Comments Add Comment

व्यंग्य : कोरोना भाइरस र करप्सन भाइरसको तुलना

माइक्रो बायोलोजिस्टहरूका अनुसार कोरोना भाइरसको बारेमा सन् १९६० देखि नै अध्ययन अनुसन्धान भएको थियो । तर, यतिखेर आएर भने यसले महामारीको रूप लियो । करप्सन भाइरस (भ्रष्टाचार भाइरस)को तुलनामा त यो नित्तान्त नयाँ भाइरस हो ।

करप्सन भाइरस एकदमै ऐतिहासिक र पौराणिक भाइरस हो । पृथ्वीनारायण शाहले उतिखेरै यो भाइरसको चर्चा गरेर यसलाई देशको दुस्मन करार गरेका थिए ।

तर, बिडम्बना यसपछि बिस्तारै–बिस्तारै यही भाइरसको पन्जामा देश पर्दै गयो । नयाँ र पुरानोको यो भेदबाहेक अरू पनि भिन्नताहरू रहेका छन्, यी दुई भाइरसका बीच ।

जस्तै, कोरोना भाइरस पाँच सात दिनसम्म पनि केही नखाइकन बाँच्न सक्दोरहेछ भने करप्सन भाइरस नखाइकन एक पल पनि बाँच्न सक्दैन । भनौं भने खानेबाहेक अरु कुनै फिकर हुन्न यसलाई । कोक्रो किन्दा होस् वा कात्रो किन्दा होस्, महामारीमा होस वा भूकम्पमा होस्, नाकाबन्दीमा होस् या बन्दाबन्दीमा होस् ‘खान पाइन्छ कि पाइँदैन’ आफ्नो भागमा कति आउँछ ? त्यसैमा यसको ध्याउन्न हुन्छ ।

कोरोना भाइरस नाङ्गो आँखाले देखिँदैन तर करप्सन भाइरसको नाङ्गो नाच मानवका अधिकांश नाङ्गा आँखाले सजिलै देख्छन् । कतिले हेर्न नसकेर आँखा छोप्छन् । हेर्नु नपरेकोमा कतिपय आफूलाई धन्य ठान्छन् । हेर्नु परेकोमा कतिपय क्रोधित हुन्छन्, अनि आफैँलाई धिक्कार्छन् । कतिपयलाई भने यस्तो नाच हेर्न एकदमै स्वाद लाग्छ र धित मरुञ्जेल हेरिरन्छन् । ताक परे यो नाङ्गो नाचै होइन भन्न पनि पछि पर्दैनन् । नाङ्गिएर एकाध ताल आफूपनि सँगसँगै नाच्छन् अनि नाङ्गो नाच भन्नेहरूलाई हप्काउँछन् । कला र मनोरञ्जनले भरपुर यस्तो अनुपम नाचलाई पनि नाङ्गो नाच भन्ने ?ʼ

कोरोना भाइरस उन्मूलन होला । तर, करप्सन भाइरस उन्मूलन हुँदैन । हुनु हुँदैन पनि । नत्र कतिपय देशको आफ्नो पहिचान गुम्ने खतरा हुन्छ । कति महानुभावको आम्दानी, वर्गीय शान र मान हराउने खतरा हुन्छ । खोप र ओखतीले कोरोना भाइरस निमिट्यान्न होला । तर, लोभ र बेथितिले करप्सन भाइरस मर्न दिँदैन । तसर्थ, थोरै आयु भएको कोरोना भाइरसले अहिले जे जति वितण्डा मच्चाएको छ त्योभन्दा हजारौं गुणा वितण्डा अनन्त आयु भएको करप्सन भाइरसले मच्चाउँदै आएको छ । थाहा छैन कहिलेसम्म मच्चाइरहनेछ । कामना गरौँ यस्तो हुँदै नहोस् ।

आज दुनियाँभरका सबै मान्छे कोरोना भाइरसका दुस्मन छन् । तर, करप्सन भाइरसका मित्र पनि प्रशस्त छन् । यहाँसम्म कि यो भाइरसबाट पीडित मनुवा पनि यसका सेवक छन् । कोही पत्तो पाईपाई यसको सेवामा जुट्छन् त कोही थाहै नपाई । कति भाग्यमानी छ हगि यो भाइरस ?

अनेक वैज्ञानिकहरू, अनेक चिकित्सकहरू, थुप्रै संस्थाहरू विश्वव्यापी रुपमा कोरोना भाइरसविरुद्धको खोप र औषधि बनाउन दिनरात नभनी खटिरहेका छन् । तर, करप्सन भाइरसविरुद्धमा यसरी खटेको अहिलेसम्म सुनिएको छैन । सनातनी र शास्त्रीय पाराले खटिनु अर्कै कुरा भो । यस हिसाबले कोरोना भाइरस त्राहीमाम छ । उसको जिन्दगी खतरामा छ । तर, करप्सन भाइरस बिन्दास छ, ढुक्क छ ।

साबुनपानी, स्यानिटाइजर आदिले हात धुँदा कोरोना भाइरस सजिलै मर्दोरहेछ । तर, करप्सन भाइरस जे–जे गर्दा पनि मर्दैन । कसैलाई पनि टेर्दैन । बन्दुक, बम त यसको अगाडि केही होइन । ताक परे बन्दुक, बम, गोला–बारूदमै यो भाइरस संक्रमित भइदिन्छ । अनि त्यसलाई नै आफू अनुकूल बनाइदिन्छ । त्यसैले यो भाइरस अमर भाइरस हो, त्यतिकै खतरनाक पनि ।

कोरोना भाइरसले करप्सन भाइरसलाई निकै ठूलो गुन लाउँछ । प्रशस्त कमाउने र मस्तीमा रमाउने मौकैमौका दिन्छ । तर, करप्सन भाइरसले कोरोना भाइरसलाई देखी सहँदैन । योसँग बच्न अनेक तिकडम गरिरहेको हुन्छ । किनकी ऊ कोरोनादेखि अचाक्ली डराउँछ । कोरोनालाई सराप्छ, हकार्छ । मसँग चाहिँ नआए हुन्थ्यो भनिरहन्छ । भाकल गर्छ, बली चढाउँछ । स्वस्ती शान्ति गराउँछ । हे दैव ! कत्रो लीला तिम्रो ! आफूलाई त्यत्रो गुन लाउने भाइरसलाई त कम्तीमा माया गर्ने बुद्धि देऊ न ! कति धिक्कार्दो हो कोरोना भाइरसले करप्सन भाइरसलाई ।

करप्सन भाइरसको कर्तुत देखेर कहिलेकाहीँ ऊ लजाउँदो हो, अनि कहिलेकाहीँ दिक्दार पनि मान्दो हो । दिक्दार यसकारण कि यत्रो संसार हल्लाएँ भनेर मख्ख परेको कोरोना भाइरस आफूभन्दा शक्तिशाली र भाग्यशाली भाइरस धरतीमा मौजुद रहेछ भनेर ।

हामीलाई छ/सात कक्षामा हुँदा नैतिक शिक्षामा भगवान् सर्वव्यापी हुनुहुन्छ । कणकणमा हुनुहुन्छ । गणगणमा हुनुहुन्छ, भनेर पढाइन्थ्यो । तर, अहिले त कणकणमा भगवान् होइन करप्सन भाइरस र कोरोना भाइरस पो छ त । धर्तीमा अहिले कसैको राज छ भने बस् यी दुई भाइको मात्रै छ । अरू त सब गुमनाम छन्, लकडाउनमा छन् ।

कोरोना भाइरसको लक्षण देखिन दुईदेखि तीन हप्ता लाग्छ भनिन्छ । तर, भ्रष्टाचार भाइरस संक्रमणको लक्षण देखिने कुनै निश्चित समय हुँदैन । यदि सम्पर्कमा आएका सबलाई खुस राखेर सङ्क्रमण भएको रहेछ भने त यसको लक्षण कहिल्यै नदेखिन पनि सक्छ । बाजेलाई भएको सङ्क्रमणको लक्षण नातिमा देखिन पनि मुस्किल पर्न सक्छ अथवा नदेखिन पनि सक्छ । लक्षण नदेखिए पनि भुसको आगो झैँ यसको चोट भित्रभित्रै मुलुकले महसुस गरिराखेको हुन्छ । राष्ट्रलाई अति पीडा भएपछि भने एकमुष्ट रूपमा यसका लक्षणहरू देखिन्छन् । कहिले क्रान्ति र आन्दोलनको रूपमा ती लक्षण थोकमा देखिएलान् । कहिले अशान्ति र अभियानको रूपमा खुद्रामा देखिएलान् । जसै क्रान्ति र आन्दोलन समाप्त हुन्छ । फेरि, सङ्क्रमण सुरू हुन्छ ।

करप्सन भाइरसमा भएको यस्तो म्युटेसन सबैभन्दा खतरनाक हुन्छ । जसको असर झन् उग्र हुन्छ । पृथ्वी नारायणकालीन करप्सन भाइरस र अहिले अस्तित्वमा रहेको करप्सन भाइरस तुलना गरेर हेर्दा थाहा भइहाल्छ ।

भाइरोलोजिष्टहरूबीच कोरोना भाइरस सजीव हो कि निर्जीव हो भन्नेमा एकमत छैन । तर, करप्सन भाइरस सजीव हो, अजीव पनि हो । किनभने योसँग राष्ट्रप्रेम र समाजप्रेमको भावनाबाहेक अरू सबै चिज हुन्छ । तर, अचम्मको कुरा राष्ट्रवाद र स्वाभिमानका ठूलाठूला डिङ हाँक्न यो भाइरसलाई जति अरू कुनै भाइरसलाई आउँदैन ।

प्रजातन्त्र र समाजवादका सुन्दर सपना देखाउन पनि यसलाई कसैले भेट्दैन । बिचरा ! कोरोना भाइरस त यसको अगाडि केही पनि होइन । कोरोना भाइरसको त राष्ट्रियता नै हुँदैन । के राष्ट्रवादको राग अलापोस् । त्यसैले यसलाई न राष्ट्रवादका गफ गर्न आउँछ, न स्वाधीनता र समृद्धिको बाँसुरी फुक्न आउँछ । तर, करप्सन भाइरसको राष्ट्रियता हुन्छ, नागरिकता हुन्छ, भाषा हुन्छ, भेषभुषा हुन्छ, सबथोक हुन्छ । त्यसैले त्यो सबथोक जान्दछ ।

कोरोना भाइरस फैलिन नदिन लकडाउन गरिन्छ भने करप्सन भाइरसलाई मलजल गर्न फलाउन फूलाउन बन्द, हड्ताल, चक्काजाम गरिन्छ ।

कोरोना भाइरस छ कि छैन भनेर टेस्ट गर्ने आरडीटी, पीसीआर जस्ता अनेक विधि प्रविधि अवलम्बन गरिएका छन् । त्यस्तै, विधिबाट बिरामीको उपचार गरिन्छ । तर, करप्सन भाइरस टेस्ट गर्न त्यस्तो वैज्ञानिक विधि छैन । समाज–आर्थिक (सोसियो/इकोनोमिक) र कानुनी विधि भने नभएका होइनन् । तर, प्रभावकारिता खासै देखिएको छैन । टेस्ट गरेर पत्ता लगाइहाले पनि उपचार गतिलो छैन ।

यी र यस्ता फरक भएपनि यी दुई भाइरसबीच केही समानताहरू पनि छन् । जस्तो, जसरी कोरोना भाइरसले मानव शरीरको श्वासप्रश्वास प्रणालीलाई क्षति गरेर मान्छेको ज्यानै लिन सक्छ । यद्यपि सङ्क्रमित मध्ये थोरैको मात्र ज्यान लिन्छ यसले । त्यसैगरी, भ्रष्टाचार भाइरसले पनि राष्ट्रको श्वासप्रश्वास प्रणालीलाई क्षत्विक्षत् पार्दै राष्ट्रको छातीमाथि यसले ताण्डव नृत्य देखाउँछ । तर, ज्यानै चाहिँ लिइहाल्दैन । न गरिखान दिन्छ, न मरिजान दिन्छ ।

भौतिक र सामाजिक बिलासिताका चिजबीजहरू करप्सन भाइरससँग कति हुन्छन् कति । द्रव्य, धन सम्पत्तिको झन् कुरै भएन । तापनि यो भाइरस सधैं अतृप्त हुन्छ, असन्तुष्ट हुन्छ । कोरोना पनि त्यस्तै अतृप्त भाइरस रहेछ । संसार डुलेर पनि नअघाउने, त्यत्रा मान्छेमा पसेर पनि नअघाउने, त्यति धेरै मान्छेको ज्यान खाएर पनि नअघाउने । अहिले मानव समाज यी दुई अतृप्त भाइरसको चपेटामा छ । यी चाँडै तृप्त होऊन्, अहिलेलाई यही कामना गरौँ ।

कोरोना भाइरसले निम्न तहका निमुखा जनतालाई बढी सताउँछ, सताइरहेकै छ । त्यस्ता निम्छरा र सीमान्तकृतहरूलाई यो भाइरसले रोग र भोक दुवैको भय सिर्जना गराउँछ । रोगबाट जोगिउँ भोकबाट मरिएला भन्ने डर, भोकबाट जोगिउँ रोगले सिध्याउला भन्ने डर । करप्सन भाइरसले पनि निम्न तहका जनतालाई नै निसाना बनाउँछ । रोग, भोक, शोक, अशिक्षा, बेरोजगारी, गरिबी, कु–शासन एकैचोटी सिर्जना गराउँछ । बिचरा त्यो सीमान्तकृत मनुवा केसँग कसरी लड्ने भनेर सोच्दासोच्दै परलोक भइजान्छ । उसका सन्तान दरसन्तान पनि यही सोच्दासोच्दै दिवङ्गत हुन्छन् ।

माथि नै उल्लेख गरियो, कोरोना भाइरसबाट बच्न लकडाउन गरिन्छ भने करप्सन भाइरसलाई मलजल गर्न बन्द, हड्ताल, चक्काजाम गरिन्छ । लकडाउन र बन्द/हड्ताल दुवैको निर्मम मारमा पर्ने भनेका तीनै सीमान्तकृत समुदाय हुन् । गरिब मजदुरहरू हुन् । आज कमायो आजै खायो गर्ने बचतविहीन प्राणीहरू हुन् । यसमा पनि यी दुई भाइरसबीचको बुझिनसक्नुको एकता छ ।

राष्ट्रियता नभएको कोरोना भाइरस जसरी विश्वव्यापी छ, राष्ट्रियता भएको करप्सन भाइरस पनि विश्वव्यापी छ । भ्रष्टाचार नभएको न कुनै देश छ न कुनै समाज छ । कम र धेरै मात्रै न हो । गुणात्मकता मात्रै फरक हो ।

जसरी कोरोना भाइरस सङ्क्रमणीय छ । हुबहु त्यसैगरी करप्सन भाइरस पनि सङ्क्रमणीय छ । कोटबाट, नोटबाट, चोटबाट, भोटबाट, ह्यान्ड्सेकबाट जसरी कोरोना भाइरस सजिलै सर्छ । त्यसैगरी करप्सन भाइरस पनि सजिलै सरिरहेकै छ । न सरेको भए हिजोभन्दा आज, आजभन्दा भोलि झन् बढेर यस्तो महामारीको रूप लिन्थ्यो र ? हात्तीछाप चप्पल पजेरोहुँदै महलमा रूपान्तरण हुन्थ्यो र ?

मध्यपूर्वको तातोदेखि उत्तरी गोलार्धका एक से एक चिसा ठाउँ सबै कोरोना भाइरसको लागि उत्तिकै प्रिय रहेछन् । त्यतिमात्रै होइन जुनसुकै जात, वर्ग, वर्ण, समुदाय, लिङ्ग, आदिवासीदेखि सुकुम्वासी, हुकुमवासी सबैमा सजिलै सङ्क्रमित भएको अवस्था छ । हुबहु त्यसैगरी करप्सन भाइरस पनि भूगोल निरपेक्ष, जात निरपेक्ष, वर्ग निरपेक्ष, वर्ण निरपेक्ष, लिङ्ग निरपेक्ष हुन्छ ।

सबैभन्दा गज्जबको कुरो यो भाइरस राजनीतिक व्यवस्था र सिद्धान्त निरपेक्ष हुँदोरहेछ । राणातन्त्रदेखि गणतन्त्रसम्म एकदलीय शासनदेखि दुईदलीय, बहुदलीय सबै शासन व्यवस्थामा अनि माक्र्सवादीदेखि मार्कोसवादी, लेनिनबादीदेखि लेण्डुपवादी सबैमा बराबर किसिमले सङ्क्रमण हुँदोरहेछ ।

नेपालमा भने कुनै अमूक जात वा भूगोल वा राजनीतिक व्यवस्था वा सिद्धान्त विशेषलाई देखाएर त्यहाँ चाहिँ करप्सन भाइरसको विशेष सङ्क्रमण छ भनेर होच्याउने गरिएको छ जुन सरासर गलत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment