Comments Add Comment

अमेरिकाबाट डाक्टरको सुझाव : नेपालमा न्युयोर्कजस्तो नहोस्

५ वैशाख, काठमाडौं । डा. आशिष न्यौपाने यतिबेला अमेरिकाको फ्लोरिडा राज्यको बोकारेटन रिजनल अस्पतालमा आईसीयू विशेषज्ञको रुपमा कार्यरत छन् ।

दाङको नारायणपुरमा जन्मिएका न्यौपाने चितवनको कलेज अफ मेडिकल साइन्सबाट एमबीबीएस पास गरेर बुटवलको आम्दा अस्पतालमा एक वर्ष मेडिकल अफिसरको रुपमा काम गरेपछि थप अध्ययनका लागि अमेरिका गएका हुन् ।

अमेरिकामा मेडिकल लाइसेन्सको परीक्षा पास गरेपछि उनले मिज्यूरी राज्यको सेन्टल्युईज विश्वविद्यालयबाट इन्टरनल मेडिसिनमा एमडी गरे । उनी सोही विश्वविद्यालयबाट क्रिटिकल केयर मेडिसिन अर्थात आईसीयूमा फेलोसिप गरेर विशेषज्ञ भएका हुन् । पछिल्लो पाँच वर्षदेखि फ्लोरिडाको मियामी नजिकै बोकाइडनको बोकारेटन रिजनल अस्पतालमा उनी आईसीयू विशेषज्ञको रुपमा काम गर्छन् ।

यतिबेला कोरानाले अमेरिका आक्रान्त छ । उनी आफै पनि कोरोनाको बिरामीको उपचारमा दिनको १२ घण्टा अस्पतालमा खटिएका छन् ।

कोरोनाका बिरामीको उपचारमा संलग्न डा. न्यौपानेको अनुभव उनकै शब्दमा–

म बोकारेटन अस्पतालको मेडिकल र कार्डियोभास्कुलर आईसीयूमा काम गर्छु । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मेरो अस्पतालको डिउटी छ । हरेक दिन बिहान ८ बजेतिर मेरो नेतृत्वमा नियमित राउन्ड चेकअप हुन्छ । मसँग मेरो अन्य टोली पनि रहन्छ । हामी करिब चार घण्टा लगाएर १५/१६ जना बिरामीको अवस्था जाँच गर्छौँ । त्यसपछि कसैलाई भ्यान्टिलेटरमा राख्ने, कसैलाई फोक्सो वा पेटको पानी निकाल्ने काम हुन्छ । त्यसबाहेक बिरामीका आफन्तसँग पनि कुराकानी गर्छु, दिनको एक घण्टा विद्यार्थीलाई पढाउँछु ।

म घरबाट अस्पताल पुग्ने बितिक्कै अस्पतालले दिने सुरक्षा उपकरणसहितको बस्त्र लगाउँछु । सर्जिकल मास्क र पञ्जासहितको उक्त उपकरणमा दिनभरि काम गर्छु । घर निस्कने बेला पुनः त्यसलाई खोलेर घरबाट लगाएर गएको लुगा लगाएर फर्कन्छु ।

अस्पताल जाँदा लगाएको लुगा घर पुगेर छुट्टै ठाउँमा खोलेर राख्छु । घर पुग्ने बितिक्कै नुहाउँछु, दुईवटा बच्चा र श्रीमती घरमा छन् उनीहरुसँग दुरी कायम गरेको छु । म छुट्टै कोठामा बस्छु ।

जनावरी २१ मा अमेरिका र फ्लोरिडामा भने मार्चको पहिलो हप्ता कोरोनाको पहिलो केस देखियो । पहिले एपेडेमिकबाट पेन्डिमिक हुन पुग्यो बिस्तारै वासिङ्टनबाट न्युयोर्क हुँदै कोरोना भाइरस अमेरिकाभर फैलियो । सुरुमा थोरै बिरामीहरू थिए त्यो बिस्तारै बढ्दै गयो । न्युयोर्कको घटनाबाट सिक्दै हामीले हाम्रो अस्पतालको १० औं तलालाई कोरोना हटस्पटको रुपमा विकास गर्‍यौँ ।

शंकास्पद बिरामीलाई नवौं तलामा राख्ने र अस्पतालको चारवटा आईसीयूमध्ये मेडिकल आईसीयूलाई कोरोनाका लागि प्रयोग गर्ने गरी तयार पारियो । तर, अहिले १० औं र नवौं तला कोरोनाको बिरामीले भरिएको छ । मेडिकल आईसीयूको १६ बेडमा अहिले कोरोनाका सिकिस्त बिरामीहरु भर्ना गरिएको छ ।

