Comments Add Comment

लकडाउनमा बालबच्चा : अनलाइन शिक्षा कि, जीवनोपयोगी सीप ?

अहिले नियमित पठनपाठन नभएपनि बालबालिकाका निम्ति यो अनुत्पादक समय होइन । विद्यालयमा उनीहरुले औपचारिक शिक्षा लिने हो । जबकी घरमा बसेर उनीहरुले जीवनोपयोगी शिक्षा लिन सक्छन् । जीवन र जगतलाई बुझ्न सक्छन् । आफ्ना परिवार र अभिभावकको निकट रहेर धेरै कुरा सिक्न, बुझ्न र अनुभव गर्न सक्नेछन् ।

हामी बैशाखको पहिलो हप्तामा छौं र केहि महिना बालबालिकाहरुको पठनपाठन रोकिएर खासै फरक पर्ने केहि छैन । कतिपय प्रकाशकले पाठ्यपुस्तक छापेका छैनन् । अधिकांश बिद्यालयले परीक्षाफल प्रकाशन गर्न सकेका छैनन् । तर, संस्थागत विद्यालयहरुको पारा अनौठो छ । के के न बिते जस्तो अनलाईन भर्ना र अनलाईन कक्षाको शुरुवात गर्न हतार भइसक्यो । अरु भन्दा फरक र उत्कृष्ट देखाउने यो काइते तरिकाले हाम्रो शैक्षिक प्रणाली नै बिगार्ने त होइन ? अनलाइन कक्षाको औचित्य के ? अहिलेको अवस्थामा यो नाटक गर्नुको अर्थ के ?

अनलाइन कक्षा सुरु गर्ने जुन ढोंग रचिएको छ, त्यसमाथि मेरा केही प्रश्न छन् ।

१. जुम अथवा फेसबुकमा दुई चार जना जम्मा भएर एकतर्फी रुपमा बोलिने कक्षाहरु के अनलाईन कक्षा हुन् ?

२. के सबै बालबालिकाको घरमा इन्टरनेटको सुविधा छ ? र सबै बालबालिका अनलाईन कक्षामा उपलब्ध छन् ?

३. तपाईँको शिक्षक वा तपाईँ आफैँ अनलाईन कक्षाको लागि तयार हुनुुहुन्छ ? कि जुम वा फेसबुक चलाउने बित्तिकै अनलाईन कक्षा चलाउन योग्य भईयो ?

४. कतै अनलाईन कक्षाको बहानामा बिद्यार्थीहरु ईन्टरनेटको दुरुपयोग त गरिरहेका छैनन् ?

५. कतै दुखजिलो गरेर आफ्ना बच्चाहरु संस्थागत बिद्यालयहरुमा पढाइरहेका अभिभावकहरुलाई अहिलेको अप्ठेरो बेलामा झनै अप्ठेरो परिरहेको त छैन ? साथीहरु अनलाईन कक्षामा पढिरहेको थाहा पाए पछि बालबच्चाहरुले अभिभावकहरुलाई ईन्टरनेट, मोबाईल या कम्प्युटर किन्न दबाब दिईरहेका त छैनन् ?

६. के संस्थागत बिद्यालयहरुसँग अनलाईन कक्षाको लागि आवश्यक पाठ्यक्रम छ ? र सबै शिक्षकले घरबाटै राम्रा ज्ञान मात्र बाँड्छन् ?

७. कतै हुनेखाने र हुँदाखाने बर्ग बिचको खाडल झन बढ्दै त छैन ?

८. शिक्षकले कक्षाकोठामा आफ्नो आँखा अगाडि राखेर पढाउँदा त बालबालिकाहरु रहर गरेर पढ्दैनन् भने अनलाईनमा ध्यान लगाएर किन पढ्छन् ?

९दुर्गम, ईन्टरनेटको सुविधा राम्रो नभएको, बिभिन्न कारणले दक्ष जनशक्ति नभएको वा पर रहेको बिद्यालयहरुले कसरी अनलाईन कक्षा शुरु गर्लान् ?

धेरै अन्य प्रश्न पनि छन् ।  यतिबेला संस्थागत बिद्यालयहरु समाजमा बिभेद र वर्गविभाजनमा लाग्नु भन्दा केहि समय चुपचाप रहनु नै उपयुक्त हुनसक्छ । प्याब्सन, एन–प्याब्सन जस्ता संस्थाहरुले अनलाईन कक्षा र भर्नाको बिषयमा केहि बोल्नु जरुरी र उपयुक्त देखिन्छ ।

बरु सबै मिलेर अभिभावकहरुलाई यो बालबच्चा र अभिभावकको लागि प्राप्त स्वर्णीम अवसर सदुपयोग कसरी गर्ने भनेर सुसुचित गरौँ ।

लेखक एनएमई स्कुल, काँडाघारीका प्रधानाध्यपक हुन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment