Comments Add Comment
काठमाडौंका विद्यार्थीको गुनासो :

‘घरबेटी पैसा मागेको माग्यै गर्छन्, हामीमा कसैको नजर परेन’

‘मजदुरको चर्चा हुन्छ, विद्यार्थीले खान नपाएको कसले देख्ने ?’

५ वैशाख, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेयता मजदुर सबैभन्दा बढी चर्चाको केन्द्रमा छन् । रोजगारी खोज्दै शहर पसेका उनीहरुले दैनिक मजदुरी गर्न त पाएनन् नै, ठेकदारले पनि बेवारिसे छाडिदिँदा विकल्प खोज्न बाध्य भएका छन् ।

सरकारले लकडाउन कार्यान्वयनमा थप कडाइ गर्ने नीति अख्तियार गरेको छ, प्रहरीले पनि लकडाउन उल्लंघन गर्ने हजार बढीलाई दैनिक उभ्याइरहेको छ । तर, मजदुरहरु प्रशासनलाई छल्दै पैदल हिँडेर विभिन्न जिल्ला पुगिरहेका छन् । उपत्यकामा अड्किएका केही मजदुरलाई स्थानीय निकाय र विभिन्न संघसंस्थाले पनि सहयोग गरिरहेका छन् ।

सञ्चारमाध्यम र राहत दिने दाताहरुको नजरमा मजदुर परिरहँदा अर्को यही समाजको अर्को एउटा वर्ग भने हात मुख जोर्न नसक्ने अवस्थामा छ ।

शुक्रबार त्रिभुवन विश्वविद्यालयमा ५ सय जनालाई राहत बाँड्न विद्यार्थीलाई बोलाउँदा हजार बढी उपस्थित भए । राहत लिन घन्टौं लाइनमा उभिएका अधिकांश विद्यार्थीको साझा प्रश्न छ, ‘घरबाट दाल चामल आउन छाड्यो, पैसा पनि सकियो । अब काठमाडौंमा कसरी बाँच्ने ?’

घरबाट पैसा आउन छाड्यो, घरबेटीको कचकच रोकिएन

कीर्तिपुरको शहिद स्मारक उच्च माध्यमिक विद्यालयमा स्नातक तह अध्ययनरत आनन्द भट्ट बाजुरा, चुरोपानीका हुन् । सामान्य अवस्थामा उनलाई घरबाटै खाद्यान्न आउँथ्यो । दैनिकी टार्न केही पैसा पनि आउँथ्यो ।

तर, लकडाउनपछि सबै रोकिएको छ ।

‘सुरुमा एक हप्ता मात्र होला भनियो’, उनले अनलाइनखबरसँग सुनाए, ‘आशै आशमा यतै बसियो । अहिले खानै अफ्ठ्यारो हुन थाल्यो ।’ प्रारम्भमा सँगैका केही साथीहरु घरतिर गए पनि आफू लकडाउन खुल्ला भन्ने आशमा अड्किएको उनले सुनाए । ‘हतारमा गएर फर्किनु पर्दा झनै समस्या होला भन्ने भयो’, भट्ट भन्छन् ।

‘घरबाट सदरमुकाम पुग्दै तीन घन्टा लाग्छ’, उनले भने, ‘बाटोमा हिँड्दा हिँड्दै पुलिसले समातिहाल्छ, पैसा पठाउनलाई पनि घरबाट कोही सदरमुकाम आउन सक्नु भएन ।’

स्याङ्जाका प्रदीप खड्काको समस्या पनि उस्तै छ । सामाजिक सञ्जाल फेसबुकबाट राहत बाँड्न लागेको थाहा पाएर त्रिवि परिसरमा पुगेका उनले लकडाउनको अवधि बढ्दै जाँदा समस्या पनि बढ्दै गएको सुनाए । ‘घरबेटी पनि पैसा मागेको माग्यै गर्छ’, उनले भने, ‘न अब सुको पैसा बाँकी छ न खाने कुरै छ ।’

घरबेटीले भाडाका लागि ताकेता गर्न थालेपछि खड्का तनावमा छन् । सरकारले चैत महिनाको घर भाडा छुट गरिदिन घरबेटीलाई आग्रह गरेको प्रदीपले सुनेका छन् । तर, उनी प्रश्न गर्छन्, ‘सरकारले भनेर हुन्छ ? घरवेटीले टेर्नु परेन ?’

सुनसरीका सञ्जयकुमार यादव पनि राहत लिने लाइनमा उभिएका थिए । राहत लिनलाई विद्यार्थी परिचय पत्र अनिवार्य गरिएको थियो । तर, उनीसँग परिचय–पत्र थिएन ।

‘परिचय पत्र त छैन तर, प्रवेश पत्र बोकेको छु’, यादवले सुनाए, ‘कोठामा भएका खानेकुरा जति सकिएको दुई दिन भइसक्यो, केही पाइहालिन्छ कि !’ उनले लकडाउनको बीचमा घरतिर जाने प्रयास पनि नगरेका होइनन् । तर, प्रहरीले फर्काइदियो ।

‘यस्तै हो भने कोरोना होइन, खान नपाएर चाहिँ मरिएला जस्तो छ’, उनी भन्छन् । मजदुर लगायतलाई राहतको वितरण भइरहेको सुनेका/देखेका उनी भन्छन्, ‘मजदुरले राहत पाएको फेसबुकमा देख्छु, हामीलाई पनि खान केही छैन । विद्यार्थी चाहिँ कसैको नजरमा परेनन् ।’

कीर्तिपुर नगरपालिकाका रोजगार संयोजक केदार बुढाथोकीले कीर्तिपुर क्षेत्रमा विभिन्न कलेजमा पढ्नेसहित भाषा र लोक सेवा आयोगको परीक्षा दिने विद्यार्थीको अत्यधिक चाप रहेको बताए । ‘संख्या धेरै भएकाले केही समस्या त छ’, उनी भन्छन्, ‘तर, हामीले विभिन्न संघसंस्थासँग समन्वय गरेर निरन्तर सहयोग गरिरहेका छौं ।’

राहतको सरकारी परिभाषामा पहिले विद्यार्थी नसमेटिएकाले पनि केही समस्या भएको बुढाथोकीले सुनाए ।

‘मजदुर र खान लगाउनै गाह्रो हुने व्यक्तिलाई राहत दिनु भन्ने थियो । विद्यार्थीको विषयमा द्वीविधा थियो’, बुढाथोकीले अनलाइनखबरसँग भने, ‘त्यही पनि हामीले सकेसम्म व्यवस्थापन गरिरहेका छौं ।’ उनले कतिपय विद्यार्थीलाई नगरपालिकाबाट सवारी पासको व्यवस्था गरेर पनि घरसम्म पठाइएको बताए ।

राहत बाँड्न विद्यार्थी संगठन एकजुट

शुक्रबार वितरण गरिएको राहतको संयोजन त्रिभुवन विश्वविद्यालयका विद्यार्थी संगठनहरुले गरेका थिए । राहत संकलन र वास्तविक पीडित विद्यार्थी खोज्ने कार्यमा अनेरास्ववियू, नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन लगायत एकजुट भएका छन् ।

अनेरास्ववियूका नेता मंगल थापाले अफ्ठ्यारो परिस्थिति भएकाले पार्टीभन्दा माथि उठेर सहयोग वितरण गरिएको अनलाइनखबरलाई बताए । ‘अस्ति त्रिभुवन विश्वविद्यालयमा पढ्ने विद्यार्थीलाई सहयोग गरेका थियौं’, उनले भने, ‘आज (शुक्रबार) चाहिँ त्रिविबाहेक अन्य शिक्षण, संस्थामा अध्ययनरत विद्यार्थीलाई सहयोग गरिरहेका छौं ।’

उनका अनुसार प्रति व्यक्ति ५ देखि १० किलो चामल, तरकारी, तेल, आलु लगायत राहत वितरण गरिएको छ । ‘सबैलाई आजै बाँड्न नसकिए भोलि पनि वितरण गर्छौं’, थापाले भने ।

नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिकी अध्यक्ष सम्झना केसीले धेरै विद्यार्थीबाट दैनिक छाक टार्न समस्या भएको गुनासो आएपछि सामूहिक पहल थालिएको बताइन् । उनले भनिन्, ‘अहिलको समयमा पार्टी र संगठनभन्दा पनि मानवता ठूलो कुरा हो । त्यसैले सबै विद्यार्थी साथीहरुको समस्या सामधान गर्न एकजुट छौं ।’

तस्वीरहरुः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment