अहिलेसम्म कार्यतालिका पठाएको छैन भने नेपालले पनि आफ्नो तर्फबाट गर्नुपर्ने सबै खालका तयारी पूरा गर्न नसकेको ईपीएस कोरिया शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए ।

यो वर्षदेखि कम्प्युटर प्रणालीबाट परीक्षा लिने तय भएपनि त्यसको तयारी सकिएको छैन । लकडाउनले पनि तयारी प्रभावित गरेको तर्क सरकारको छ ।

खनालका अनुसार यो वर्ष कोरियाले पाँच हजारभन्दा बढी कामदार लैजाने गरी कोटा (सिलिङ) पठाइसकेको छ । तर, प्रत्येक वर्ष चैतमा नै आवेदन लिने गरिएकोमा यो वर्ष लकडाउनका कारण प्रक्रिया अघि बढ्न नकसकेको उनले बताए ।

‘यो वर्ष कोरियाले परीक्षामा नक्कली परीक्षार्थीलाई प्रवेश नै दिन नसकिने गरी बायोमेट्रिक प्रणाली लागू गर्न चाहेको थियो । त्यसको तयारीमा जुट्दै गर्दा कोरोनाको सन्त्रासका कारण तयारीहरु पूरा हुन पाएनन्,’ उनले भने ।

केही वर्षदेखि कोरियन भाषा परीक्षा जेठको अन्तिम सातामा गरिँदै आएको थियो । तर, यसपटक कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण  परीक्षाका लागि आवश्यक तयारी गर्न नसकिएकाले परीक्षा अनिश्चित भएको हो ।

नेपालबाट गत वर्ष मात्रै ९२ हजार कामदारले कोरियन भाषाका लागि परीक्षाका लागि आवेदन दिएका थिए । योवर्ष त्यस्तो संख्या एक लाख नाघ्ने अनुमान थियो ।

सरकारले माघको अन्तिम साताबाटै कोरोनाको त्रासको कारण देखाउँदै भाषा परीक्षा पास गरेर भिसा आएका कामदारलाई कोरिया पठाउन रोकेको थियो । कोरियामा कोरोना संक्रमण फैलिएपछि सरकारले जोखिम हुने भन्दै कामदार पठाउन रोकेपछि कोरियाले पत्र नै लेखेर आपत्ति जनाएको थियो ।

तर, चैतको ११ गतेबाट नेपालमा लकडाउन भएपछि अन्तर्राष्ट्रिय उडान बन्द भयो । त्यसपछि पनि कोही कामदार कोरिया जान पाएका छैनन् । कोरियाले भिसा दिएको तीन महिनाभित्रै कोरिया पुग्नुपर्ने नियम हुन्छ ।

तर, थुप्रै कामदारको यस्तो अवधि कटिसकेको छ । यस्तो अवस्थामा भिसा अवधिलाई मान्य बनाइरहन नेपालले कोरियालाई आग्रह गरेको निर्देशक खनालले बताए ।

सन् २०२० का लागि कोरिया भाषा परीक्षा पास भएका १२ हजार कामदार अझै जाने क्रम सुरु भएको छैन । कोरोनाको महामारी अघिसम्म २०१८ र १९ का लागि पास भएकाहरु गइरहेका थिए । २०२० को लागि भाषा परीक्षा पास गरेकाहरुले अहिले ‘लेबर कन्ट्रयाक्ट आइरहे पनि उनीहरु जानसक्ने अवस्था छैन ।

भाषा परीक्षा पास भएको दुई वर्षसम्म ‘लेबर कन्ट्रयाक्ट’ आएका कामदार कोरियामा जान पाउँछन् । अब आगामी वर्षको परीक्षा प्रभावित हुने भएपछि अब धेरैजसो ईपीएसका नियमित तालिकाहरु प्रभावित हुने अवस्था आएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment