
भुटानी नायिका उगेन छोदेन काठमाडौंमा थिइन् । नेपाली चलचित्र ‘२ नम्बरी’को छायांकनको लागि नेपाल आएकी उनी लकडाउनको कारण नेपालमा नै रोकिनु परेको थियो ।
शनिबार बिहान भने उनले भुटान फर्किने अवसर पाएकी छिन् । उनलाई लिनको लागि भुटानबाट ड्रुक एअरको विमान काठमाडौं आएको थियो । नायिका उगेनले नै आफू भुटान फर्किएको बताएकी छिन् ।
भुटान पुगे पनि उनी तत्काल आफ्नो घरमा जान पाउँदिनन्। उनलाई २१ दिन क्वारेन्टाइनमा राखिने छ । उनको अहिले पारोको एक होटलमा क्वारेन्टाइन बसाइँ सुरु भइसकेको छ ।
दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘२ नम्बरी’मा उगेनले मुख्य भूमिका निर्वाह गरेकी छिन् । यस चलचित्रमा उगेनले दयाहाङ राईसँग जोडी बाँधेकी छिन् । चलचित्रमा पल शाह र वर्षा राउतको पनि मुख्य भूमिका रहेको छ ।
अहिले चलचित्रको छायांकन रोकिएको छ । अवस्था सामान्य भएपछि पुन: चलचित्रको छायांकनको लागि उगेन नेपाल फर्किनेछिन् ।
प्रतिक्रिया 4