अस्पतालमा पहिलो कोरोनाको बिरामी आउँदा म आफ्नो नियमित ड्युटीमा थिएँ । सबैजनालाई निकै डर थियो । तर, हामी पीपीईसहितको सुरक्षित उपकरणसहित तयारी भयौँ । ती बिरामीलाई वार्डबाट भेण्डिलेटरमा राखेर आईसीयूमा सार्‍यौँ । त्यतिबेला हामीलाई निकै मुस्किल भएको थियो । डर, पनि थियो । तर, आजको दिनमा बिरामीको चाप बढ्दै गएपछि अनुभव पनि बढ्दै गयो ।

स्वास्थ्यकर्मी कसरी सुरक्षित रहने र बिरामीलाई कसरी ख्याल गर्ने भन्नेमा अब डर चाहिँ बाँकी छैन। अस्पतालमा बिरामी सार्ने, उनीहरुको उपचार गर्ने लगायतका सबै छुट्टाछुट्टै टोली छ । दिनमा धेरै बिरामी हेर्नुपर्ने भएकाले अहिले मलाई कोरोना र अन्य बिरामी उस्तै लाग्छ ।

सरुवा रोगबाट हुनसक्ने संक्रमणबारे सचेत स्वास्थ्यकर्मी र पीपीई छ भने कोरोनाबाट हरेक स्वास्थ्यकर्मी जोगिन सक्छन् । आफू स्वास्थ्यकर्मी भएका कारण मेरो अनुरोध छ कोरोनासँग चिकित्सक डराउनुपर्दैन ।

कोरोनाको उपचारमा विश्वमा धेरै चिकित्सकले काम गरिसकेको हुनाले अनुभवहरू पनि हामीसँग टन्न छ । त्यसैले हामी डराउनु पर्ने कारण छैन् । बिरामीको मद्दतमा हामी खटिनु जरुरी छ ।

अमेरिकाको सुविधा सम्पन्न अस्पतालमा रहेर हामीले निकै पूर्वतयारी गर्दा पनि सोचे जस्तो सजिलो अझै भएको छैन । तर, नेपालमा यो रोग फैलियो भने नियन्त्रण बाहिर हुन्छ भन्नेमा दुई मत छैन । सबैजना सचेत रहौँ ।

कोरोना भाइरस सामान्य रुघाखोकीभन्दा जटिल छ । यसको मृत्युदर पनि उच्च देखिएको छ । सामान्यतया घरमै बसेर यो रोग निको हुन्छ । जसलाई श्वासप्रश्वासमा निकै कठिन हुन्छ उनीहरुलाई मात्रै अस्पताल भर्ना गर्ने हो ।

मेरै अस्पतालमा पनि मानिसहरू सामान्य वार्डमै बसेर पाँच दिनमा डिस्चार्ज भएका छन् । मेरो अनुभवमा रोग लागेकामध्ये कम्तीमा पाँच प्रतिशत बिरामीहरुलाई मात्रै आईसीयूमा राखेर उपचार गर्नु परेको छ ।

क्रिटिकल केयरमा उपचार गर्नु परेका बिरामीहरु धेरै जसो पाका उमेरका छन् । उनीहरुको औसत उमेर ६० वर्षको मैले पाएको छु । त्यसमा ती बिरामीहरुलाई दम, मधुमेह, उच्च रक्तचाप जस्ता रोग भएको भेटिएको छ । आईसीयूमा आएका बिरामीहरुलाई तुरुन्तै भ्याण्डिलेटरमा हाल्नु परेको छ ।

हाम्रो अनुभवमा भेन्टिलेटरमा राखिएका ५० प्रतिशत मानिसहरू निको हुन सक्दैनन् । त्यसैले विश्वमा यो भाइरसका कारण मृत्युदर औषत एकदेखि चार प्रतिशत छ । तर, अस्पतालमा भर्ना भएकाहरू पाँचदेखि १५ प्रतिशत मृत्यु भएका छन । यस्तै, आईसीयूबाट भेन्टिलेटरमा पुगेका बिरामीको मृत्युदर २० देखि २५ प्रतिशत देखिएको छ ।

मृत्युको कारण यही हो भनेर हामीले पनि पत्ता लगाउन सकेका छैनौँ । तर, मृतकको शरीरमा अक्सिजनको मात्रा अत्यन्तै कम पाइएको छ । अक्सिजन अभावमा शरीरको धेरै अंगहरू फेल हुँदा उनीहरुको मृत्यु भएको दखिएको छ । सामान्यतः यसलाई भाइरल निमोनिया भनेर बुझ्न जरुरी छ । यसको मेडिकल उपचार विधि साधारण निमोनिया केयर नै हो । तर, उच्च संक्रमण खतरा रहेका कारण चिकित्सक तथा स्वास्थ्यकर्मीले पीपीईसहितको सर्तकता अपनाउन जरुरी छ ।

आईसीयूमा गएका बिरामीमा (एआरडीएस) विकास हुन्छ। त्यो भनेको नसाले अक्सिजन डेलिभरी गर्न सक्दैन र बिरामीहरू तुरुन्तै भ्यान्टिलेटरमा जान्छन् । कोरानाको अहिलेसम्म कुनै उपचार विधि छैन । एन्टिभाइरल औषधिहरु तथा रोग प्रतिरोधात्मक क्षमतामा प्रयोग हुने औषधिहरू चलाइए पनि अहिलेसम्मको अनुसन्धानमा निदान यही हो भन्ने प्रमाणित भएको छैन । यसको औषधि भनेकै सहयोगी उपचार मात्रै हो ।

आम मानिसलाई यो महामारीबाट कसरी बचाउने र कसरी कम संक्रमित हुने बनाउने भन्नका लागि पाँचवटा मूल कुराहरुमा मेरो सुझाव छ । कोरोनासँग लड्न एउटा टास्कफोर्स अनिवार्य छ । यसमा मुख्य सरकारी अगं, मुख्य योजनाविद्हरू, संक्रमित रोग विशेषज्ञ, जनस्वास्थ्य विज्ञ र आईसीयू विशेषज्ञ यो टिममा रहनु राम्रो हुन्छ । हरेक दिन कोरोनाको संक्रमणको अवस्था, राज्यको नीति र जनतालाई स्पष्ट जानकारीहरु दिँदै जानुपर्छ ।

दोस्रो कुरा कोरोनाकोबारे आम जनतालाई सत्य सूचना धेरै मात्रामा प्रचार गर्न सक्नुपर्छ । महामारीको चरणमा अत्यधिक मात्रामा गलत सूचना प्रभाव हुने भएकाले त्यसलाई चिर्न सत्य सूचना निकै महत्वपूर्ण छ । त्यस्तै, महामारीको चरणमा स्वास्थ्यकर्मी पनि हतोत्साहित हुने सम्भावना अत्याधिक रहने भएकाले उनीहरुलाई रोगको प्रकृति, विश्वको अनुभव र स्वस्थ्य उपकरणको प्रयोग सम्बन्धमा अत्याधिक सूचना र तालिमहरु दिनु जरुरी छ ।

तेस्रो कुरा देशैभर कोरोना परीक्षण दायरा बढाउनु जरुरी छ । जसले रोगको अवस्था पहिचान गरेर स्वस्थ्य पूर्वाधार र रोगविरुद्धको लडाइँ लड्न सजिलो होस् ।

मेरो चौथो सुझाव देशैभरका स्वस्थ्यकर्मीका लागि पीपीई उपलब्ध गराइनुपर्छ । अझ जटिल अवस्थाको बिरामी केयर गर्ने चिकित्सकसहितको अन्य मेडिकल टिमलाई एन नाइन्टीफाइभ मास्कसहितको उपकरण जरुरी छ ।

यस्तै, नेपाल सरकारले अर्को तयारी के गर्नुपर्‍यो भने स्थानीय, क्षेत्रीय र देशैभर रोग फैलिने अवस्थामा के कस्तो कदम चाल्ने हो भन्ने पूर्वतयारी गर्न ढिलाइ गर्नुहुँदैन । मानौं, त्यस्तो परिस्थिति आयो भने कुन-कुन अस्पतालमा कसरी उपचार थाल्ने, स्वास्थ्यकर्मी कसरी परिचालन गर्ने, आवश्यक स्वास्थ्य सामग्री कहाँबाट कसरी ल्याउने जस्ता विषयमा ध्यान दिनु जरुरी छ । नत्र न्युयोर्कको जस्तो हालत व्यहोर्नुपर्ने हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

पूजाको आक्रोश

Advertisment